14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उत्तर-आधुनिकता र भारतेली नेपाली नाटक

विचार नवीन पौड्याल October 30, 2015, 2:08 am
नवीन पौड्याल
नवीन पौड्याल

१.आमुख

संसारमा जहिले पनि नयाँ नयाँ विचार, सिद्धान्त र अवधारणाको विकास भइरहेको हुन्छ। नयाँ नयाँ परिवर्तनका क्रममा नयाँ नयाँ विचारधाराहरू जन्मँदै जान्छन् पुराना विचारधारा पनि नयाँ अर्थमा परिवर्तन हुँदै आएको देखिन्छ। वर्तमान समयमा उत्तर-आधुनिकताबारे व्यापक रूपमा चर्चा-परिचर्चा भएको देखिन्छ। ज्ञानका अन्य विधाका तुलनामा साहित्यिक क्षेत्रमा यसबारे धेरै चर्चा सुनिन्छ। यसका जोडदार समर्थन अनि यसका घोर विरोधमा अनेक विद्वानहरूले आफ्नो मत व्यक्त गरेका छन्। औद्योगिक युगको थालनीसितै आधुनिक युगको थालनी तथा सूचना प्रौद्योगिकीको विकाससँगसँगै उत्तर-आधुनिकताको विकास भएको मानिन्छ। संसारमा सूचना प्रौद्यौगिकीको क्रान्तिले वैचारिक परिवर्तन आयो। यो परिवरत्नसँगै साहित्यमा पनि नयाँ नयाँ विचारको परम्पराको विकास भयो। साहित्य अब नयाँ नयाँ रूपमा देखा पर्न थालेका छन्। अब साहित्यिक विधाहरू एकै किसिमका छैनन्। कविता, कथा, निबन्ध, उपन्यास, नाटक अब सालाखाला भई खालि पाठका रूपमा मात्र तयार बनेका छन्। पाठ र यसको निर्माणको पनि नयाँ नयाँ स्वरूप देखा परेका छन्।

उत्तर आधुनिकता कतै साहित्यिक वादका रूपमा कतै शैलीका रूपमा कतै प्रयोगका रूपमा देखिन्छ। कतिले यसलाई आधुनिकताभित्रकै उत्तर रूपमा लिन्छन् भने कतिले यसलाई आधुनिकता- भन्दा भिन्न रूपमा लिन्छन्। उत्तर र आधुनिकता गरी दुई शब्दको समासबाट बनेको यस उत्तर- आधुनिक शब्दले आधुनिक शब्दलाई पनि बोकेको छ। सामान्यतया उत्तरआधुनिक भन्नाले दुईवटा अर्थ द्योतन हुन्छ – १. आधुनिकताबाट मुक्ति र २. आधुनिकता पछिको। यस पछिल्लो अर्थले प्रधानता पाएको देखिन्छ। यसले आधुनिकताभन्दा भिन्न, त्यसभन्दा पर, त्यसको क्षमताभन्दा बाहिर इत्यादि कुरा बुझाउँछ। यस शब्दले पूर्व आधुनिकता र आधुनिकता दुवै प्रकारका अवधारणालाई चुनौती दिएको छ। यस हिसाबले उत्तरआधुनिकताले आधुनिकताभन्दा भिन्नै, अझै आद्योपान्त भएको दार्शनिक र साहित्यिक अर्थ बोध गर्छ। यद्यपि अर्को हिसाबले हेर्दा उत्तरआधुनिकता शब्दले आधुनिकताकै नयाँ विकसित स्वरूपलाई पनि इँगित गरिरहेछ। यो वास्तवमा आधुनिकताभन्दा भिन्नै नभएर आधुनिकता कै उत्तर रूप भन्ने पनि जनाउँछ।

उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Post Independence, post Colonial र Post Graduate सरह Post Modernism प्रयोगमा आएको हो। अँग्रेजीको Post Independent शब्दले स्वतञ्त्रता पश्चात बुझिएसरह यस शब्दको अर्थ आधुनिकता पश्चात भन्ने नै बुझिन्छ। यस हिसाबले हेर्दा उत्तर आधुनिकता शब्दले आधुनिकतादेखि भिन्न वा यसदेखि मुक्ति बुझाउँछ। अँग्रेजीको Post Modernism शब्दको हुबहु अनूदित भएको यस नवनिर्मित शब्दको संरचना भने व्याकरणिक रूपमा त्रुटीपूर्ण देखिन्छ। यो शब्द उत्तरआधुनिक नभएर आधुनिकोत्तर सही हुन्छ। Post Graduate शब्दलाई स्नातकोत्तर प्रयोग भएसरह आधुनिकोत्तर शब्द नै उपयुक्त हुन्छ। यही उत्तरआधुनिकता शब्द नै रूढ भएर प्रयोगमा आएको देखिन्छ। यसका साथै उत्तरआधुनिकताले युग चेतना र प्रवृत्तिपरक चेतना दुवै बोध पनि हुन्छ।

