19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो भोजपुर

कविता पशुपति पराजुली "सालघारी" October 3, 2015, 7:32 pm
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

कुनै भिरालो पाखाबाट

सुरेली खेल्दै

बीचमा ठप्प अडिएर

हलचल नगरी

केहीछिन थकाइ मार्न बसेकी

स्वर्गकी अप्सराजस्तै मनोहर छ

मेरो भोजपुर ।

कतै सुहाग रातमा

पतिको अनुहार हेर्ने साहस नभएर

सम्पूर्ण सौन्दर्यको पोको खोल्दै

घुम्टोभित्र निहुरिरहेकी

नयाँ दुलहीको सुन्दर मुहारजस्तै छ

मेरो भोजपुर ।

मनका उकुसमुकुस, बहहरू

पोख्ने ठाउँ नपाएर

कतै एकान्त कुनामा

खुट्टा खुम्च्याएर

घुँडामाथि चिउँडो अड्याउँदै

पाउनुपर्ने कुरा पनि पाउन नसकेर

कसैको नजर पर्न सम्म योग्य नभएको हो कि भन्ने दुःखमा

छटपटाइरहेकी

सोह्रवर्षे कुमारीजस्तै दुःखित छ

मेरो भोजपुर ।

आफ्नै नजिकको दूधको कचौरा

छिमेकीले पालेको कुकुरले

जबर्जस्ती तानेर खाएकोमा

कुकुरसँग संघर्ष गर्न नसकी

दुवै आँखा मिच्दै

सुँक्क–सुँक्क रोइरहेकी

अबोध बालिकाजस्तै पीडित भएको छ

मेरो भोजपुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।