14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गणतन्त्रमा स्रष्टाको भूमिका

विचार रामप्रसाद ज्ञवाली May 30, 2008, 1:18 pm

गणतन्त्रको थालनी भएको वर्तमान समयमा स्रष्टाको भूमिका कस्तो हुनुपर्ने हो भन्नेमा छलफल हुनु आवश्यक छ । यसबाट संघीय लोकतान्त्रिक गणराज्यको स्थापना गर्ने सवालमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ । स्रष्टाहरू चेतना सम्प्रेषणका दृष्टिकोणले अन्य व्यक्तिभन्दा विशिष्ट हुन्छन् । उनीहरू चेतनाको हिसाबले जीवन्त व्यक्ति हुन् । समाज, राष्ट्र, व्यक्ति र मौलिकताबारे जीवन्त भएर सोच्न सक्छन् स्रष्टाले । स्रष्टा भएकाले सृजना गर्नु स्रष्टाको दायित्व छँदै छ, साथमा ऊ नागरिक पनि भएकाले खासखास समयमा आवश्यकता र युगको मागअनुसार उसको विशेष दायित्व पनि हुन्छ । इतिहास पल्टाएर हेर्ने हो भने देखिन्छ जागरुक र जिम्मेवार स्रष्टाले विशेष समयमा खास भूमिका निर्वाह गरेका छन् । राष्ट्रिय मुक्ति र विश्वमानवताका पक्षमा स्रष्टाले कलम मात्र चलाएका छैनन्, बलिदानी दिएका पनि छन् । त्यसैले समाजको रूपान्तरण र प्रत्येक युगपरिवर्तनमा स्रष्टाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

गणतन्त्रको स्थापना भएपछि यसको स्थायित्व र सघनीकरणका निम्ति सामाजिक रूपान्तरण, आर्थिक समृद्धि र सांस्कृतिक प्रारूपीकरण जरुरी छ । इतिहासमा पनि शक्तिशाली राजनीतिक क्रान्ति र सत्तापरिवर्तन भए तर त्यहाँ राजनीतिक परिवर्तनलाई मात्र जोड दिनाले र त्यसलाई मात्र स्थायित्व दिने प्रयत्न गर्नाले सामाजिक-सांस्कृतिक रूपान्तरण भएन, न त आर्थिक समृद्धि नै भयो । परिणामतः विद्रोह, संघर्ष, जनयुद्ध, जनआन्दोलन । इतिहासबाट सिकेर गणतन्त्रको स्थायित्व निम्ति सांस्कृतिक-सामाजिक रूपान्तरणमा ध्यान दिनुपर्छ । स्रष्टाको भूमिका मूलतः सांस्कृतिक रूपान्तरणमा हुनुपर्छ । स्रष्टाले आफ्नो सृजनाकर्मलाई वैयक्तिक कुण्ठा र अराजक स्वतन्त्रतामा नलगाई सामूहिक चेतना र संगठित खबरदारीसहितको सम्प्रेषणीय कलासिर्जनातर्फ लगाउनुपर्छ । सांस्कृतिक रूपान्तरण आचारविचारको रूपान्तरण पनि हो, जीवनपद्धति र संस्कारमा अग्रगामी रूपान्तरण पनि हो । यस्तो रूपान्तरण तब मात्र हुन सक्छ जब व्यक्तिमा वैचारिक स्पष्टता, वैज्ञानिक सोच र मानवीय संवेदनशीलता व्यापक मात्रामा रहन्छ । यो काम राज्यले नीतिनियम बनाएर लागू गरेको भरमा मात्र सम्भव हुँदैन । धोद्रे रूखका जराहरू बलियोसँग माटामुनि गाडिएर चारैतिर फैलिएर रहेका हुन्छन् । तिनको उत्खनन सहज हुन्न । जुन वृक्ष जति ठूलो हुन्छ त्यसका जरा त्यति नै धेरै गहिराइसम्म र परपरसम्म पुगेको हुन्छ । तिनलाई समाप्त पार्न योजनाबद्ध, धैर्यपूर्ण, विजेतामयी चेतनासम्प्रेषणको निरन्तरता चाहिन्छ । स्रष्टाले तदनुरूपका पात्र, परिवेश र घटनाको प्रारूपीकरण गरी सशक्त सिर्जनाद्वारा चेतना जगाउने काम गर्नुपर्छ । यसबाट गणतान्त्रिक चेतना भएको जनमत बन्नेछ र सांस्कृतिक रूपान्तरणनिम्ति वैचारिक आधार प्राप्त हुनेछ ।

