रमाइलो ताप्लेजुङलाई
तपाईं कसरी हेर्नुहुन्छ
कहिले हेर्नुहुन्छ हेर्नुहोस् !
म त असोजमा हेर्छु, कातिकमा हेर्छु
अकास कति सफा छ !
कुम्भकर्ण कति सफा छ !
कावेली र तमोरलाई बेंसीमा लाए झैं गरेर
एक दुई भुल्को धूवाँ
सुर्ती भुक्क भुक्क उडाएर कुम्भकर्ण
एक किसान ढुङ्गामा झैं ढपक्क बसेको छ ।
दशैं कति रमाइलो !
तिहार कति रमाइलो !
खुर्पादिन बेंसी, दुम्ला बेंसी, कुमालटार, मिश्रटार
दुम्सीकाँडे धान पारेर चम्किएका छन्
पहेंलै धान झुलाएर झल्किएका छन्
फूङ्लिङ, फूलबारी फूलहरु फुलाएर
सयपत्री, मखमली, चमेली, गोदावरी सुवासित छन्
म नोरुँवा भञ्ज्याङबाट हेर्छु
सोब्वा देउरालीबाट हेर्छु
तोक्पे गोला, वलाङ्चुङ गोलाबाट हेर्छु
मेरो सुन्दर ताप्लेजुङलाई म हेर्छु ।
म असारमा हेर्दिन
साउनमा हेर्दिन ताप्लेजुङलाई
गोरुजुरे समेत ढाकिन्छ
जरबुटे पातल समेत ढाकिन्छ कुहिरोले
किसान नाङ्गै पटुका कसेर पेटमा
हलो र कोदालोसँग हिलामा डुबेको हुन्छ
गुरुङ्गेनी दिदी, सेर्पा दाइ
भेडा चराउँदा पनि जुकासँग लडाइँ हुन्छ
स्कुल बन्द हुन्छ, मन्दिर बन्द हुन्छ,
म मङ्सिरमा पनि हेर्दिन ताप्लेजुङलाई
त्यो सुन्दर बेंसी
जहाँ गरागरामा धान झुलेको थियो
खलाखलामा थुप्रिएर बडाबडा ढिकुटीमा जम्मा हुन्छ
किसान दाइको पटुका झन् कसिन्छ
मुठी झन् कसिन्छ
जाडो कठ्याङ्ग्रिएर चीसो
किसानदाइका मुठीभित्र पस्छ, खोकिलामा पस्छ ।
म दशैंमा हेर्छु, तिहारमै हेर्छु मेरो ताप्लेजुङलाई
जहिलेसम्म म निस्फिक्री हेर्न पाउँछु
जरबुटेको पातल नाङ्गो छ
पातहरु सर्याङ्–सुरुङ् बज्दैनन्, नबजून्
पातहरु भए पो बजून्
रुखहरु भए पो बजून्
रुखहरु सब लालीपौडर दलेर ताप्लेजुङमा छन्
पातहरु बजाउने डाँफे मुनाल भए पो बजून्
कस्तुरी, झारल, घोरल भए पो बजून्
जंगल भए पो मेरो जंगलमा
पातल भए पो मेरो पातलमा ।
म त नागी मात्र हेर्छु
म त ताप्लेजुङ बजार हेर्छु
फालेलुङबाट जन्मेको घामसँग
चुङ्खोलेको डाँडाबाट जवान भएको घामसँग
जुरेको डाँडामा पुगुञ्जेलका घामसँग
म त तेल्लोक हेर्छु, हेल्लोक हेर्छु
लुङ्थुङ हेर्छु, थुङ्लुङ हेर्छु
थेचम्बु हेर्छु, बेजम्बु हेर्छु
याम्फुदिन, सावादिन, निघुरादिन हेर्छु
सभ्यता गुम्सिएको हान्द्रुङ हेर्छु, दोभान हेर्छु
सभ्यताको अग्रदूत सिनाम हेर्छु
म हेर्छु !
हालसाल
अलिकति सभ्यता आउने सडक बनिएको छ
कावेली छेक्का खेलेर छेकिरहेछ त्यस सडकलाई
तर हरेक दसैंपछि
कावेली दुब्लाउँछ
सभ्यतासँग कावेली छेक्कामा हार्छ
सभ्यता अलिकति थोत्रा ट्रकसँग ताप्लेजुङ छिर्छ
फेरि बैसाख–जेठदेखि कावेली मौलाउँछ, बौलाउँछ
सभ्यतालाई फेरि बिच्छिन्न पार्छ ।
दुब्लाउनु र मौलाउनु गरेर
कावेली रोइरहेछ रात दिन
उसलाई छातीमै टेकेर, सतित्व मिचेर
सभ्यता ताप्लेजुङ आउने गरेकोमा ।
म कामी डाँडाबाट हेर्छु
म तोक्मे डााडाबाट हेर्छु
म दसैमा हेर्छु, तिहारमै हेर्छु
धरानबाट, विरतामोडबाट
ढाकरमा आउने दसैंहरु
मोटरमा आउन थालेका छन्
म आउन थालेको दसैं मात्र हेर्छु
जाने दसैं म हेर्दिन
दाँत फुक्लिएको, करङ बन्धकीमा परेको
केस–केस गनिएको
मेरो हियो मान्दैन दशैं गएको हेर्न
अकासभरि जून फुलेर के गर्नु र !
मनभरि घुन लागेको हुन्छ
पाखाभरि फूल फुलेर के गर्नु र !
मुटुभरि शूल रोपिएको हुन्छ
म जाने दसैं हेर्दिन ।
अहिले अलिकति चित्त दुःखेको छ
पाथिभराको, मानाभराको
मानौं ठुले, माइलो र साइँलोले झैं
उसले नयाँ लुगा फेर्न पाएकै छैन
मिल्केले पनि हँसियाका जस्ता दाँत देखाएर
मुक्त हाँस्न पाएकै छैन
त्यसैले म जस्तै आत्मीय ताप्लेजुङ
म उसलाई दसैंमै हेर्छु
म उसलाई तिहारमै हेर्छु
सकेसम्म केटाकेटीहरु हँसाएर
ऊ खुल्ला अकाससँग म जस्तै हाँसिदिन्छ ।