19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मायावी मोहनी

कविता पेशल आचार्य October 11, 2015, 9:15 pm
पेशल आचार्य
पेशल आचार्य

उत्ताल जल तरङ्ग

हिम वर्षाको प्रलय

वा अनिष्ट गराउने

वायव्य दिशाको

उष्ण पवन

सबै उस्तैउस्तै हुन्,

प्रेमको हिमाद्री सरहद्

जीवनको नदीजस्तै नागबेली

मिहीन समर्पणको सन्धिसर्पन

आत्मीयता निखन्नका लागि

उत्तेजनाको निषेधाज्ञा

जारी छ –यो शरीरको दर्शनमा,

पाउलाले छपक्क भएका

किशोर बागी रहरहरू

दाउने बेला भएको छ

मस्किन्छौं हामी डायस्पोरासँग

डिजिटल आकर्षणको डोरीमा

बाट्न पोया मिसाउँदै,

प्रेम मालदाम्लो हो

बछेडा बछेडी वयसन्धिको

परितृप्त हुनुमा

नहुनुको बोध छैन

परिमार्जित हुनुमा

नभेट्नुको अब शोध रहेन,

धेरै शताब्दीहरू

फर्सीका मुन्टा चुडिएझैँ चुँडिए

छली शरीर

आत्माको राजमार्गमा

गमनार्थ

निस्क्यो, बढ्यो

पुग्न सकेन

विन्दु टेकेर केन्द्रविन्दुमा,

आकर्षण उस्तै छ

विकर्षण उस्तै छ

वियोगमा

संयोगमा

किनकि यो मायाको

मायावी मोहनी हो ।

हालः मन्थली, रामेछाप ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।