घाम बूढो भइसकेपछि मात्र झ्यालको चरहरूबाट भित्र छिर्छ र मलाई काउकुती लगाउँछ । घामको यो प्रवृत्तिबाट म अभ्यस्त भइसकेको छु । यो सहर हो, जहाँ सिंगो दिन आवश्यकताको माग-फारम भर्दाभर्दै सकिन्छ । मान्छेहरू कृत्रिम प्रेमको बैसाखी टेकेर यो सहरको 'रासलीला' मा सामेल हुन्छन् । मित्रताहरू मोबाइलको ब्यालेन्ससँग सम्झौता गरिरहेका हुन्छन् । म उठ्छु, बूढो घामको अनुहार हेर्छु र यन्त्रवत् कोलाहलपूर्ण सहरको भीडमा परिचय खोज्न हराउँछु । यो आममानिसको दैनिकी हो ।
पसलभरि झुन्ड्याइएका अखबारमा आवश्यकताको विज्ञापन खुलेका छन् । बेरोजगारको आशावादी आँखा आवश्यकताको विज्ञापनका हरफमा दौडिएका छन् । सहरमा तिमी र म कति पृथक छौँ । तिमी बिहान उठ्छौ र पेट्रोलको लाइनमा उभिन्छौ । म बिहान उठ्छु, गणतन्त्र नेपालको राष्ट्रिय गान पढ्छु । घाम चढ्दै जान्छ, क्रमशः म र तिमीहरू सिसिफस समाजको जात्रामा सामेल हुन्छौँ । म कति अराजकतावादी भइसकेको छु । तिमीलाई थाहा नहोला- सिंगो सहर अराजक मानसिकताको भीडले च्यापिएको छ । मानौं, सहर मान्छेहरूबाट बलात्कृत छ । सहरको अक्षतयोनीमा मानिस खुलेआम वेश्यावृत्ति गरिरहेछन् । पत्यार नलाग्ला- कतिपय यथार्थ यस्तै हुन्छन् । तिमीलाई के थाहा, यो सहर बेढंगका सपनाले किचिएको छ । कुन दिन भुइँचालो आउने हो र सिंगो सहरका जीर्ण घरहरूसँगै मान्छेका सपना चकनाचुर हुने हुन्, थाहा छैन । पृथक छ, तिमीले देखेको समाज र मैले भोगेको सहर । यन्त्रहरूको तारमा भुन्डिएको छ सिंगो सहर । मलाई सम्बोधनहरूप्रति रुचि छैन । सम्बोधनहरू सहरमा जहाँतहीँ किन्न पाइन्छ । राजनीतिका यावत् दुर्गन्धित भाषाले कुरूप छ सहर ।
साँझ ढल्कन्छ । त्यसो त मानिसको उमेर पनि ढल्कन्छ । सहरको साँझ ढल्काइमा कुनै ज्यामितीय कोण छैन । लोडसेडिङको समय-तालिका परेको समयबाहेक हरेक साँझ सडकमा लाइट बल्छन् । मानाँै, तिनीहरू सिंगो सहरको लाज छोप्न तम्तयार छन् । सहर जसको शब्दकोशमा लाज भन्ने शब्द छैन । मानिस भएभरका सम्बन्धको डोरी चँुडालेर दौडन तयार देखिन्छन् । सडक मानिसको पदचापले भरिएको छ । सबै फरक छन्, अपरिचत छन् एक-अर्कासँग । मानिसहरूको सम्बन्ध लिनु र दिनुको कुनै बिन्दुमा मात्र गएर जोडिन्छ अनि, कार्यसम्पादन सकिएलगत्तै तोडिन्छ पनि । मध्यमवर्गीय मानिस हतारहतार बहाल तिरेको कोठातर्फ पाइला खिच्छन् । संभ्रान्त वर्ग हतारहतार डिस्को र क्याबिन छिर्छन् र रातहरूको पर्दा ओडेर वर्जित फल खान्छन् । मान्छेहरू रक्सीको गिलाससँग सम्बन्ध बढाउँछन् र रात छिप्पिँदै जाँदा छताछुल्ल पोखिन्छन् । मानिसका तमाम छटपटी र कुण्ठा रात पर्दै जाँदा मोबाइल वा प्याडहरूमा लेखिन्छन् र इनबक्सभित्र भरिन्छन् । मानिस मनले भावनात्मक हुन्छन्, न कि मस्तिष्कले ।