ल्योतार, ज्याँ बुद्रियाँ, फ्रेडरिक जेमसन, फुको, देरिदा आदि चिन्तकहरूले उत्तरआधुनिकतामाथि निकै चर्चा परिचर्चा गरी यसलाई आधुनिकताभन्दा पर वा बेग्लैको अर्थ दिएका छन्। विधामिश्रण, विधाभन्जन, विमिथकीकरण, विपरिचितिकरणदेखि लिएर अनेक विषयवस्तुलाई उत्तरआधुनिकले समेटेको देखिन्छ। उत्तरआधुनिकताका सबैभन्दा प्रखर व्याख्याता ल्योतार हुन्। उनका अनुसार ज्ञान र सूचनाहरू नै शक्तिका केन्द्र हुन्। यद्यपि ज्ञानको व्यापारीकरण पनि हुन्छ। सर्वसत्तावादी, सार्वभौम सत्य, महावृतान्त, महान कथन, मिथक आदिप्रति उत्तरआधुनिकताले अविश्वास व्यक्त गर्छ। उनका विचारका प्रमुख बुँदाहरूमा विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्यकार र आलोचनाको अन्त हुन्।

उत्तरआधुनिकताबारे विभिन्न मत मतान्तर पाइन्छ। कतिले यसलाई पुञ्जीवादी अवधारणा मान्छन् भने कतिले सामान्य युगजन्य चिन्तन ठान्छन्। अबको युगमा धेरै परिवर्तन आइसकेका छन्। मानिसका रहन सहन, चिन्तन, जीवन शैली प्रायः सबैमा आमूल परिवर्तन आएको छ। पहिलेका सत्य ठानिएका कुरा अब सत्य नहुन सक्छन्। अब संसार एउटा ग्रामसरह बनेको छ र विश्वग्रामको अवधारणा अघि आइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका मानिसहरूको मानसिक रूपमा ठुलो परिवर्तन आएको देखिन्छ। यही परिवर्तनको सिलसिलामा उत्तरआधुनिक अवधारणाले बल पाएको छ। बुँदागत रूपमा उत्तरआधुनिकतालाई यसरी बुझ्न सकिन्छ-

क) उत्तरआधुनिकतावाद व्यक्ति वा सामाजिक इकाइहरूको स्वतञ्त्रताका पक्षमा तर्क प्रस्तुत गर्दछ।

ख) यो पूर्णवादी र समग्रताको खण्डन गर्दछ।

ग) यसले महानलाई सामान्य बनाउँदछ।

घ) यसले शब्दकेन्द्रवाद नमानेर अर्थबहुलतालाई स्वीकार्दछ।

ङ) यसले एकता र एकलताको बदली अनेकलता, अनेकता र बहुलता मान्दछ।

च) यसको स्थितिमा कुनै आदर्श र ज्ञानको आधार मानवताको चेतना हुन्छ।

छ) यसले विकेन्द्रता, मुक्तता र व्यक्तिवाद स्वीकार्दछ।

ज) यसले भूमण्डलीकरण, स्थानीयता स्वीकार गर्दछ।

झ) यसले कृतिलाई विधाका रूपमा भन्दा पाठका रूपमा स्वीकार्दछ।

ञ) यसले कुनै जातिको उच्च र कुनैको निम्न संस्कृतिको खण्डन गर्दछ।

ट) यसले नयाँ नयाँ सूचना र प्रौद्योगिकीबाट प्राप्त ज्ञानलाई स्वीकार गर्दछ र व्यक्ति व्यक्तिको आन्तरिक र वैयक्तिक ज्ञानलाई समेत स्वीकार गर्दछ।

ठ) दलित साहित्य, आञ्चलिकता, नारी विमर्शका रचना आदि यसका उपलब्धि हुन्।

यद्यपि उत्तरआधुनिकता कतिपय सन्दर्भमा विरोधाभाषी छ। यसले कुनै पनि कुराको सुस्पष्टता धारणा दिँदैन बरू संशयता दिन्छ। यो एकप्रकारको स्पष्ट नभएको धमिलो (Vague) दर्शन हो। यो अवधारणा पुँजीवादी सोंचलाई सहयोग गर्ने, उनीहरूकै स्वार्थसिद्ध गर्ने कुरा हुन् भन्ने भनाइ मार्क्सवादी चिन्तकहरूको छ। हुन पनि यसबाट कुनै सिद्धान्तको निर्माण हुँदैन बरू पूर्वप्रचलित सिद्धान्तहरूलाई लथालिङ पार्ने काम गर्दछ। यसले कुनै पाठलाई जे जसरी बुझ्यो, त्यही नै सही बुझाइ हो भन्ने स्वीकार गर्दछ जो स्पष्टता छैन।