गणतान्त्रिक संस्कृति-निर्माणमा त्यसको प्रचारप्रसार तथा व्यवहारमा त्यसको कार्यान्वयन नै गणतान्त्रिक सांस्कृतिक रूपान्तरण हो । स्वतन्त्रता, समानता र न्यायको स्थापना अनि निरन्तर अनुगमन र पुनः न्यायीकरणको प्रक्रियाबाट यसलाई स्थायित्व दिई सघन तुल्याउन सकिन्छ । उक्त कुराहरू गणतन्त्रका उपलब्धि हुन् । प्राप्त यी उपलब्धिहरूको सुरक्षा, सुव्यवस्था र विस्तारण आवश्यक हुनेछ । त्यसका निम्ति गणतन्त्रवादीहरूबीच एकताबद्ध संकल्प तथा प्रतिबद्ध सहकार्य हुनु जरुरी छ । यसनिम्ति गणतन्त्रका पक्षधर स्रष्टाले संगठित र उत्साही मोर्चा बनाउनुपर्छ ।

स्रष्टालाई सामन्तवादी सत्ताले रूपसौन्दर्यतर्फ अन्धो तुल्याइराख्ने षड्यन्त्र गर्दै आएको छ । नेपालका सन्दर्भमा यो भूमिका राजतन्त्र र त्यसका भाट स्रष्टाहरूले निकै राम्ररी निर्वाह गर्दै आएका छन्, गरिरहेका छन् । यो नकारात्मक भूमिका यिनीहरूले गणतन्त्रको थालनीमा पनि गर्ने नै छन् र त्यसपछि पनि गरी नै रहनेछन् । राजतन्त्रको समाप्ति हुँदैमा सामन्ती सोच र व्यवहार समाप्त भइहाल्दैनन् । राजतन्त्र राजा मात्रै होइन, यो तमाम घातक संस्कार र मानवद्वेषी संस्कृति पनि हो । यस्ता संस्कार र संस्कृति समाजका जराजरामा बसेका छन् । यी कुतत्त्व रहेसम्म सामन्तवाद समाप्त हुँदैन, न त राजतन्त्रको गर्भ नै मासिन्छ । सांस्कृतिक रूपान्तरणको गणतान्त्रिक स्वरूप भनेको यस्ता संस्कार र संस्कृतिको शुद्धीकरण पनि हो । सांस्कृतिक रूपान्तरणमा चेतना वा विचारको वैज्ञानिक रूपान्तरण हुन्छ । त्यसले कर्म र व्यवहारमा फड्को हानेर परिवर्तन ल्याउँछ, व्यक्तिलाई सामाजिक बनाउँछ, विचारलाई वैज्ञानिक तुल्याउँछ, कार्यहरूलाई सामूहिक बनाउँछ र जीवनलाई गतिशील तुल्याउँछ । परिणामस्वरूप आर्थिक समृद्धि, सामाजिक सहिष्णुुता र न्याय, वर्गीय हित, राष्ट्रिय उत्थान, अन्तर्राष्ट्रिय सम्मान, जातीय पहिचान र वैयक्तिक सम्मान एकसाथ प्राप्त हुन्छन् । गणतन्त्रको लक्ष्य पनि यही हो । स्रष्टाहरूले आफ्ना सृजनाद्वारा यसैतर्फ योगदान दिनु जरुरी छ ।

