झरझर वर्षा झररर गर्दै
अन्तर्युगका पीडा पखाल्दै
ध्वाँसे युगका कल्मष मनका
मैला–धैला सारा बढार !
झमझम वर्षा धर्ती भरिमा
जब बर्षिन्छन् शित्तल धारा
निर्झरी झररर, पहरा फोरी
झर्छ, पोखिन्छ प्र्रकृतिझारी ।
झरर वर्षा अम्रिका भरिमा
टेक्सस, अष्टिन, गोल्ढुंगामा
वर्षा झरिदे ताप, प्रताप
भय औ त्राश फाल, सपार—
सिर्जना विन्दु, बूँद बहाई
लोक लोकमा हृदयका धारा
प्रेम र शान्ति भाइभाइ
बहिदे नित्य बुद्ध अपार
सवधर्मसार करुणा प्यार !
विविध मूलका नव नयपाली
कल्पना, सिर्जना, प्रतिभाशाली
अम्रिका वासी र विश्व निवासी
क्षमता, प्रविधि, प्राप्ति विविध
सवमा वर्षा स्निग्ध, उज्यालो
आत्मीय, जातीय, राष्ट्रिय गौरव
भव्य भावना साझा सम्हाल्यो
मानव महिमा महीमा छायो ।
हिमगिरि उच्च, पावन खाश
पुग्दछु मनले गर्न निवास
हेर्दछु कल्पना पंख चढेर
घामपानी इन्दे्रनी दृश्य मनोहर !
उच्च, पवित्र हिमगिरिव्यापी
जङ्गल—मङ्गल, तपसी समेटी
गुह्य रहेका रत्न र ध्यान
मृत्युञ्जयका बूटी अजान
खोज्दै मधुमय अमृत पान
ल्याउँछ वर्षा, झरिलो ज्ञान !
निर्झरी झररर नवरस झार्दै
पार्बती, प्रकृति, पाउ पखाल्दै
ल्याउँदै बाँड्ने पुष्टि, तुष्टि,
स्वभाव–सुधा वसुधा सृष्टि ।
हृदय, हस्त र सोच सुनौला
उषार्कजस्तै कान्ति छाउने
दीप्त शशाङ्क पूर्ण रुपौलो
वदन मनोहर चन्द्र समान
शीतका थोपा प्रात प्रभाती
पवन, पराग साथ समेटी
उड्दा रविले चुम्बन गर्दा
इन्द्रेनीमय भो प्रेमको पर्दा
सपना, जपना, विपना बन्दा
मोहनमय भो जीवनधन्दा
पगपग जीवन, बूँदबूद थोपा
शिव —र—समय पलपल मीठा
क्षितिज वारपार अनौठा
सन्देश लाखन सम्भव नौला
दूरदूरका स्वप्न सुनौला
ल्याएर बाँढ्ने कल्पान्तरका !
प्रकृति नटीको नाच र गान
गुञ्जिरहन्छन् ! दृश्य देखिन्छन्
चित्र विचित्र ! नूतनताको
ज्योति सरस, प्रवाह अनन्त
अतुल छ धामा धाममा नित्य !
भव्य र दिव्य बिम्ब विधान
वन,जन,मनमा दुःख निदान
रहस्य, अर्थ, संकेत, सान
मधुमय, शोभन बोध महान् ।
बादल घररर गर्दा क्यारे !
आसुरी चाला सोतर पारे
मेघमालाको बिम्व उज्यालो
बाली, बढारी जगको कालो —
युगान्तरतक दीप्ति बढेर
ंिफंजी, फिंजाई भाव भरेर
युगका, मनका भाव असीम
गोड्दै, उखेल्दै युगान्तर ले !
मेघनाद हे ! गर्जन गर्दै
नव्य युगका हंश उठा रे !
शब्दशक्तिका विद्युत बन्दै
भाषा, भावका बिम्ब फिंजा रे !
झररर झरी रे ! झरझर झंकृत
हरहर हावा मिलाउँछ भंगित
सररर पातमा संगीत नाना
‘सारेगमपद..’ का नव पाना !
तान तरेली गाना बजाना
नर्तक नौला मधुमय साना
किन्नर किन्नरी ताल तरंग
मृदुल नृत्यमा भाव अनंग !
नूतन संगीत, नव नव स्वर
प्रयोग र पक्ष लाख–कडोर
नवीन शास्त्र, नवीन जमाना
भरभर भवमा भाव, महान
सरसर दिलमा नव्य तराना ।
घाम र पानी, दृश्य अनेक
भाव, विवेक, अर्थ अनेक
प्रकृतिपरीमा पुस्तक छान
‘ध्वन्यालोक’ को संकेत जान
रहस्य नाना, वोध विराना !
बाँसको झाँगमा बज्छ विगुल
घरघर गर्जन, दीप्त छ खेल
सन्त र स्रष्टा, शूर अशेष
पुलकित बन्छन् भाव महेश !
कर्मी ,सिकर्मी युगहरुका
परिकल्पनका नूतनताका
दृश्य र भाव, सपना मधुर
खेतीवाला फाँट विशाल !
काम र माममा लाग्दो लोक
रोजीरोटीको कर्म पियारो
शाश्वत चाला धरणी भरिको
तयार गर हे वर्षा प्यारो !
सारङ्गिको स्वर समेटी
मुर्चुङ्गा नै रेटीरेटी
हृदयवीणा प्रकृतिनटीको
दिन्छ झन्झन, गुञ्जन मीठो
वर्षा वहुविध चालचलेको ।
जात र जाती भेद पुराना
खेल विराना राजनीतिका
दूर गरेर हिंसा, घृणा
परास्त गरेर पारा पराई
टाढा नजीकका प्रभावलाई...
मेल गराई दाज्यूभाई
स्वतन्त्र सत्ता राष्ट्रिय भाव
उठाउठा रे ! मौलिक स्वभाव
गर्व गरूँ म हाम्रै मान
फिंजू , फिंजाऊँ आफ्नै सान ।
प्रकृतिपरीको मधुमय खेल
संगीत, संगति ठेलमठेल
विश्व स्वयंं नै गाना गीतार
वंशी, मृदङ्ग, शंङ्ख , सितार !
भाषा, संस्कृति, वहुल विचार
गोडमेल गर्दै बारम्बार
सारा समेटी सिंगो धार
साझा भाषा सुमधुर तार !
प्रगति पथको शान्त नेपाल !
महिमा उच्च प्राप्ति विशाल
नवयुग रचना दृष्टि कमाल
ज्ञान र गरिमा, धरणी सम्हाल !
भाव र भाषा, शब्द लहर नै
धरणी उच्च धरणीधर हुन्
सिर्जनताले स्निग्ध भिजाई
मधुमय पावन सुधा वहाई
धरतीलाई धाम बना हे !
दीप्त प्रवाह नीत फिंजा रे !
रचनाशील अनेकतामा
अखण्डताको सद्भावनामा
एकताको भाव सह्यारी
मानवताको मान उचाली
गरिमा उच्च सिंङ्गो नेपाल !
सान बढा ए ! नेपालीको !
अंतरिक्षको दूर क्षितिजमा
शब्दबिम्बको देख्दछु झिल्का !
लाख–करोडौं भाव उज्याला
झल्का झिलिमिलि चम्किरहेर
पार्दछ दीप्त बर्षा प्यारो
झलमल नेपाल, धरती तारो !
फोर्टवर्थ, टेक्सस्, अमेरिका