14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पारा लिटरेरी फोर्सेस

विचार नवीन पौड्याल September 14, 2015, 2:19 am
नवीन पौड्याल
नवीन पौड्याल

कुनै पनि देशको शान्ति सुरक्षाको निम्ति सैन्य व्यवस्था गरिएको हुन्छ। विशेष गरी देशबाहिरबाट आक्रमण नहोस् तथा देश भित्र पनि कसैबाट अशान्ति नहोस् भन्ने हेतूले सैन्यको व्यवस्था राकिएको हुन्छ। हाम्रो देशमा पनि सैन्य शक्तिशाली छ। देशका बाह्य शत्रुलाई परास्त गर्नका निम्ति सेनाहरू तैनाथ छन्। यस्ता सेनाहरूमा थल सेना, नौसेना र वायुसेना हुन्छन्। थल सेनामा पनि बेग्ला बेग्लै राइफल्स छन्। जस्तै गोर्खा राइफल्स, जम्मु-काश्मीर राइफल्स, जाट रेजिमेन्ट, राजपुताना रेजिमेन्ट, सिख रेजिमेन्ट, नागा रेजिमेन्ट, डोगरा रेजिमेन्ट आदि। यीबाहेक देशको आन्तरिक शान्ति सुरक्षा कायम राख्नलाई अर्धसैनिक बलहरू पनि हुन्छन्। यस्ता बलहरूले मुलुकभित्र कतै दंगा-फसाद, विद्रोह, अशान्ति, आन्तरिक आक्रमण भए रोक्ने कार्य गर्दछ। मूल सैनिकहरूले देशशत्रुलाई दबाउने गर्छन् भने अर्धसेनाले देशद्रोहीलाई दबाउने काम गर्दछ। यस्ता अर्द्ध सैनिकहरू केन्द्रिय रिजर्व पुलिस, आइ आर बी, सीमा सुरक्षा बल, सि आइ एस एफ, रा सु का आदि हुन्। यिनीहरूलाई पूर्णरूपमा सेनाको दर्जा दिन नसकिएकाले अर्धसैनिक बल भनिएको हो। काम चैं सुरक्षाकै गर्नुपर्छ तर सेना होइनन्। कपडाको उर्दी लाउनुपर्छ। हेर्दा पल्टने नै देखिन्छन् तर पनि उनीहरू पल्टने होइनन्। काम पनि पल्टन कै गर्नु पर्छ तर पनि होइनन्।

साहित्य क्षेत्रमा पनि यस्तै कुरा हुन्छन्। साहित्य क्षेत्रमा पनि देरै किसिमका साहित्यकार हुन्छन्। कोही पक्का साहित्यकार हुन्छन्। आफ्नो प्रतिभासुलभ रचना गर्छन्। उनीहरू जन्मजात साहित्यकार हुन्छन्। उनीहरू तडक भडक, विज्ञापन र हल्लाखल्लादेखि टाडा रहन्छन्। अर्का खालका साहित्यकार हुन्छन् जो साहित्य लेखिटोपल्टन्छन् र खाँटी साहित्यकार कहलिन खोज्छन्। यस्ता किसिमका साहित्यकारको प्रतिभाभन्दा अभ्यास तत्त्व बढी हुन्छ। अलिलि कथा र कविता लेखिटोपल्छन् औ साहित्यिक संघ-संस्थातिर बढी सक्रिय हुन्छन्। साहित्य लेखनभन्दा संस्था कार्यमा रमाउँछन्। कोही प्रत्यक्ष लेखक नभए पनि साहित्यिक संस्तातिर जडित हुन्छन्। तिनले आफु नलेकखेर अरूलाई लेख्ने परिवेश बनाइदिन्छन्। उनीहरूलाई साहित्यकारभन्दा बढी साहित्यप्रेमी भन्न सकिन्छन्। साहित्य क्षेत्रमा यस्ताहरूको पनि आवश्यकता हुन्छ।

कतिपय साहित्यिक संस्थामा केही अधपिल्टा साहित्यकारकै बोलबाल पनि देखिन्छन्। उनीहरू न विशिष्ट साहित्य लेख्न सक्छन् न त्यसतर्फ गम्भीर नै हुन्छन्। यसो बेला बेलामा लेख्यो, त्यसैलाई साहित्य समारोहतिर प्रस्तुत गर्छन्। साहित्यिक समारोहतिर उनीहरूकै बोलबाला हुन्छ। उनीहरूले नै साँचा साहित्यकारहरूलाई दया माया गरेजस्तो गर्छन्। उनीहरूलाई नै बेसी जस्तो साहित्यिक सहुललियत आदि प्राप्त हुन्छ। उनीहरू नै टाउकेका प्यारा हुन्छन्। सभातिर उनीहरू नै अघि सरेका हुन्छन्। यस्ता महानुभावहरूले जीवनभरिमा पाँच-छवटा कविता लेखेका हुन्छन् वा एउटासम्म कथा कवितासङ्ग्रह प्रकाशित गरेका हुन्छन्। यसैलाई महान साहित्यकारको पगरी गुथ्ने माध्यम बनाउँछन्। यस्तै व्यक्तिहरू नै कुनै न कुनै पद र ओहोदा ग्रहण गरेका हुन्छन्। ऩ साहित्य पढ्छन्, न लेख्छन् न बुझ्छन् नै। उनीहरूमा अर्काको फोकट पुस्तकको आशा हुन्छ। हाम्रा कतिपय संस्थामा यस्ता व्यक्तिहरू निकै देखिन्छन्। उनीहरू वास्तविक साहित्यकार होइनन तर पनि केही हुन्। संस्थाको बिँडा उनीहरूले नै थामेको हुन्छ। वास्तविक कवि लेखकहरूलाई त संस्थातिर गईबस्ने न समय मिल्छ, न बोलाइन्छ नै। उनीहरूले त यस्तातिर भुलिनुभन्दा त बरू घरमा नै बसेर लेखिरहनु उचित हुन्छ। संस्थामा त रूपिया पैसाको कुरा हुन्छ, पद पाउनेको कुरा हुन्छ. कसलाई के बहनाउने भन्ने गुटबन्दीको कुरा हुन्छ, दाउपेच हुन्छ। वास्तविक साहित्यकार त्यसरी सभातिर गइरहनु शोभा पनि दिँदैन। त्यस्तामा त अर्धसाहित्यिक महानुभावहरूलाई नै उचित हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।