19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उसको छोरो

कथा सावित्री श्रेष्ठ October 11, 2015, 9:26 pm

थाहा पाएदेखि मैले उसलाई मन पराएँ । मेरो साथीको दाजु गोरो, अग्लो, अत्यन्त सुन्दर दाँत र मनमोहक मुस्कान । त्यो सुन्दर मुस्कानकै माझबाट निस्कने उसको मधुरतम बोलीमा हुरुक्क हुँदै हुँदै नै बालापनबाट यौवनका खुड्किलामा टेकेँ मैले । वरिपरिका डाँडाहरुका रुखहरुले कयौँ चोटि पतझड बेहोरे, कयौँ चोटि नयाँ पालुवाहरु पलाए, त्यसरी नै जसरी मेरो मनमा बहार पतझडले पालो फेर्दै गयो, नबदलिएको उसको त्यो सदाबहार मुस्कान मात्र हो अनि उसप्रतिको धुमधामको चाहना । द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी जीवन पद्धतितिर उन्मुख हुँदै रहँदा र विद्यार्थी जीवनका आन्दोलनहरुबीच पनि मेरो मनमा भएको उसप्रतिको आकर्षण मत्थर हुन सकेन । माक्र्स पनि त कुनै बेला प्रेममा परेका थिए । यो प्रेम त गर्छु वा गर्दिन निर्णय गरेर योजना बनाएर भएको प्रेम पनि होइन बस अन्तरमनको साह्रै चोखो र गोप्य कुनाबाट प्रस्फुटित प्रेम हो यो । मुक्तिनाथ निस्किरहेछ— उज्यालो ज्योतिभैmँ यसले मेरो जीवनलाई केही उज्यालो केही उत्साहपूर्ण केही पूर्ण केही अपूर्ण बनाइदिएको छ । आफ्नो मनको एक कुना कहिल्यै मेरो आफ्नो हुन सकेन । सधैँ उसको, उसैले कब्जा जमाएर बस्यो त्यहाँ ।

उसको चाहना मनको मनै रह्यो । एउटा मान्छेप्रतिको घनघोर प्रेम, अपराजित आकर्षण बोकेर म अरु नै कसैको जीवन साथी हुन पुगेँ । आमा–बाबुको छनोट र मेरो मौन प्रेमको क्रन्दन छातिमै बोकेर जीवनको शाश्वत सत्यलाई अपनाएँ मैले । ऊ त्यसबेला पढ्न देश बाहिरै पुगिसकेको थियो । हुन त यही भएको भए नि के नै हुन सक्थ्यो र ? उसले त मलाई सधैँ बहिनीको रुपमा मात्रै लियो, मेरो मनको प्रेम आँखाको बाटो हुँदै उसको मनमा कहिल्यै पस्न सकेन । (बस ऊ त्यो प्रेमपूर्ण आँखाले अरु नै कसैलाई हेर्दै गरेको चकित भएर म हेर्दे रहेँ) । ऊ आफ्नो नभएकोमा भन्दा पनि त्यो आँखाको गजबको प्रेम अरु नै कसैको भइदिएकोमा गुनासो रह्यो मेरो ।

आफ्नो बिदाइको बेलामा पनि आफ्ना आमा, बाबु, घर परिवारको बिछोडभन्दा पनि उसको चर्को यादमा र अब सबै सम्भावनाहरु पूर्णविराम लाग्यो भन्दै उसलाई सम्झँदै मुटु फुट्ने गरी रोएँ म । मनमा दोहोरो पीडाको अनुभूत गर्दै नयाँ जीवनको सुरुआत गरेँ मैले । मनमा एउटा गाँठो प¥यो— नफुत्कने किसिमको बोझिलो, भारिलो ।

जीवन जीवन नै हो अगाडि बढ्छ, उकाली ओराली जे भए नि नदी होइन नि जीवन खाली ओरालोतिरै लाग्ने वा सम्म ठाउँमै मात्र बग्ने, मेरो जीवन त बस उबलखाडल भयो जिन्दगी शान्त तलाउको महसुस गर्नै सकिएन यो जिन्दगीमा ।