२. नाटकमा उत्तरआधुनिकताको प्रसङ्ग –

काव्येषु नाटकम् रम्यम भनेझैं साहित्यमा नाटक नै सबैभन्दा कलापूर्ण विधाका रूपमा परिचित छ। नाटकमा बहुविध प्रयोग, कला र तकनिकीगत युक्तता पाइन्छ। नाटकभित्र बहुआयामिक कला कौशल प्रदर्शन गर्न सकिन्छ। यसभित्र अभिनय, गायन, नृत्य, संगीत, ध्वनि, प्रकाश, चित्रकारिता, वास्तुकारिता, सज्जा इत्यादि सबै प्रयोग गर्न सकिन्छ। सुनेर र हेरेर प्राप्त हुने अलौकिक आनन्द नै नाटकको मूल विशेषता र उपलब्धी हो। संस्कृत साहित्यमा नाटकको धेरै अध्ययन, अनुसन्धान, र वर्गीकरण गरिएको छ। यद्यपि पूर्वीय र पाश्चात्य अध्ययनको घेराभित्र नाटक नअँटेर नयाँ नयाँ शिल्प प्रवधि र तकनिकीगत कुराबाट नाटक अघि बढिसकेको छ। अबका नाटक रङ्गमञ्चमा मात्र सिमीत नभई खुला रूपमा पनि प्रदर्शित हुने गर्छन्। सडक नाटक, खुला रङ्गमञ्च, दर्शकबिचबाट पात्रको उपस्थिति, नाटकभित्र नाटक, अनाटक इत्यादि विभिन्न कुराहरू देखा परेका छन्। यसैगरी कथानाटक, ब्ल्याक थिएटर आदि पनि विकसित भएको देखिन्छ। सामान्यतया नाटक दुइ किसिमले आस्वादन हुन्छन् – रङ्गमञ्चीय र पाठनीय। यद्यपि नाटक मञ्चित नै हुनुपर्छ तर पनि जम्मै नाटक मञ्चित हुँदैनन्। यस्ता पाठनीय नाटकहरू पनि नेपालीमा धेरै लेखिएका छन्। नाटकका निम्ति नाट्यपाठ, नाट्यगृह, नाट्यकलाकार, नाट्यसामग्री र नाट्यप्रेक्षक आदिको आवश्यकता पर्दछ। नाट्यगृहलाई प्रेक्ष्यागृह, नाट्यघर, नाट्यमञ्च, रङ्गशाला आदि पनि प्रयोग हुन्छ। नाटककले सधैं नावता समक्ष उपस्थित चुनौतीहरूलाई दर्शकसमक्ष प्रत्यक्ष गराउंदछष उत्तरआधुनिकता द्रवारा प्रभावित नाटकहरूमा दर्शकहरूलाई यी चुनौतीहरूसँग कथावस्तुले मात्र होइन शिल्प सैली अनि अभिनयका माध्यमहरूद्वारा गहराइन्छ।

३. भारतीय नेपाली नाटक

समग्र नेपाली नाटकको कुरा गर्नु परे यसमा उत्तरआधुनिकताको प्रशस्त प्रयोग भएको देखिन्छ। ध्रुवचन्द्र गौतम, सरूभक्त, मोहनराज शर्मा, राजव, सुनिल पोखरेल, डा. अभि सुवेदीका नाटकहरूमा उत्तरआधुनिकताको प्रशस्त प्रयोग भएको देखिन्छ। उनीहरूका धेरै नाटकमा नयाँ शिल्प चेतना, नाट्य प्रविधि, कौशलको प्रयोग भएको पाइन्छ।

यता भारतबाट प्रकाशित नेपाली नाटकका सन्दर्भमा भने उत्तरआधुनिक चेतनाको खोजी गरेमा धेरथोर पाउन सकिन्छ। यद्यपि यसबारे समुचित अध्ययन हुनसकेको छैन। यस विविधमय जटील युगमा लेखिने नाटकमा उत्तरआधुनिक चेतना पाइनु स्वाभाविक छ। भारतीय नेपाली नाट्यप्रदर्शनमा पनि नयाँ नयाँ तकनिकी, पद्धति र प्रविधिको प्रयोग पाइन्छ। नयाँ नयाँ नाट्यचेतनाका साथ नाटकहरू प्रस्तुत भएका पाइन्छ। यस उत्तरआधुनिक मोडमा नयाँ ढाँचा, रूप, प्रयोग र शिल्प चेतना लिएर आएको देखिन्छ। कुनै नाटकमा रङ्गमञ्चबाहेक दर्शकदीर्घाको प्रयोग गरिएको पनि पाइन्छ। नाटक प्रदर्शन भइरहेको बेला दर्शकमध्येबाट कोही जुरूक्क उठेर कराउँदै वा कुनै झगडा देखाउँदै मञ्चतिर गई संवादादि गरेको देखिन्छ। यस्तो देखेर दर्शकहरूले के हुनलाग्यो भन्ने ठान्छन् तथा पछिबाट मात्र त्यो पनि नाटककै अङ्ग रहेछ भन्ने बोध हुन्छ।

४. भारतका केही स्थानबाट प्रकाशित केही उत्तरआधुनिक चेतना भएका नाटककारहरू –

४.१. दार्जिलिङ – भारतमा नेपाली नाटकको विकासमा सबैभन्दा ठुलो योगदान दार्जिलिङको रहेको छ। उत्तरआधुनिक नाट्य लेखनको सन्दर्भमा पनि दार्जिलिङ नै अघि छ। इन्द्रबहादुर राई, मोहन थापा, शरद छेत्री, नन्द हाँगखिम, किरण ठकुरी, सि. के. श्रेष्ठ, ललित गोले, पी. अर्जुन, पूर्ण गुरूङ निरूपम, राजु प्रधान हिमांशु, लक्ष्मण श्रीमल, अरूण प्रकाश राई, शशि सुनाम, तेम्पो लेप्चा, जीवन गुरूङ, सरोज राणा, ओमनारायण गुप्त, इन्द्रमणि दर्नाल, जस योञ्जन प्यासी आदि प्रमुखले यस क्षेत्रमा विशेष योगदान दिएका छन्।

