17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्योलता

कविता शेरबहादुर कार्की October 30, 2015, 3:00 pm

निलो मन

जुन उदाएर

रमाइलो भएको रात

पर्खेर बसिरहन्छ

हरक्षण बिहानीलाई

शुरू हुन्छ बिहान

अखबरका पृष्ठहरू र

कालो चियाको तातो बाफसित

प्रत्येक पृष्ठहरूमा

भ्रष्टाचार, आतङ्क, बलत्कार

र मानवताहीन कार्यहरूको कवरेज

बाफ सिद्धिन्छ प्रत्येक बिहानी मसितै|

दफ्तर-दफ्तर कुदेको पहेलो फाइल

भइदिएको छ हिजो आज जीवन

अनुमोदन र योजनाभित्र चेप्टिएर

जीवनले मध्यान्नको घाम आङ्गमा तापेको छ|

फेरी पनि सॉंझतर्फ लम्कदै

शिशिफसको मिथ भएर

आफै थकित छ म भित्रको म

गोधुली भएर इच्छाहरू

विचारको क्षितिजमा धुलो उडाउँदै आउने गर्छन्

आफू भन्दा ठूलै सपना बनेर

सोध्ने गर्छु आफैलाई यो शुन्यताभित्र

अल्मलिएर आफैसँग

मैले मेरो जीवनलाई कति अनि

किन माया गरेको छु

कि जिवन भन्दा अधिक मृत्युलाई

सुम्सुम्याउन खोजेको छु|

फेरी त्यही निलो मन

यो सॉंझमा छरपष्ट हुन्छन्

अंँध्याराका प्रत्येक धर्साहरूसित

अनि बिलाउँछन्

शुन्यताभित्र.......

अंध्यारोभित्र........|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।