विवाहित जीवनको पूर्णता हो सन्तान तर बिहे गरेको आज तीन वर्ष भइसक्दा पनि मेरो आँगनमा कुनै पूmल फुलेन । घरको र समाजको पनि कठोर प्रश्नवाचक आँखाहरुको प्रहार हुन थाल्यो । सबभन्दा धेरै आफ्नै पतिको एउटा छोरो नि दिन नसक्ने तिमी ।

मैले दिन नसकेको कि तपाईंले ? जाऊँ न त जँचाउन ।

म जचाउन जाने ! म ! के ठान्छौ तिमी मलाई ? आमा बाले भने भैmँ गर्छु अर्को बिहे । त्यो दिन मेरो मन टुक्रा–टुक्रा भयो र त्यो हरेक टुक्रिएको आफ्नो हृदयमा मैले उसलाई देखेँ । त्यसरी नै मुस्कुराइरहेको जसरी । ऊ धेरै जसो मुस्कुराइरहेको हुन्छ । मुस्कुराएरै कुरा गर्ने जीवन्त स्वभाव छ उसको । मेरो मनमा एउटा अनौठो विचार आयो— साहसिक विचार । त्यो विचारलाई संकल्पमा परिणत गरेँ मैले केही रातहरु अनिँदो बसेर । र म आफ्नो जन्मघरतिर लागेँ । आफ्नो संकल्पित योजना कार्यान्वयन गर्ने साहसपूर्ण निर्णयसहित ।

उसलाई फोन गरेर बोलाउँछु निर्धारित ठाउँमा निर्धारित समयमा ।

‘हुन्छ यतिका दिनहरुपछि तिमी बोलाउँदैछौ, म मिलाएर आउँछु ।’

र ऊ आयो त्यही रेष्टुरेन्टमा निर्धारित समयमै कुनै भूमिका नबाँधिकन आफ्नो उसप्रतिको प्रेम लगातारको सम्मोहन र आजको यथार्थता सबै नै उसलाई बताउँछु ।

ऊ अत्यन्त चकित भएर मेरो कुरा अति ध्यान दिएर सुन्दै रह्यो र अन्तमा भन्यो, ‘लौ भन मैले के गरिदिनु प¥यो तिमीलाई ?’

म उसको आँखामा आँखा बिसाएर दृढ स्वरमा भन्छु, ‘मलाई एउटा सन्तान दिनोस्, आपूm जस्तै ।’

ऊ विस्मृत चकित अवाक । के भनेको यस्तो ? सही भन्दैछु मलाई एउटा छोरा दिनोस् आपूm जस्तै ।

मेरो जीवन तहसनहस हुँदैछ बचाउनोस् मलाई र एउटा पूर्ण नारी बनाइदिनोस् मलाई सन्तानवति ।

त्यो रात ऊ सुत्नै सक्दैन । के यस्तो ठीक हुन्छ । पछि बच्चा सहित टाँसिन आई भने अथवा ... हजार तर्कहरु तर उसको निश्छल अनुहार र व्यवहारको दृढता सामु मेरा सारा तर्कहरू पराजित भए । एउटा झमझम पानी परिरहेको आषाढ महिनाको अति रोमान्टिक साँझमा र अझ भनौँ हरियालीपूर्ण त्यो साँझ र चाँदनीले नुहाएको त्यो रातभरि हामी साथ रह्यौँ । त्यो एउटा अपूर्व रातले मलाई स्वास्नी मान्छे आमा मान्छे बनायो । जनम भरको मेरो अतृप्त मन, शरीर र आत्माले अपार सन्तुष्टि महसुस ग¥यो । उसको नभएको मेरो छोरा ठ्याक्कै ऊ जस्तै सुन्दर, गोरो र आकर्षक ।

हरपल उसलाई सम्झने मन पनि शान्त भएको छ । काख भरिको सन्तान पाएर सबभन्दा ठूलो कुरा त यही भयो कि मेरो मनमा परेको त्यो अफ्ठ्यारो गाँठो अनायास बिलाएर गयो र म जीवनलाई शान्त, सुन्दर तलाउ भैmँ महसुस गर्न थालेको छु मनको गाँठो जो फुमन्तर भएको छ । ऊ नभए नि उसको साथ अब मेरो मनमा जो छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।