स्रष्टाले तत्कालै गर्नुपर्ने काम नेपालको राजनीतिक क्रान्ति यतिबेला वर्गसंघर्षको नयाँ चरणमा आइपुगेको छ । अब नेपाली स्रष्टा, खास गरेर प्रगतिशील स्रष्टाको भूमिका नयाँ रूपमा हुनै पर्छ । गणतन्त्रात्मक संविधान लेखिन लागेको अबको समयमा स्रष्टाले महत्त्वपूर्ण सुझावहरू दिनु र तिनलाई आगामी संविधानमा समावेश गराउने प्रयत्न गर्नु जरुरी छ । स्रष्टाहरूले त्यसनिम्ति नैतिक दबाब दिनुपर्छ । क्रान्तिको उद्देश्य र जीवनमूल्यको समन्वय संविधानमा गराउनु छ । त्यसैले मुक्तिकामी जनताका आदर्श कामनाहरूको प्रतिनिधित्व जरुरी छ । फेरि पनि जनविरोधी बन्न सक्ने सम्भावित खतरालाई तर्कपूर्ण-तथ्यपूर्ण संकेत गर्नुपर्नेछ ।

अहिलेको तात्कालिक सन्दर्भमा सिर्जनाले मात्र स्रष्टाको दायित्त्व पूरा नहुने देखिन्छ । नैतिक दबाबमूलक गतिविधि सञ्चालन गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । संविधाननिर्माणको तयारी भइरहेको समयमा स्रष्टाले आआफ्नो पहुँच भएका सम्बन्धित र आधिकारिक पार्टी, क्षेत्र, निकाय र व्यक्तिहरूमा जनयुद्ध र जनआन्दोलन, त्यसको उद्देश्य, गन्तव्य आदिका बारेमा स्मरण गराउने र तिनलाई लागू गर्न दबाब दिने काम निरन्तर गरिरहनुपर्नेछ । स्रष्टाले मूलतः कलासाहित्यको सुरक्षा, संवर्द्धन, रूपान्तरण, विशिष्टीकरण र विस्तारण आदिका निम्ति नै प्रमुख दबाब दिनुपर्नेछ । अर्थात् राज्यको पुनर्संरचना गर्दा कलासंस्कृतिको पुनर्संरचना पनि आवश्यक छ । नीतिनिर्माणले यस कुरालाई नबिर्सून् भन्नाखातिर हामीले यी काम गर्नु जरुरी छ । इतिहास के कुराको साक्षी छ भने राजनीतिक दलहरूमा चर्काे रूपमा सत्तालोलुपता हाबी छ । यसै कारण उनीहरू राजनीतिक कुरामा मात्र बढी केन्दि्रत बन्छन् । स्रष्टाको प्रतिनिधित्व गर्ने व्यक्ति संविधानसभा सदस्यका रूपमा उपस्थित हुनु जरुरी छ । मनोनीत हुने २६ जना संविधानसभा सदस्यहरूमा कम्तीमा दुई जना स्रष्टाहरू पनि राखियून् भन्ने माग गर्नुपर्छ र त्यसनिम्ति आवश्यक जुनसुकै किसिमका दबाबमूलक कार्यक्रम गर्नुपर्छ । यतिखेर पुनः राजनीतिक पार्टी मात्र होइन, नेपालका नागरिक समाज पनि स्रष्टाप्रति कृतघ्न देखिएका छन् । यी पार्टी र नागरिक समाजले आन्दोलनका बेला स्रष्टालाई पछ्याएको पछ्यायै गरे, बोलाएको बोलायै गरे । आन्दोलनमा लाठी खान, धर्ना बस्न, जेल जान, गोली खान, कविता पढ्न र गीत गाउन यिनलाई स्रष्टा नभई भएन । यद्यपि क्रान्तिकारी लोकतन्त्रवादी स्रष्टा यिनीहरूको निर्देशन र हुकुमले मात्र आन्दोलनमा लागेका थिएनन्, आफ्नै जाग्रत चेतना र नागरिक दायित्वबोध गरेर क्रान्तिमा होमिएका थिए तथापि पार्टी र नागरिक समाजले समेत यिनको उपयोग आफ्नो तहमा पनि प्रशस्तै गरे । तर, क्रान्ति सफल भएपछि यिनीहरूबाट भएका कार्यक्रममा स्रष्टालाई बिर्सने काम भयो क्रान्तिको समयमा जनवादी स्रष्टाले नै बढी त्याग र संघर्ष गरे तर, ती सर्जकलाई अहिले कसैले सम्झेको छैन । कतै जनवादी कलासाहित्य र जनवादी स्रष्टा फेरि पछि पारिने त होइनन् ? यसतर्फ स्रष्टा स्वयं सतर्क हुनुपर्नेछ । नेपाल प्रज्ञा प्रतिष्ठानको गठनमा, साझा प्रकाशनका प्रकाशनमा, यिनका पद र प्रक्रियामा के गर्ने हो ? सुझाव, योजना र दबाब आवश्यक छन् । साहित्यिक क्षेत्रको मूल्यांकननिम्ति पनि निरन्तर क्रियाशील हुने, पढ्ने-बुझ्ने र अनुगमन गर्ने निकाय आवश्यक छन् । त्यस्तै शैक्षिक पाठ्यक्रममा गणतान्त्रिक चेतना दिने, व्यवहारमुखी सीप सिकाउने, निर्माणशील वैज्ञानिक पाठ्यपुस्तक समावेश गर्नु जरुरी छ । साहित्यिक उपचारकोष, साहित्यिक पत्रकारिताको विकास, पत्रपत्रिकाको प्रकाशनव्यवस्था, वितरणप्रणाली आदि कुरामा पनि राज्यको विशिष्ट दायित्व जरुरी छ । त्यस्तै स्रष्टा स्वयंको रूपान्तरण पनि उत्तिकै आवश्यक छ । हामीले कलासाहित्यको पेसागत विकास गर्नैपर्नेछ । यसनिम्ति आवश्यक नीतिनिर्माण र कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्नेछ । स्रष्टाका भूमिकामध्ये यो पनि एउटा देखिन्छ । मरणशील पक्षले गणतान्त्रिक कलासाहित्यमाथि र यस्ता साहित्यको विकासविरुद्ध अन्तिम शक्तिका साथ आक्रमण गर्न सक्छन् ।