४.२. सिक्किम – सिक्किमबाट पनि नेपाली नाटकको क्षेत्रमा विशेष योगदान रहेको छ। यहाँबाट ध्रुव लोहागन, हेमन्त गिरी, चुन्नीलाल घिमिरे, थमन नौबाग आदि सक्रिय छन्। यहाँको नाटकको समुचित अध्ययन हुनु बाँकी नै छ। सिक्किममा नाट्य लेखनको केही न्यूनता पाइन्छ। ध्रुव लोहागनका खिचडी सम्मेलन, मृगतृष्णा, प्रसवकाल, गरीबको अभिशाप, आँधी आएपछि, तिम्रो दर्शनको अभिलाषी आदि मञ्चित नाटक हुन्। यसैगरी नाटय क्षेत्रमा चुन्नीलाल घिमिरे पनि लागिपरेका छन्। दोष हाम्रै हो, आँधी, पुरानो मान्छे, हाम्रो नाटक, अन्तिम दृश्य मञ्चित भएका छन्। थमन नौबागका कलङ्क, विकृतिको अन्त्य, इमान, कफन, विक्रान्त, हिमाल सञ्जीवनी, वासना, दस्तपर, क,तुरी, दर्घटना, अफिसर, मार्गको खोजीमा, झगडा र सम्पत्ति जस्ता नाटकहरू प्रदर्शित भएका छन्। उनका नाटकमा वर्तमान समसामयिक उपभोक्तावादी युगका सामाजिक सामाजिक विभिन्न पक्षहरूको अभिव्यक्ति गरिएको छ।

४.३. उत्तर पूर्वाञ्चल – उत्तर-पूर्वाञ्चल प्रान्तबाट पनि नेपाली नाटकको क्षेत्रमा ठुलो योगदान पुगेको छ। विशेषगरी असमका विभिन्न स्थानबाट नाट्य लेखन र मञ्चन भएका छन्। प्रेमसिंह सुवेदीले आठ दशवटा नाटक लेखेका हुन् भने हालमा भ्राम्यमान थिएटरहरू लालीगुरास, ब्रह्मपुत्र, सयपत्री जस्ता सफलतापूर्वक सञ्चालन गर्ने विनोद खनाल नाट्य लेखन र रङ्गमञ्चमा अत्यन्त सक्रिय छन् भने अन्यहरूमा राम दाहाल, डम्बरू भट्टराई, पृथ्वीविलास भट्टराई, निशि शर्मा, रामबहादुर सुवेदी, बलदेव बस्नेत आदि पनि संलग्न छन्। पूर्णकुमार शर्मा, विष्णु सोनार आदि हुन्। त्यतातिरका नेपाली नाटकहरूको उत्तरआधुनिक चेतनाको अध्ययन हुनु बाँकी नै छ।

५. भारतीय परिप्रेक्ष्यमा उत्तरआधुनिक नाट्य प्रवृत्ति -

कथाको नाट्य पुनर्निर्माण – सरोज राणाको परालको आगो पार्ट 2, तेम्पो लेप्चाको फ्रन्टियर आदि।

खुल्ला मञ्च नाटक – सि. के. श्रेष्ठको ऐनामा हेर्दा रामसाइँली, सलाम रेलीमाई आदि।

सडक नाटक – अरूणप्रकाश राई, हेमकान्त भण्डारी, किरण ठकुरी, शशि सुनाम आदि।

यीबाहेक अझै अरू प्रवृत्ति र प्रविधिको प्रयोगबारे अध्ययन र अनुसन्धान गर्नु बाँकी नै छ।

६. भारतका केही प्रमुख उत्तरआधुनिक चेतनाका नाटक र नाटककारहरू –

६.१. इन्द्रबहादुर राई – नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले पहेंलो दिन नामक एउटा नाटक पनि लेखेका छन्। उत्तरआधुनिकता चेतनाका सन्दर्भमा पहेँलो दिन नाटकलाई सफल मानिएको छ। नाटककारले यसलाई सोझै नाटक नभनेर नाट्य खेल भनेर लेखेका छन्। प्रस्तुत नाटकलाई उनकै लीलालेखन सिद्धान्तभित्र अँटाएका छन्। यसमा विधाभञ्जन र विधा मिश्रण गरिएको छ। नाटकका रूपमा कता कता कथा, कता कता उपन्यास, कता कता निबन्ध जस्तो बनाइएको छ। पात्रको संवाद र उसको संकेतका विचमा बन्धनी चिन्ह प्रयोग नगरी एउटा स्पेसको प्रयोग छ।

६.२. मनबहादुर मुखिया – मनबहादुर मुखिया सामान्यतया एक सफल नाटककार हुन्। उनका नाटकहरूमा अनि देउराली रून्छ, फेरि इतिहास दोहोरिन्छ, क्रुस टाँगिएको जिन्दगी, तर क्षितिज हाँस्तैन, असत्यम् अशिव् असुन्दरम् आदि नाटक प्रकाशित छन्। यीमध्ये पछिल्लो नाटक असत्यम् अशिवम् असुन्दरम् मा भने आंशिक रूपमा उत्तरआधुनिक चेतना पाइन्छ। यसमा नाटकभित्र नाटकको परिकल्पना गरिएको छ।

