15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अप्रिल फुल

कथा दीपक जडित May 28, 2008, 2:36 pm

" आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । " गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । प्लास्टिकको रातो बाटा र धुने लुगाको पोको बोकेर उ राङ्बाङ खोलामा लुगाधुन झर्दै थिई ।

" हैन यो बैनि के भा'को ? हेर्नु नहुने ठाँउतिर तिमिलाई को'ले हेर्नु भनेको थ्यो त ? " अलि मुन्तिर ढुँगाको कापमा छलिएर पिसाब गर्दैगरेको देवकुमार झस्किंदै बोल्यो । छलिँदा छलिँदै पनि उस्लाई रेवतीले देखेकि थिई तर रेवतीले देखुन्जेलसम्म उसले पिसाब गरेर सकिसकेको थियो । भन्नलाई गान्धी आश्रम भनेपनि अहिले त्यहाँनेर आश्रमको अवषेश पनि बाँकी थिएन । झण्डै सय डेढसय मिटर जति माथी डिलमा पहिले कुनै समयमा गान्धीको नाममा आश्रम थियो रे त्याँहा । अहिले भने त्यहाँनेरबाट गोरेटो हुंदै ओरालो झरेर राङ्बाङखोलामा गाउँलेहरु लुगाधुन र नुहाउन आउने गर्छन । कसो कसो कुईनेटो परेर निलो गहिरो रह परेको छ त्याहाँनेर । पहिले पहिले त्यहि रहमा एकदुईजना पौडी खेल्दा डुबेर मरेका पनि थिए रे । केटाकेटीहरु त्यता गएभने गाउँलेहरु त्यता जानुहुंदैन भनेर खै गर्छन । अलि पाका उमेरकाहरु पनि मान्छे डुबेर मरेको ठाउँ भनेर हम्मेसी त्यतातिर जाँदैनन त्यसैले गान्धी आश्रमको रह तन्नेरी तरुनीहरु नुहाउन लुगाधुन जाने ठाउँ भएको छ । तरुनी तन्नेरीहरु मात्रै जाने ठाउँमा छेड्खानी र हँसीमजाक त त्यसै हुने नै भयो । त्यै भएर रेवतीले देवकुमारलाई जिस्काएकि थिई नत्रभने यस्ता दृश्यहरु देख्दा रेवती चाल नपाएझैं हुन्थी होला । उसो त बिसेबाईसेकी रेवती अलि चञ्चले परेकी , मौका पर्दा रत्यौली नै खेल्ने स्वभावकी थिई ।

चैत्रको बेला गर्मी धपधपी नै बल्नेगरी थियो । रेवतीले लुगाको पोको पानी नजिकको यौटा ढुँगामा फ्याँकी र राङ्बाङको चिसो पानीमा नाङ्गो खुट्टा चोबलेर ढुँगामाथी बस्दै भनि " ए देउकुमार दाजु खै लेउ लेउ तिम्रो मिठो खैनी खाउँ ? "

"ला हो बैनि , मेरोमा त खैनि टाक्टुक् तु'रो नि हौ । कम्ती थिएछ , ऐले भक्करै तुराएं नि । आबो किन्नु पनि कैले जानु हो था'छैन ।" देवकुमारले सुगन्धित गोल्डेन खैनीको खाली बट्टा ढुँगामा ट्याक् ट्याक् पार्दै भन्यो र बग्दो पानीतिर हुर्याईदियो ।

" छि हौ , तिम्रो मिठो खैनी खाउँ भनेको त................ " रेवती बोल्दा बोल्दै बिचैमा अड्कीएर आफ्नो बन्दर और ढोलक छाप माडुवा खैनी निकालेर माड्न थाली । रेवतीले खैनी माड्न लागेको देखेर मलाई पनि माड है बैनी भन्दै देवकुमार आफ्नो लुगा धुन थाल्यो । मौका पायो कि ईत्रीनु पर्ने रेवतीले यो मौका किन चुकाउँथी , भनि " तिमीलाई कसरी माड्नु हौ दाजु मैले ? तिमीले पो माड्नु पर्ने मलाई । "

