खण्डहरहरूमा
परिणत भएका
धूलाम्मे सभ्यताहरू
कान्तिपुरका सडकहरूमा
विलौना गर्दै
रोइरहेका अनाथ आँखाहरू
सर्वस्व गुमाउन पुगेका
लाखौं जिन्दगीहरू
सड्दै गरेका दुर्गन्धहरूबीच
लाश जलाउने पालो पर्खेर बस्ने
विषादग्रस्त वेदनाहरू
आशाका मलिन
धागोहरू मनभरि
बुन्दै-उधिन्दै
ध्वशांवशेषहरूबाट
हट्न नमान्ने आँखाहरू
धुवाँका मुस्लाहरूबीच
कान्तिपुर विलीन भएको
त्यो पहर !
अहो कान्तिपुर !
तिमी त्यसघरि
उराठलाग्दी भएकी थियौ
तिम्रा सबै वाचा र विश्वासहरू
धरहरा र स्वयम्भूका ढाँचाहरू झैं
ध्वस्त भएका थिए
कान्तिपुर तिमी प्रलयको संघारमा उभिएकी थियौ
कान्तिपुर तिमी विनाशको परिभाषा बनेकी थियौ
तिमी वयःसन्धिको धारमा उभिएकी थियौ
विखण्डित विच्छिन्न विपर्यस्त
अहो कान्तिपुर !
तिम्रो सौन्दर्य सबै लुटिएको थियो
तिम्रा मीठा चहल-पहलहरू
चित्कार र विलौनामा
बदलिएको
त्यो पहर !
वीभत्स थिय
अविश्वसनीय थियो
अकल्पनीय थियो
तर के तिमीले थाहा पायौ
त्यस पहर
कुनै हातहरू
अस्पृश्यताका साङलाले
बाँधिएका थिएनन्
उच्चताभासको अहंकार
तुच्छताभासको पीडा
ध्वस्त पार्दै
मानिसको ओजोन भेद्ने अहंकारलाई
भूस्पृश्य बनाउने
त्यो पल कल्पनातीत थियो
आलीशान भवनका गरिमामय गर्वहरू
वा फुटपाथका नारकीय बाध्यताहरू
विभिन्नताहरू
मतभेदहरू
पर्खालहरू
भत्काएर
एउटै लहरमा सबैलाई उभ्याइदिने
त्यो दृश्य आदिम थियो
सम्यक दृष्टि
सम्यक कर्म
सम्यक स्मृति
सम्यक संकल्प
रोकेर रोक्न सकिन्न जसरी रातलाई
थुनेर राख्न सकिन्न त्यसरी नै सूर्यलाई
अदम्य इच्छाशक्तिले
मृत्युलाई ललकार्दै
विनासका अवशेषहरूबाट
परीकथा भई अवतरित भएका थिए
अनेकौं जीवन्त सल्बलाहटहरू
थरी-थरीका रूपमा- थरी-थरीका आकारमा
लाश गन्ने क्रममा
क्लान्त बनेका औंलाहरू
अब टेन्ट लाउन
व्यस्त बन्न थालेका थिए
जिरो पोइन्ट-मा पुगेर
फर्किआएका यथार्थहरू
अब नयाँ माटोमा
पलाउन थालेका थिए
रूख छोडी उडिसकेका जोडी परेवाहरू
अब फेरि गुँड लाउने तरखरमा थिए
कान्तिपुर !
तिमी सारा मोहपाशबाट विमुक्त
सगरमाथा झैं, फेरि हाँस्ने क्रममा छौ
जीवन-जीवनकै निम्ति -को
सत्यतालाई स्वीकार गर्दै
तिमी अमरावती भई, फेरि बाँच्ने क्रममा छौ।
दार्जीलिङ