अह सूर्य बनेछ कठोर कडा
नभ साफ छ छैन नि मेघ खडा ।
हरिया बन पात सबै लहरा
सँग तेज रहेन घटे छहरा ।।
रसिलो दिन हो सब साउन यो
बिधिले किन दृष्टि बटारि दियो ।
सुकिगो सब खेत बनेर चिरा
तब फल्दछ के ? गर सोच कडा ।।
जल बर्षिरहोस् रसिलो थल होस्
बिरुवा हरिया मन मग्न बनोस् ।
तब यो ऋतु सार्थक हुन्छ यहाँ
अनि फल्छ मुरी हिउँदे दिनमा ।।
सुकिगो बिउ नै बनको खर झैं
अब रुन्छ किसान बनी मृत झैं ।
शिव हे ! किन दृष्टि अनिष्ट गरी
विपरीत बनेर गयो प्रकृति ।।
अब शक्ति रहेन सहूँ कसरी ?
बन शान्त र देऊ मिठास छरी ।
भवको भर आस गरेर दया
क्रम भङ्ग भयो गर सोच नयाँ ।।