आधुनिक इतिहासकै प्रसंगबाट कुरा गरौँ । विश्वेश्वरप्रसाद कोइराला उर्फ बिपीको प्रजातान्त्रिक सरकारलाई सत्र साल पुस १ गते 'कु' गरेर राजा महेन्द्रले सत्ता लिए । बिपीलाई सुन्दरीजल जेलमा लामो समयसम्म महेन्द्रले थुने । त्यसरी थुनेका बेला बिपीले अनेकौँ साहित्यिक कृति लेखे । उपन्यास बढी लेखे । पछि आएर तिनले आत्मजीवनी भने, अनि उतारियो त्यो । उनको आत्मसंस्मरण मा बिपीले राजा महेन्द्रसँगका आफ्नो सम्बन्धका विषयमा लेखेका छन् । साहित्यको कुरा गर्दा एउटा प्रसंग म खुब सम्झिन्छु । पोखरा दरबारमा बिपी र महेन्द्रका अन्तरंग कुरा हुन्छन् । बिपी सोध्छन्- सरकारले कामु र सार्त्रका कृति खुब पढिबक्सिन्छ भन्छन् नि हो ? मेरो भाखामा सम्झेको हुँ । महेन्द्रको उत्तर छ- केको पढ्नु नि, मैले कामु र सार्त्र ? के बुझ्नु र म त यसो हिन्दीमा निस्केका साधारण कृति पढ्छु । ती महेन्द्रले रोयल नेपाल एकेडेमी खोले । ती अत्यन्त चलाख योजनाकार थिए । तिनको आफ्नै किसिमको योजना गर्ने शैली थियो । ज्ञानेन्द्र शाह ती जस्तै चलाख भएका भए तिनलाई धपाउन अलिक बढी प्रयास र मिहिनेत चाहिने थियो दल र जनतालाई ।
महेन्द्रले 'रोयल नेपाल एकेडेमी' पछिबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान खोले । ती मानिसले साहित्यकार र कलाकारसँग सम्बन्ध कायम गर्न अनि आफ्ना निम्ति एक सांस्कृतिक मनोरञ्जनको थलो निर्माण गरे । त्यो देख्ता लाग्छ एउटा अलग्गै अध्ययन गरेर मात्र केही भन्न सकिन्छ । तिनले आफूमा साहित्यकारलाई केन्दि्रत गर्न एउटा अत्यन्त चलाख योजना बनाए । तिनले एकेडेमीको
वर्षगाँठ पारेर असार ९ को दिन गोष्ठी गर्ने व्यवस्था मिलाए । कवि गोष्ठीका लागि तिनले शीर्षक दिए । अत्यन्त अकवितात्मक शीर्षकहरू छन् तिनका । 'खियाउ हातका नंग्रा' जस्ता शीर्षक दिए तिनले । उनको काल्पनिकीले काम गर्यो । अनेकौँ विचार राख्ने, युवादेखि लिएर वृद्धहरूले समेत ती गोष्ठीमा भाग लिए । पुरस्कृत कविका कविता त छापिए तर अपुरस्कृत कविका सहभागिता भएका नाम सम्भिmँदा लाग्छ उनको त्यस योजनाले नेपालका धेरैजसो साहित्यकारलाई आकृष्ट गरेको थियो ।
हुनत, बेलायतमा पनि कविहरू रानीका निम्ति कविता लेख्छन् । सबै साहित्यका मूल घटना राजाका वरिपरि भएका छन् युरोप र जापानमा । यो एक स्वाभाविक प्रक्रियाजस्तै देखिन्छ साहित्यको इतिहासमा । तर, राजा महेन्द्रको योजना साहित्य थिएन । उनको योजना एकतन्त्री शासन बलियो गर्ने थियो । एन्टोनियो ग्राम्ची भन्ने इटालीका एक लुरे विद्वान्को भनाइ धेरैले आज पनि सम्भिmन्छन् । म पनि सम्भिmन्छु । तिनले एक ठाउँमा भनेका छन्, अधिनायक शासकहरू नीति बनाउन कुशल हुन्छन् । ती कला र साहित्यलाई राजनीतिक रूपले निरपेक्ष राखेर एकेडेमी खोलेर होस् कि संरक्षण दिएर होस् काम गर्ने वातावरण बनाइदिन्छन् । उतातिर सैनिक शक्ति र शासनको बागडोर बलियो गर्ने काम ती गरिरहन्छन् । राजा महेन्द्रले त्यही गरे । साहित्यकारहरू प्रज्ञा प्रतिष्ठानको मुसा-दौडमा लाम लागेर, नाम दर्ता गराउन ताँती लागेका पटकपटक दृश्य देखेपछि लाग्थ्यो यी मानिस अत्यन्त चलाख र धूर्त शासक रहेछन् । तिनले