६.३. नन्द हाँगखिम - नेपाली नाट्य क्षेत्रमा नन्द हाँगखिम पनि एकजना कुशल नाटककार हुन्। उनका मृत्यु दिवस, युद्धहरू, अभिषेक आदि नाटकहरू सफल रहेका छन्। तिनमध्ये उनको अभिषेक नाटकमा उत्तरआधुनिक चेतना पाइन्छ। यसमा विसंगतिवाद, नारीवाद, मनोविश्लेषण, विमिथकीय, सबाल्टर्न चेतना आदि कुरा पाइन्छन्। 'अभिषेक' नाटकमा मूलतः सत्ता पक्षका मानिसहरूकै समस्यामा कथावस्तु केन्द्रित भए तापनि यसमा तुच्छ, त्याज्य, किनारीकृत दास-दासी वर्गका पात्र-पात्रलाई पनि ल्याएर त्यस्ता पक्षको अध्ययन गरिएको पाइन्छ। अझ यसमा सबल्टर्न चेतना पनि प्रखर रूपमा पाइन्छ। यस अध्ययनका निम्ति दास दासीको भूमिका, गतिविधि, बदलिँदो सांस्कृतिक चेतनालाई दृष्टान्तका निम्ति लिनसकिन्छ। राज्यका शासकवर्ग र तिनका मतियारबाहेक अन्य जाति भने अवहेलित, उत्पीडित, अचिनारू, अस्तित्वहीन, ओझेल, परित्यक्त र किनारीकृत बनेका हुन्छन्। नाटकका दास-दासी पनि यस्तै जातिका रूपमा दर्शाइएको छ। नाटकमा दास-दासीको नामको नामकरणमा नै विशेषता देखिन्छ। उनीहरूको क्षुद्रा, हीना, अधम, नारकी आदि नाम दिइएको छ। उनीहरूको नामबाट नै उनीहरूको सांस्कृतिक, राजनैतिक, आर्थिक, सामाजिक परिदृश्य र पृष्ठभूमि परिलक्षित हुन्छ। देशमा त्यस्ता दास-दासीहरू शासक र उसको मतिहारका स्वार्थका माध्यम मात्र बनेका छन् तर उनीहरू एक पूर्ण मान्छे र प्रजाको दर्जा पाउन सकेका छैनन्। राजदरवारको चलेको कामुक परिवेश र संस्कारले प्रभावित भई उब्जेको अवैध सन्तान रोक्न अधम र हीनालाई जबर्जस्ती बिहे गर्न लगाई सन्तान जन्माउने आदेश दिइन्छ। यद्यपि ती दुई साँच्चीकै दाजु-बहिनी थिए। यस कुरालाई महत्त्व दिँइदैन। दास-दासी ठानिएका मुलुकका ती प्रजालाई राज्यको शासन व्यवस्थाले किनारीकृत गरिन्छ, तुच्छ व्यवहार गरिन्छ। यसबाट ती दास-दासी समाजमा पनि मुलुकप्रति एक प्रकारको प्रतिशोधको भावना जन्मिएको देखाइएको छ। यस प्रतिशोधको भावनाले जगाएका उनीहरूको समाजले अर्कै सामाजिक र सांस्कृतिक चेतना र भाषिक संरचनालाई विकसित र परिवर्तन गर्दछन्। यसमा (क) बिहे गर्नु- कुटाकुट गर्नुको अर्थ दिइन्छ। बिहे गरी सन्तान जन्माउनु र आफ्नो सन्तानलाई पनि पछिबाट दास-दासी नै बनाउनुभन्दा सन्तानै नजन्मोस् भनेर नयाँ भाषिक संरचना र संकथनको निर्माण गरी कुटाकुटको अर्थमा विकसित गरिन्छ। अधम र हीनालाई बिहे गर्नु भनी आदेश दिँदा उनीहरू कुटाकुट गर्दछन्। यसरी नयाँ भाषिक, सामाजिक र सांस्कृतिक व्यवस्थाको नयाँ पुस्तालाई रूपान्तरित गरिन्छ। (ख) मर्नु- बिहे गर्नुको अर्थ जनाउन मर्नु शब्द प्रयोग शुरू गरेका छन्। त्यसै गरी आएको र गएको प्रसङ्गलाई पनि ठिक उल्ट्याइएको छ। नक्कली केश पनि नयाँ सामाजिक संरचना र परिवर्तनको संकेत हो। दास-दासीहरू दिनानुदिन मान्छेका रूपमा नभइ मुलुकको निम्ति मशीन, अमानवीय, अनागरिक बनाइन्दै गरेको संकेत हो। यस्तो परिवर्तनको सोंच राख्ने, नयाँ सामाजिक समस्याको निराकरणको उपाय सोंच्ने र दासप्रथा मुक्तिको नयाँ युक्ति केलाउने पात्रका रूपमा गुरू नारकीलाई उभ्याइएको छ। उसलाई राज्यको वास्तविक इतिहास थाहा छ। सेनापति र राजकुमार यथाले उसको महत्त्व बुझेर विगतका धेरै इतिहासबारे जानकारी लिन्छन्। उ त एउटा चिन्तक र दार्शनिक पात्रका रूपमा उपस्थित गराइएको छ। त्यस्तो समाजमा उजस्ता दार्शनिक, चिन्तक व्यक्तित्वलाई राज्यले चिन्दैन। त्यसैले उ आफुलाई म कोही होइन भन्छ। यी सबै कुरा उत्तरआधुनिक चेतनाका साक्ष्य हुन्।

