19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म त खाने हजुर

कविता प्रेम विश्वकर्मा September 14, 2015, 7:13 am

म त खाने हजुर सडकमा पनि ठाउँ छैन

पपि टोनीको न्वारन होला मेरो कुनै नाउँ छैन ।

भुस्याहरु मेरा आफन्त डंगुर मेरो कर्म

जहाँपनि सुतिदिन्छु मलाई के को शर्म ।

प्रजातन्त्र छ रे देशमा सिंहदरवार धाउने

गरिवतन्त्र कहिले आउला खान लाउन पाउने ।

सबै घरमा दुहुनु गाई हुन्छ भन्थे बाउले

मेरो हजुर बस्ने बास लिए गाउँका साहुले ।

साहुका छोरा मन्त्री भए चिल्लो गाडी उनको

छोरा छोरी सबै विदेश कुर्सी पनि सुनको ।

टाउको दुख्दा विदेश गए भत्ता पनि मिल्ने

मेरो हजुर मुटु फुट्दा केहि छैन निल्ने ।

विदेशीले थुप्रै यहाँ डलर फ्याँक्छने अरे

मैले पनि देख्न पाउँथे डंगुरमाथी झरे ।

वालआश्रम, खातेआश्रम बनिसके भन्छन्

म त हजुर टुहुरो हुँ कहाँ कसले गन्छन् ।

स्कुल पनि धेरै छन् रे गरिवले पढ्ने

अग्ला अग्ला सिंढी छन् रे माथी माथी चढ्ने ।

सबै मानिस बराबरी कोहि छैन रे सानो

पढ्ने धोको साह्रै थियो छैन खाने मानो ।

सिंहदरवार भन्ने ठाउँ त मलिलो पो रहैछ

पुरुष सांसद भित्र पस्दा सुत्केरी पो भएछ ।

टेबुल कुर्सी भाँच्छन् अरे भागवण्डा नमिल्दा

किरीया खर्च मागिदिन्छन् आफ्नो मान्छ मर्दा ।

विज्ञानले संसारलाई पा¥यो भन्छन् सानो

कम्प्युटरको ज्ञान नभए त आँखै भएनी कानो ।

अग्ला घरका कोठैपिच्छे कम्प्युटरका ताँती

छानो मुनि बस्न पाए कति हाँस्थ्यो छाती ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।