सहरमा यावत् कुराले आकाश छुने तयारी गर्दै छ । माफ गर्नुहोला, धरहरा त्यसो गर्दैन । धरहराको उचाइ बढेपछि कलाकार किरण मानन्धरले थप समय पेन्टिङ बनाउन खर्चनुपर्नेछ । के घडीमा नयाँ अंक थपिनेछन् नयाँ नेपालमा ? मानिस चियापसलमा उभिएर मूल्य बढेको चिया पिउँदै छन् । राजाको बहिर्गमनपछि नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गर्ने निर्णय भएको छ । के तिनीहरूलाई थाहा नहुँदो हो ? सिंगो सहर तमाम विसंगतिको संग्रहालयमा परिणत हुँदै छ । मानिस राजदरबार र राजालाई बहसको विषय बनाउँछन् र एक कप चिया सक्छन्, एक खिल्ली चुरोट उडाउँछन् । क्याबात ! राजा कुनै मिथक त बन्दै छैनन् ?
सिंहदरबारअगाडि वर्षौंदेखि उभिएका पृथ्वीनारायण शाह भद्रकालीतर्फ हेर्दै छन् । यिनलाई के थाहा, देशमा गणतन्त्रको घोषणा भएको छ । गणतन्त्र घोषणा भएको छ, तर केही थाहा नभएजसरी पेट्रोल भर्न मानिस घामको तालिकाविपरीत खडा छन् सडक किनारामा । सिंगो सहर एउटा नाटकघरजस्तो लाग्दै छ । गुरुकुलमा अचेल के देखाइन्छ हँ ? यो सहर यावत् विरोधाभाषको सिकार भएको छ । खुलामञ्च जसलाई चारैतिरबाट फलामे बारले बारिएको छ र पनि त्यसको नाम खुलामञ्च नै छ । पुतलीसडक जहाँ एउटै पुतली देख्न पाइन्न । बरु पुतलीजस्तो बन्ने प्रयत्नमा युवतीहरू छोटा लुगा लगाउँछन् र लाज छोप्ने कृत्रिम प्रयास गरेझैँ देखिन्छन् । यो सहर यावत् कृत्रिमताले भरिएको छ । सहरमा अचेल गाडी दौडँदैन, मात्रै घिसि्रन्छ ।
रत्नपार्कमा यावत् बेरोजगार झुम्मिन्छन् र मुकुन्देको भाषण सुन्छन् । तिनीहरू योग्यताको परीक्षामा असफल छन् त्यसैले सरकारको उछित्तो काड्छन् । घरबेटीले बहाल बढाएको चिन्तामा, श्रीमतीले फरमान जारी गरेको सन्दर्भमा, छोरोको विद्यालयको किताब किन्न नपाएको झोंकमा तिनीहरू सरकारलाई 'कुुकुरगाली' गर्छन् । मुकुन्दे भाषण गर्छ, तिनीहरू 'हो' मा 'हो' मिलाउँछन् । सिंगो सहरमा तमाम मान्छे एक-एक किसिमका मुकुन्देहरू हुन् । सबै भाषण गर्छन् । गोजीमा केही पैसा हुनेहरू चियापसलमा, पैसा नहुनेहरू चोक र गल्लीमा । अनि, फुर्सद हुनेहरू रत्नपार्कमा । सिंगो रत्नपार्क र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा के फरक छ ? मलाई कोही प्रश्न गर्छ । म हठात् भन्छु- मुकुन्दे रत्नपार्कमा ठीक समयमा आइपुग्छ र दिनभरिको कार्यसूची तामेल गरी ठीक समयमा र्फकन्छ । के सम्मेलन केन्द्रमा अब यो सम्भव छ ?