६.४. शरद छेत्री – शरद छेत्री एकजना सफल र वरिष्ठ नाटककार पनि हुन्। उनका अतिक्रमण, खुब नाच्यो कठपुतली, समयभित्र समयहरू आदि सफल र चर्चित छन्। उनको खुब नाच्यो कठपुतली नाटक पनि उत्तरआधुनिक चेतनामा आधारित छ। यहाँ नाटकभित्र नाटकको तर्जुमा गरिएको छ। सेठको छोरो विक्रम र मुनिमको छोरो दलबीरले ठिक उल्टो भूमिका अर्थात दलवीर सेठ हुन्छ औ विक्रम चाहिँ मुनिमको भूमिका खेल्दछन्। त्यही नाटकमा शोषकको भूमिका खेल्ने मनिम नै शोषक विरोधी कृष्णप्रसादको भूमिका पनि खेलिरहेको छ। वास्तवमा हामी संसारका कठपुतलीजस्तो भई कुनै सांसारिक भूमिका खेलिरहेका छौं। अन्तमा कुनै हत्याराका रूपमा अपात्रले पनि कठपुतलीसरह विक्रम, दलवीर, भावना र स्वयंलाई गोली ठोकी मार्दछ। पात्रहरू लेखकाधीन छैनन्। उनीहरू नाटकको अपात्र कुनै नियोजित पात्र नभई युगौंदेखि हत्याको ठिका लिने समाजको अदृश्य र सर्वव्यापी प्रतिनिधि पात्र हो। उनको अस्सीकै दशकमा प्रकाशित अतिक्रमण नाटकमा पनि उत्तरआधुनिकताको झलक देख्न सकिन्छ। उनले पौराणिक कथालाई नवीनतम अर्थमा अर्थ्याएर राम लक्ष्ण अनि भरतको कथालाई नै विमिथकीरण गरेका छन्। लक्ष्णमलाई उनले रामको वनवा,सको पीडा सहन नसकी भरतमाथि आख्रमण गर्न लगाएक अयोध्याको राजसिंहासनमा रामलाई नै आसिन गराएका छन्। यसरी रामायणको मिथकमाथि पनि विनिर्माण गरी नयाँ चिन्तनको ढोका उघारेका छन्।

६.४. मोहन थापा – मोहन थापा एकजना वरिष्ठ नाटककार हुन्। उनी सन साठीको दशकदेखि नाट्यक्षेत्रमा निरन्तर रूपमा सक्रिय छन्। उनका केही प्रमुख नाटकहरूमा हिजो जस्तै बिहान, आगोको झिल्का, नयाँ सूर्य, नौलो देशमा, सीता वनबास, सावित्री सत्यवान, विदेश किन, डाकु रत्नाकर, सीमा, समाधि, अनि बिहान हुन्छ, साँझको तारा, संस्कार हत्याको आदि ।

६.४. किरण ठकुरी – नेपाली नाटकको क्षेत्रमा किरण ठकुरीलाई एकजना प्रतिभाशाली नाटककारका रूपमा देख्न सकिन्छ। उनी नाटकको लेखन, निर्देशन र अभिनयमा सशक्त छन्। उनको अमर आत्मा नाटक अस्सीको दशकमा भएको गोर्खाल्याण्ड आन्दोलनमा आधारित छ। यद्यपि त्यसमा आन्दोलनले जन्माएको समस्यालाई राम्ररी केलाइएको छ। आन्दोलनमा घटेका घटनाहरूलाई लिई त्यस समयको राजनैतिक आतङ्कवादले मान्छेका सपनाहरू कसरी बिथोलिएका छन्, त्यो देखाइएको छ। त्यसपछि उनको भूमिपुत्र (अमर आत्मा भाग २) नाटकले पनि आन्दोलनपछिको दार्जिलिङको विकृत समाज, व्यवस्थाहीनता, विनिर्मित समाजको स्थापनामाथि प्रश्न उठाइएको थियो। उनका अन्य नाटकहरूमा वन फूल, ओह दार्जिलिङ, शहीद दुर्गा मल्ल, जय महाकाल, एक शहर अनेकौं लासहरू आदि प्रमुख हुन्। उनको जय महाकाल नाटकमा गोलाकार रङ्गमञ्च रहेको र त्यसमा आजको जटिल युगमा मान्छेको द्वैत चरित्रमाथि प्रकाश पारिएको छ। माऩ्छेभित्रै राक्षस र देवता दुवै विद्यमान भएको र मान्छेले सद्गुणलाई अगि लाउने पर्ने नैतिक सन्देश पनि दिइएको छ। उनको नाटक शृङ्खलाको रूपमा एउटै शीर्षकमा रहेको ‛ओह दार्जिलिङ’ मा भिन्ना-भिन्नै कथावस्तु र विषयवस्तु भएको पन्ध्रवटा प्रकरण मञ्चित भएका हुन्। यीबाहेक उनका अनेक एकाङ्की नाटकहरू पनि विभिन्न ठाउँमा प्रदर्शन भएका छन्।

मोहन पुकार- मोहन विष्ट र पुकार गुरूङको नामयुग्मलाई प्रयोग गरी नाटककारका रूपमा रहेका मोहन पुकारको नाम पनि नाट्य क्षेत्रमा आदरका साथ लिइन्छ। उनीहरूको संयुक्त लेखनमा रहेका नाटकहरूमा पनि समसामयिक र उत्तरआधुनिक चेतना परिलक्षित हुन्छ। उनीहरूको मैले काम पाएँ, मुखुण्डा,

६.५. सरोज राणा – परालको आगो पार्ट II नाटक लिएर देखा पर्ने सरोज राणा पनि एक उत्तरआधुनिक नाट्य चेत भएका नाटककार हुन्। यसमा गुरूप्रसाद मैनालीको परालको आगो कथाको विनिर्माण गरेर नयाँ वस्तु शिल्प बुनिएको छ। उनका मायालुको गाउँ,

