म त खाने हजुर सडकमा पनि ठाउँ छैन
पपि टोनीको न्वारन होला मेरो कुनै नाउँ छैन ।
भुस्याहरु मेरा आफन्त डंगुर मेरो कर्म
जहाँपनि सुतिदिन्छु मलाई के को शर्म ।
प्रजातन्त्र छ रे देशमा सिंहदरवार धाउने
गरिवतन्त्र कहिले आउला खान लाउन पाउने ।
सबै घरमा दुहुनु गाई हुन्छ भन्थे बाउले
मेरो हजुर बस्ने बास लिए गाउँका साहुले ।
साहुका छोरा मन्त्री भए चिल्लो गाडी उनको
छोरा छोरी सबै विदेश कुर्सी पनि सुनको ।
टाउको दुख्दा विदेश गए भत्ता पनि मिल्ने
मेरो हजुर मुटु फुट्दा केहि छैन निल्ने ।
विदेशीले थुप्रै यहाँ डलर फ्याँक्छने अरे
मैले पनि देख्न पाउँथे डंगुरमाथी झरे ।
वालआश्रम, खातेआश्रम बनिसके भन्छन्
म त हजुर टुहुरो हुँ कहाँ कसले गन्छन् ।
स्कुल पनि धेरै छन् रे गरिवले पढ्ने
अग्ला अग्ला सिंढी छन् रे माथी माथी चढ्ने ।
सबै मानिस बराबरी कोहि छैन रे सानो
पढ्ने धोको साह्रै थियो छैन खाने मानो ।
सिंहदरवार भन्ने ठाउँ त मलिलो पो रहैछ
पुरुष सांसद भित्र पस्दा सुत्केरी पो भएछ ।
टेबुल कुर्सी भाँच्छन् अरे भागवण्डा नमिल्दा
किरीया खर्च मागिदिन्छन् आफ्नो मान्छ मर्दा ।
विज्ञानले संसारलाई पा¥यो भन्छन् सानो
कम्प्युटरको ज्ञान नभए त आँखै भएनी कानो ।
अग्ला घरका कोठैपिच्छे कम्प्युटरका ताँती
छानो मुनि बस्न पाए कति हाँस्थ्यो छाती ।