" कति सारो छिल्लिनु जानेको हौ बैनी तिमीले ? मेरोलागी पनि खैनी माड पो भनेको । " देवकुमारले ईत्रीने मूड नभए झैं गर्यो । रेवती खित्खिताएर हाँस्न थाली । धोएको लुगा बग्दो पानीमा पखाल्दै देवकुमारले रेवतीलाई पुलुक्क हेर्यो । रेवती देवकुमारलाई नै हेर्दै हाँस्दैथिई । छेड्खानीको खेलमा देवकुमारले सायद आफुलाई हारेको महसुस गर्यो त्यसैले पखालेको लुगा निचोर्दै भन्यो , " मन त परिराखेको छ माड्नुलाई मलाई पनि , तर जोईतोई बेला माड्नु नमिल्ने । " अघि बढेर उ लुगा सुकाउन बगरतिर गयो । बगरका ठुला ठुला ढुँगाहरु आगो बालेर तताएझैं गरी तातिएका थिए । उसले यौटा च्याप्टो ढुँगामा लुगा सुकाएर अर्को सानो ढुँगाले एकछेउमा थिच्यो हावाले नउडाओस भनेर ।

" ओ दाजु लाउ है खैनी खाउ । " पछिल्तिरबाट रेवती कराई ।

दुबैजना ओठमा खैनी च्यापेर लुगा धुनथाले ।

" तिम्रो धुनु कति छ हौ दाजु मलाई यो ढुँगामा त अप्ठेरो भयो ।" रेवतीले देवकुमारले लुगा धुँदै गरेको ढुँगामा आफ्नो लुगा धुने ईच्छा देखाई । " ए ! हो र बैनी आउन त यसैमा धुनु । मैले त तुराएं आबो । " देवकुमारले सजिलो ढुँगा रेवतीलाई छाडीदिंदै भन्यो ।

".....रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया आक्काका सान्नानी........" पारीपट्टी लिखेभिरमा कर्मटारको घिषिङ बाजे जोरथाङ्ग बजारमा दुध बेचेर लेघ्रो तान्दै गीत गाउंदै फर्कंदै थियो । हरेक दिन बिहान अध्याँरैमा दुध बोकेर कर्मटार देखि जोरथाङ्ग सम्म आईपुग्ने घिषिङ बाजे फर्कंदा भने संधै यसरी नै दुई तिन बजे टन्न रक्सीले मातेर फर्कन्छ । रक्सीले मातेपनि नमाते पनि गीत गाउन चाँही उसले छाडेको हुंदैन ।

" उ आयो घिषिङ बाजे । कुनदिन यो बाजे तेई भिरबाट खंदारिएर मोर्छ होला । खानु पनि कम्ती रक्सी खाँदैन अन्त हो । " रेवतीले घिषिङ बुढाको रक्सी खाने आदतको आलोचना गरी ।

" खानु देउ न हौ अन्त , बिचरा बाजे रक्सी खाएरै तेत्रो सम्पती तुरायो । अबो बुढेशकालमा के पो गर्नु छ र उसलाई । ईच्छैले मरोस न रक्सी खाएरै । " देवकुमारले पनि आफ्नो मत जाहेर गर्यो । निक्कैबेर उनिहरु रक्सीकै विषयमा केन्द्रित भएर गफिए । टोलभरी सबै लोग्नेमान्छेले रक्सी पिउने गरेको कुरा आफुलाई चित्त नबुझेको भन्दै रेवतीले भनी , " गाउँको सप्पै लोक्नेमान्छेले रक्सी पिउंछ । मलाइ त राम्रै लाग्दैन ।"

" सप्पै लोक्नेमन्छेले चैं पिउन्दैन ल , तिमीले नपिउनेहरु चैं देखेन कि के हो ? " देवकुमारले प्रतिवाद गर्यो ।

" हो हुनु त " रेवतीले स्विकार्दै भनी , " नखानेहरु पनि नभा'को हैन । तिमीले नै खाँदैन । साँची तिमी कसरी रक्सी नखाने भयो हो दाजु ? "