६.५. लक्ष्मण श्रीमल – नाटक क्षेत्रका अग्रणी लक्ष्मण श्रीमललाई पनि एक सचेत नाटककारका रूपमा मान्नु सकिन्छ। उनको कर्फ्यु, आदि नाटकहरूमा पनि उत्तरआधुनिक चेतना पाइन्छ। उऩको एउटा ‛परिच्छेद पछि एक नाटक’ मा वर्तमान उपभोक्ता संस्कृतिले विकृतिस्वरूप लागु पदार्थ सेवनको चलनको समस्यालाई दर्साइएको छ। पुँजीपतिहरूले धन कमाउन समाजलाई लाभ-हानिको ख्याल नगरी लागु पदार्थको अवैध व्यापार गरेर रोहित जस्ता लागु पदार्थको व्यसनी बनेको छ। एकातिर हाम्रो जातीय अस्मिताको सवाल, हामी राष्ट्रको निम्ति किनारीकृत भएको अवस्था छ भने हाम्रो युवा समाज अर्कै भडकिँदो दिशातिर जाँदै गरेको कुरातर्फ नाटककारको संकेत छ। शिक्षित वेरोजगारीको समस्या, जातीय अस्मिताको समस्या, युवा पुस्ताको लक्ष्यहीनता आदिका कारण हाम्रो समाज जर्जरित छ भन्ने तथ्यलाई नाटककारले इँगित गरेका छन्।

६.६. अरूणप्रकाश राई – कालिम्पोङका एक सशक्त नाटककार हुन। उनले नाटक लेखन, अभिनय र अध्ययनसमेत गरेका छन्। प्रतिभा निकेतन जस्ता नाट्य संस्थाको स्थापना गरेर राई नेपाली नाटकको क्षेत्रमा ठुलो योगदान पुर्याेएका छन्। उनी सडक नाटक, मढ्चीय नाटक सबैतिर सक्रिय छन्। उनका केही नाटकहरूमा मनको मैलो मैलो पखालेर, दुई दिनका जिन्दगानी, इतिहासभित्रको अर्को इतिहास, रात गहिरिएपछि जस्ता नाटकहरू सफलतासँग मञ्चन गरेका छन्।

६.७. सि. के. श्रेष्ठ – कालिम्पोङका सि. के. श्रेष्ठ नेपाली नाट्य लेखन निर्देशन र लेखनमा एक सफल रहेका छन्। उनका अनि भालेमुङ्ग्रो रून्छ, मुगल साम्राज्यमा एकदिन, अन्धाहरूको राम कहानी, मलाई थाहा छ, स्याल पस्ला है शहरैमा, एउटा बालकलाई शान्तिसित दुध चुसाउन, हाम्रो लव स्टोरी, ऐनामा हेर्दा रामसाइँली, सलाम रेलिमाई आदि लोकप्रिय नाटक हुन्। आजको युगमा उत्तरआधुनिकतावादले वहुलतावादी संस्कृतिलाई मान्यता दिन्छ। यसले कसैको संस्कृतिलाई उच्च र कसैको संस्कृतिलाई निम्न भन्ने धारणालाई नै गलत ठानिन्छ। वर्तमान युगमा तर कथित उच्च संस्कृतिले निम्न संस्कृतिलाई कसरी प्रभावित बनाइरहेको छ, त्यसको झलक सिके श्रेष्ठका नाटकहरूमा देख्न सकिन्छ। भारतीय नेपालीहरूले आफुलाई सभ्य अनि सुसंस्कृत देखाउन कसरी आफ्नो निजत्व बोक्ने भाषा अनि संस्कृतिलाई हियाउनमा आनन्द मान्छन् अनि त्यसको परिणति कस्तो हुनसक्छ भन्ने कुरा आफ्ना नाटकहरूका माध्यमबाट व्यक्त गरेका छन्। उच्च संस्कृति अनि सभ्याताले अल्पसंख्यक जाति कसरी किनारीकृत बन्नपुग्छ अनि आफ्नो अधिकारबाट वञ्चित बन्दै अस्तित्व र परिचय संकटको दोसाँधमा पुग्छ भन्ने विचार उनका ऐनामा हेर्दा रामसाइँली अनि भालेमुङ्गो रून्छ जस्ता नाटकहरूमा देखाएका छन्। यसै पनि श्रेष्ठका नाटकहरूका शीर्षक नामकरण पनि उत्तरआधुनिक देखिन्छ। उनका नाटकीय शीर्षकहरूबाट प्रेक्षकहरूले आ-आफ्नै अर्थ लगाउन सक्छन्। रङ्गमञ्च सजावट, ध्वनि र प्रकाशको प्रभावकारी सचेतताको कारण उनका नाटकहरू सफल र सबल लोकप्रिय अनि प्रभावकारी बनेको पाइन्छ।

६.८. पूर्ण गुरूङ निरूपम – खरसाङका पूर्ण गुरूङ निरूपमले नाटक लेखन र निर्देशनमा ठुलो योगदान दिएका छन्। उनका केही प्रमुख नाटकहरूमा जीवन जिज्ञासा, कुन क्षितिजतिर, शीर्षकविहीन, बन्धकी राखिएको सिन्दूर, रातो सूर्यको अपहरण, आगो लागेको क्षितिज, न्यानो घामको स्पर्श, अतृप्त तृष्णा, अमूर्त आकृतिहरू, अग्निशिखा, श्रापित अनुहार, अनिँदो रात विखरित सपनाहरू, दैत्यराज दुर्भिक्ष, आत्मदाह आदि हुन्।