प्रज्ञा प्रतिष्ठानलाई एक राजकीय सांस्कृतिक मनोरञ्जनको थलो बनाए । अपरोक्ष र परोक्ष सेन्सर गरिन्थ्यो कृतिलाई । राजा महेन्द्र शाह राजाहरूमा कविलाई अघिपछि लाउन चाहने पहिला राजा थिएनन् । सुवानन्ददासले पृथ्वीनारायण शाहको प्रशंसामा सम्वत् १८२२ तिर लेखेको कविता ती शाह राजाको सीमा विस्तारको प्रशंसामा तयार पारिएको सूक्ष्म वर्णन हो । अनेकौँ ठाउँका खाद्यवस्तुको भोजन गर्ने ती प्रतापी राजाको महिमा धेरै छ, ती लेख्छन् । अर्का अलिक सन्की राजा रणबहादुर शाहलाई साँढे पाल्ने सोख थियो । तिनका साँढेको प्रशंसा गरेर कविले लाजभाँड हालेर कविता लेखे । साझा प्रकाशनले दयाराम श्रेष्ठ सम्भवको सम्पादनमा यी कविता निकाल्यो । साँढेका गाईमाथि चढेका र समलिंगी कर्महरू मानवीय यौन इन्दि्रयका नामद्वारा बयान गरिएका छन् ती कवितामा । पुछारमा ती कविहरू लेख्छन्- 'कविको बिर्ता पाउने बाटो हो हो ।' अनि, सन्की राजा ती कविलाई बिर्ता दिन्छन् ।
शाह राजाहरू मात्र होइन राणा सामन्तलाई पनि सँगै राखेर हेर्नुपर्छ । जुद्धसम्सेरले नेपालका कवि-लेखकसँग एउटा मौन सम्झौता गरे । सम्वत् १९९१ मा शारदा पत्रिका चलाएपछि कविहरूले तिनले यो पत्रिका बन्द नगरून् भन्नका निम्ति पटकपटक यसो चाकरीका कविता लेखेर छपाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आठवटा भाषामा जुद्धको जन्मदिनमा लेखेको कविता पनि शारदा मा छापिएको छ ।
शाह राजाहरूले राजनीति अत्यन्त चलाख ढंगले खेले । तिनको मुख्य ध्यान शक्तिरचनापट्ट थियो । कवि र समालोचकले तिनका र तिनका रानीका प्रशंसा लेखून् भन्ने तिनका चाहना थिए भन्ने देखिन्छ । निकै लेखकले उदारतापूर्वक त्यस्ता रचना पनि लेखे । किताबहरू छपाइदिए । यो एक नैरन्तर्य भएको क्रम हो ।
तर, नेपाली साहित्यमा विद्रोही लेखनको पक्ष पनि बलियो छ । लेखकले राजाको एकतन्त्री शासनको विरोधमा कविता लेखे, उपन्यास लेखे अनि गीतहरू लेखे । तिनीहरू कतिले जमात बनाए । प्रगतिशील लेखकहरू भनिने एउटा समूह बनियो भने स्वतन्त्र र निरपेक्ष लेख्नेहरू पनि भए । यी दुबैथरी लेखकले सामन्ती राजतन्त्र र यसका शासन संयन्त्रको विरोध गरे । कति लेखक जेल परे । कति जेलमै मारिए । पत्रिकाहरू जफत गरिए । किताबहरू जफत भए । संस्थाहरूमाथि छापा मारियो । कति लेखकले निकै समय भूमिगत जीवन बिताए ।
शाहकालीन भाषा-साहित्य नीतिको अर्को पक्ष छ । तिनले नेपालीइतर भाषामा साहित्य लेख्न कुनै पनि सहयोग गरेनन् । राणाले नेवारी भाषामा साहित्य रचना गर्न प्रतिबन्ध लगाए । इतिहासमा ती अंकित भएका छन् । यति धेरै भाषिक सांस्कृतिक विविधता भएको देशका सामन्ती शाह र राणाशासकले नेपाली भाषामा लेखिएको साहित्यको मात्रै संरक्षण गरे । नेपाली भाषाको साहित्य पनि उनीहरूको हित र इच्छाविपरीत लेखियो भने प्रतिबन्धित हुन्थ्यो ।