निष्कर्ष
नेपाल यतिखेर 'संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल' को औपचारिक स्थापना हुने दिशामा अग्रसर छ । स्थापनापछिका चुनौतीहरू चर्का छन् । चुनौतीको सामना धैर्य, योजना, साधना र समर्पणबाट मात्र गर्न सकिन्छ । आन्दोलन सफल पार्न स्रष्टाले बलिदानी भूमिका निर्वाह गरेझैं गणतन्त्रको स्थापना, स्थायित्व र सघनीकरण निम्ति पनि भूमिका निर्वाह गर्नैपर्छ । विचारले बौद्धिक संस्कृति र सुकर्मले भौतिक संस्कृतिमा प्रगतिशील सांस्कृतिक रूपान्तरणको प्रक्रिया सञ्चालन गर्नु जरुरी छ । यसमा स्रष्टाको कलात्मक तथा व्यवहारमुखी सृजनात्मक भूमिका आवश्यक छ । गणतन्त्रमुखी कलासाहित्यको प्रवर्द्धन, विस्तारण, नवीकरण, स्थायित्व र दीर्घजीवनका लागि स्रष्टाले आवश्यक मात्रामा सिर्जना, संगठन, संघर्ष, दबाब आदिका सामूहिक र संगठित गतिविधिहरू गर्नैपर्छ । यसका निम्ति संविधानको निर्माणमा गणतान्त्रिक चेतना र कर्म भएका योग्य र दिशाबोधसमेत भएका स्रष्टाको प्रतिनिधित्व जरुरी छ । तत्कालका निम्ति यिनै कुरा पूरा गराउन स्रष्टाले भूमिका खेल्नुपर्छ ।
(नागार्जुन साहित्य प्रतिष्ठनको विचार-गोष्ठीमा प्रस्तुत कार्यपत्रको अंश)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।