" खै आबो कसरी भयो भन्ने हो अन्त , खानु मन लाग्दैन । " सरल जवाफ दियो देवकुमारले । एकछिन दुबैजना मौन रहे । उनिहरु बिचको मौनतालाई एकनास संग सुसाउंदै बगेको खोलाले चिरिरहेको थियो । पारी सिक्किम पट्टीको जंगलमा कसैले सुकेको रुखमा बञ्चरोले काट्दै गरेको आवाज पनि ट्वाक - ट्वाक ट्वाक -ट्वाक गरेर प्रतिध्वनित हुंदै दोहोरिंदै सुनिदैथ्यो । एकाएक रेवतीले नै मौनतालाई तोड्दै सोधी , " अन्त तिमिले बिहे कैले गर्छौ नि दाजु ? "

देवकुमारले जवाफ दिएन । एक त उ संग यो प्रश्नको जवाफ थिएन अर्को उसले कम्तीमा रेवतीले यो प्रश्न सोध्ली भनेर सोचेकै थिएन ।

" तिमीलाई अझै अनुको माया लाग्छ दाजु ? " रेवतीले सोध्न छोडिन ।

" लाग्दैन मलाई तेस्को माया किन लाग्नु हो अन्त । तेस्तो छाडेर जाने बैगुनीको पनि को'ले माया गर्छ ? " नबोली धर पाएन उसले , " देवकुमार पो त हो म देवदाश हैन नि तेस्ताहर'को माया गर्न । " वास्तवमै देवकुमार जिन्दगीलाई सरल जिउंन मनपराउने मान्छे थियो । जिन्दगीमा जे भयो त्यो भयो , जे भएन त्यो भएन । भएको कुरालाई र नभएको कुरालाई किन भयो र किन भएन भन्दै जिन्दगी बक्र बनाउन चाहदैनथ्यो उ ।

" तेसो भए बिहे चैं किन नगर्ने त हौ अन्त ? " रेवती फेरी फर्किएर उहि प्रश्नमा पुगी । " कैले गर्छौ त बिहे ? "

" गर्नु पाए ऐले गर्थें नि , तेसै बिहे हुन्छ ? बच्चाले भाँडाकुटी खेलेको जस्तो हो कि के हो नि बिहे ? को'लाई गर्नु बिहे ? तिमीले गर्छौ बिहे म संग ? " एक झट्का आक्रोस पोख्यो उसले । रेवती गंभिर भएर लुगा धुँदै गरेको हातपनि चलाउन छाडेर एकटकले देवकुमारको मुखमा हेर्न थाली ।

" आबो लाटाले त पापा हेर्छ रे ट्वाल्ल परेर , तिमीले चैं के हेरेको नि लाटीले जस्तो ट्वाल्ल मेरो मुखमा ? " अली संयमित भएर देवकुमारले भन्यो । कता कता उस्लाई आफुले रेवतीलाई बिझाएंकि जस्तो महसुस भयो ।

" हेरेको नि अन्त , तिमी जस्तो सिधा मान्छे पाए त गर्थें नि बिहे भनेर । " रेवतीले आफ्नो ईच्छा ब्यक्त गरी ।

एकछिन देवकुमार असमञ्जसमा पर्यो र भन्यो , " गर्ने हो भने आजु नै भागौ न त ? "

" साँच्ची हो दाजु ? म त तयार तर कहाँ जाने ? " रेवतीले भागेर जाने उपयुक्त स्थान खोज्दै भनी ।

" जाउँ न हो अन्त नेपाल । जानुलाई ठाउँको कमी छ र ? " देवकुमारले उपाय सुझायो ।

" नाईं नाईं नेपाल त नजाउँ हो दाजु , नेपालमा त माओवादीले मान्छे खेदाउदैछ । हामीलाई मार्छ मात्तै । " बाधा देखाई रेवतीले ।

" कति त मान्छेहरु आउनु जानु गर्दै नै छ नि , को'ले भनेर मार्छ ? नेपालमा नि पछ्छिममा पो छ त हौ माओवादी । " देवकुमारले बाधा नभएको जिकीर गर्यो ।

" अँ होला , ऐले पुर्बमा नि भुटाङ्गेहरु सप्पै माओवादीमा लागेको छ रे । " रेवतीले अझै आशंका ब्यक्त गरी ।