अब गणतन्त्र नेपालमा, अथवा राजा नभएको लोकतान्त्रिक मुलुकमा साहित्यको स्वरूप र रचना कस्तो होला ? एकाध कुराहरू पहिल्यै भनिहाल्न चाहन्छु । अबको गणतन्त्रात्मक मुलुकमा पहिले शाहकालीन खेलमा चुस्त र कुशल लेखकहरू दलबदलको माध्यमले समावेश हुने दौडमा लाग्नेछन् । तिनको पहिलो अवतार क्रान्तिकारी हुनेछ, किनकि पहिलो शासन माओवादीको हुनेछ । त्यस दौडमा पञ्चायतकालीन माहेन्द्रीय आन्टोनियो ग्राम्चीले भनेजस्तो द्वैत सांस्कृतिक परिवेशमा तालिमप्राप्त लेखक, कलाकार लाग्नेछन् । केही समयअघि मैले प्रज्ञा प्रतिष्ठानको मुसा-दौडमा तिनै मानिसको कुशलता देखिसकेको छु । तिनले राज्य र शासकलाई समूह बनाउन सिकाउनेछन् ।
अर्को पक्ष छ । हिजै हामीले देख्यौँ यस देशमा जनआन्दोलनको लहर चलाउने लेखकहरू राजनीतिक दलको दलीय शक्तिग्रन्थीका कारणले संविधानसभामा समावेश गरिएनन् । ती लेखकहरू अदृश्य भए राजनीतिक नेताका निम्ति । मलाई दुईवटा कुरा मनमा लागेका छन् । पहिलो कुरा साहित्यकार अदृश्य हुनु भनेको नेपालमा लेखकले खासै कुनै शक्तिको सिर्जना गर्न सक्तैनन् र तिनलाई कहीँ समावेश गरिनुको कुनै औचित्य छैन भन्ने दलहरूको मनमा पर्नु हो । दलका नेताको चिन्तन होला, साहित्यकार भनेको प्रज्ञा प्रतिष्ठानरूपी गोदाममा घाँस हालेर राखिने जन्तु हो । त्यो गरिएला सरकार बनेपछि । अनि सबै कुरा भागबन्डामा परेजस्तै, विश्वविद्यालय र ज्ञानविज्ञानका केन्द्रहरू दलका भागबन्डामा पर्नेछन् । संकेतहरू देखिएका छन् । लेखन र कलात्मक सिर्जनामा राज्यका हस्तक्षेप परोक्ष र अपरोक्ष रूपले पर्नेछन् । साँढेका अण्डकोषको प्रशंसा गरेर राजाबाट बिर्ता पाउने मनोग्रन्थी भएका लेखक- कलाकारहरूले त्यही ग्रन्थीको प्रयोग गर्नेछन् ।
मेरो मनको अर्को कुरा यस्तो छ । अबको गणतन्त्र नेपालमा लेखकले बुझ्नेछन् कि एक अलग्गै, दलका साँढे महात्म्यभन्दा फरक शक्तिको रचना गर्नु अनिवार्य छ । त्यो लेखन र सिर्जनाको शक्ति हो । ज्याँ पाल सार्त्रलाई जेल हाल्ने दबाब परेपछि फ्रान्ससका राष्ट्रपति चाल्स दगोलले भने- म यिनलाई जेल हालेर अर्को फ्रान्सलाई जेलमा थुन्न चाहन्नँ र सक्तिनँ पनि । हो, त्यस्ता स्वतन्त्र, साहसी र निरपेक्ष लेखकहरू बनिनुपर्छ । स्वप्निल र गजलीय वा आधुनिक दुरूह अनि पश्चिमी साहित्यिक शब्दावलीका जाल बुनेर साहित्यकार बसिरहे भने तिनले गणतन्त्र नेपालमा पनि एक महान् पुनरावृत्तिको संस्कारलाई नैरन्तर्य दिनेछन् ।
गणतन्त्र नेपालमा मानिसको सम्मान नगर्ने, मानिसमाथि निर्घात कुटपिट गर्ने, मानिसको अंगभंग गर्ने चलनको अन्त्य हुनुपर्छ । साहित्य र संस्कृतिको सबैभन्दा ठूलो शक्ति र विषय भनेको मानिस हो । गणतन्त्र नेपालको साहित्यले त्यस्तो साहित्य लेख्नुपर्छ । राजनीतिज्ञका ढोकामा कुरेर यिनले सौन्दर्यशास्त्र देलान् र काम अघि बढाउँला भनेर बस्ने लेखकहरू अबको गणतन्त्र नेपालका लेखक हुन सक्तैनन् । राजा जानेबित्तिकै संस्कार बदलिँदैन । संस्कारले अर्को रूप लिन्छ । त्यसैले जागरुक, साहसिक अनि निःस्वार्थ मानवीय चिन्ताको कला-साहित्य साधना गणतन्त्र नेपालको विशेषता हुनुपर्छ । साहित्य र कलामा कुनै ज्ञान र संवेदना नभएका राजा ज्ञानेन्द्रको महाभिनिष्क्रमणले साहित्यकारमा के प्रभाव पर्ला र ! तर, प्रभाव पर्नुपर्छ नयाँ युग र स्वतन्त्र चिन्तन अनि सिर्जनाको । त्यो साधना गर्न लेखक कलाकार सधैं स्वतन्त्र छ र गणतन्त्र नेपालमा झन् स्वतन्त्र हुनेछ । हेर्नु छ ।
नयाँ पत्रिकाबाट