देवकुमारले एकैछिन गम खाएर बिकल्प देखायो , " तेसोभए कदमतोला हिंड न हौ अन्त । मेरो फुपु छ त्याँ । "

रेवतीले स्विकार गरी । उनिहरुको सल्लाह अनुशार आज दिउंसै रेवतीले पोको पन्तुरो कसेर पारी जोरथाङ्गमा सिमाको आमाकोमा गएर बस्ने , साँझ देवकुमार पनि त्यहीं आएर बस्ने र भोली बिहान सबेरै एसएनटी बस चढेर सिलिगुडी झर्ने निधो भयो । देवकुमार जस्तो खासाको लोग्ने पाउने भएर रेवती फुरुङ्ग भई । देवकुमारले पहिले रेवतीकै मिल्ने साथी अनुलाई मनपराएको थियो तर अनु देवकुमारलाई धोका दिएर नाम्चीतिरको अर्कै केटासंग भागेकी थिई । सिमलकै भुवाझैं हलुंगो भएको थियो रेवतीको शरिर । हतार हतार लुगा धुन , नुहाउन सकेर उ घर आई र पोईला जाने तयारीमा जुटी । उसको गाउँघरको चलन नै भागी बिहे गर्ने भएकोले उसले भेटेजती सबैलाई कसैलाई नभन्नु है भन्दै आफु देवकुमार संग भाग्न ठिक परेको रहस्य खोल्दै गई ।

जोरथाङ्ग बजारमा सिमाको आमा भट्टी चलाएर बसेकी थिईन । लोग्ने बितेपछि एक्ली उसले भट्टी चलाएरै दुई छोराछोरी पाल्थीन । रेवती उज्यालैमा त्याँहा पुगी र सिमाको आमालाई सबै कुरा सुनाएर दंगदास भएर बसी । यता गाउँमा भने रात पर्न नपाउंदै रेवती पोईला हिंडेको हल्ला फैलियो ।

" बुढीभा'को एक्लो बोजुलाई छाडेर त्यो रेवती कसरी बुढामा गा'को हौ ? " गाउँलेहरुलाई रेवतीको बुढीआमाको चिन्ता भयो ।

" फेरी जानु पनि देउकुमार संग पो गा'को रे । कहिं जानु पर्दैन थ्यो नि , हामी यैं बिहे मानिदिन्थ्यौं नि । " गाउँलेहरुको एकप्रकारले स्विकार्दै थिए उनिहरुको जोडीलाई ।

" जानु चाहीँ काँ गो'को रैछ उनिरु ? " कोही सोध्दैथिए ।

" खै नेपाल गोयो होला नि ? देउकुमारको आफ्नो मान्छे छ नेपालमा । " कोही अन्दाजमा जवाफ दिंदैथिए । रात अबेर सम्म उनिहरुकै बारेमा चर्चा चल्यो ।

भोलीपल्ट बिहान आठबजेतिर काँधमा हातेचियाको बोरा बोकेर देवकुमार घरबाट निस्कियो । कमानतिरबाट सस्तोमा हातेचिया किनेर संधै जोरथाङ्ग हाटमा लगेर बेच्थ्यो उ । झुरुम्म परेको बस्तीमा देवकुमारको घर अगाडी सुनार काँईलाको घर थियो । सबैभन्दा पहिले देवकुमारलाई सुनार काँईलाले देख्यो र अचम्म मान्दै ठुल्ठुलो स्वरमा करायो , " हैन ए देउकुमार , तिमिले त रेवतीलाई हिंजै राती भगायो भनेर हल्ला थियो त ? खोई तिमी त हाट पो जाँदैछौ त ? "

सुनार काँईलाको ठुल्ठुलो स्वरले अरु अरु मान्छेहरु पनि जम्मा भए । सबैले देवकुमारमाई सोध्न थाले के हो भनेर ।

" हैन हो अन्त हिंजो एक तारिख भनेर कोसैलाई था छैन कि के हो ? मोईले त अप्रिल  फुल पो बनाको त ।" देवकुमार मुसुमुसु हाँस्दै हाटतिर लाग्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।