६.९. राजु प्रधान हिमाङ्शु – खरसाङका राजु प्रधान हिमाङ्शु पनि एक कुशल नाटककार हुन्। उनका नाटकमा पनि उत्तरआधुनिक चेतना पाइन्छन्। उनका मञ्चित र प्रकाशित नाटकहरूमा प्यारालाइज जिन्दगीको छेउ भएर, आवास खोसिने परिवेशभित्र, प्रतिभा रोएको शहर, ओम स्वाहा, अवसान आदि हुन्। अवसान नाटकमा आजको मान्छेको अविश्वसनीय चरित्रलाई दर्शाइको छ। युद्धको होडबाजीमा देवता, राक्षस, राजा महाराज, देश आदिका अस्मिता संकटमा परेको कुरा देखाइएको छ।

६.१०. जीवन गुरूङ – दार्जिलिङका जीवन गुरूङ पनि सफल नाटककार हुन्। उनका केही नाटकहरूमा पर्सनल डायरी, च्यातिएको फाइल, सुनको औंठी, जागित्र आदि प्रमुख हुन्। उनको सुनको औंठी नाटकमा पनि उत्तरआधुनिक चेतना पाइन्छ। वर्तमान युगमा मान्छेले बाँच्नुपर्दाका कठिनाइ, पीर, पीडा आवश्यकता आदिलाई राम्ररी झल्काइएको छ। त्यसरी नै उनको सुनका औंठी पनि उत्तरआधुनिक मान्छैकै चरित्रमा आधारित नाटक हो। पैसालाई नै सबै थोक ठान्ने मान्छेको वर्तमान रित्रलाई यसमा पनि हास्यात्मक ढङ्गले प्रस्तुत गरिएको देखिन्छ। प्रचुर पैसा हुँदा मान्छेको इगोको लेबलको गार्फ कसरी उभो उठछ र त्यसका कमीमा त्यो ग्राफ कसरी तल झर्छ भन्ने यथार्थता यस नाटकले वहन गरेको छ। मान्छेको यो इगोको लेबल प्रत्येक परिस्थितिमा कसरी परिवर्तित हुन्छ त्यसलाई पनि नाटकको मुख्यपात्रको माध्यबाट व्यक्त गरिएको छ। यति हुँदा हुँदै पनि नैतिकता प्रेम आत्मीयता जस्ता मानवीय गुणहरू भन्ने निम्न वर्गका मानिसमा भने विग्यामान रहेको देखाइएको छ। यस नाटकमा पनि वर्तमान उपभोक्तावादी संस्कृतिले शिक्षित अनि सहरीय मानिसहरूलाई कसरी खोक्रो बनाएको छ त्यो दर्शाइएको छ।

६.११ ललित गोले – कालिम्पोङका ललित गोले पनि अत्यन्त चर्चित नाटककार हुन्। उनको भानु र पाला अत्यन्त लोकप्रिय र चर्चित नाटक हो। यसमा दार्जिलिङको राजनैतिक अवस्थाबारे तीब्रतम व्यङ्ग्य प्रस्तुत गरी प्रस्तुत गरिएको छ। वर्तमान नागरीय त्रासदीलाई देखाउन खोजिएको यस नाटकमा उत्तरआधुनिकतावादको छनक धेरै ठाउँमा परिलक्ष्यित भएको पाइन्छ। नाटकहरूमा आधुनिक शिल्प शैलीसँगसँगै उत्तरआधुनिक मान्छेहरूको दिनचर्या र मानसिकतालाई पनि पात्रहरूका अभिनयद्वारा प्रस्तुत गरिएको पाइन्छ। उनको भानु र पाला नाटकमा उत्तरआधुनिक युगको उपभोक्तावादी संस्कृतिले प्रभावित वर्तमान दार्जिलिङे अस्थिर राजनितीलाई हास्यात्मक ढ्ङगमा प्रस्तुत गरिएको पाइन्छ। भानु र पाला दुवै आधुनिक उपभोक्तावादी संस्कृतिले प्रभावित पात्रहरू हुन्। दुवैमा राजनैतिक सचेतता हुँदा हुँदै पनि दुवै नै उपभोक्तावादी संस्कृतिका कारण अस्थिर, असुरक्षित द्वैत चरित्रका रूपमा प्रस्तुत छन्।

७.१२ मुक्ति उपाध्याय बराल – सिलगडीका मुक्ति उपाध्याय बरालको अन्तर्प्रेरणा नाटकमा पनि केही मात्रामा उत्तरआधुनिकता पाइन्छ। यसमा शारीरिक असक्षम पात्रहरूको प्रयोग गरी उनीहरूको भावनालाई समेत अभिव्यक्त गरिएको छ। बैशाखीको भरमा खुट्टा चलाउने र नेत्रहीन पात्र-पात्राहरूलाई विषयवस्तु बनाइएको छ। शारीरिक विकलाङ्गता मान्छेका अदम्य इच्छा र प्रगतिको वाधक होइन भन्ने सन्देश दिइएको छ। यस्ता असक्षम पात्रहरूलाई पनि अन्य सबल सक्षम पात्रसरह बनाएका छन्। उनीहरूलाई पनि समाजको मूलधारामा ल्याउने काम गरेका छन् र समानताको भाव अभिव्यक्त गरेका छन्।

७.१३ इन्द्रमणि दर्नाल – एक सशक्त नाटककारका रूपमा इन्द्रमणि दर्नाल पनि चर्चित छिन्। उनका अक्षि-भू, ययाति र कृष्णा!! कृष्णा!! प्रकाशित देखिन्छन्। यीमध्ये उनको कृष्णा!! कृष्णा!! भने सबैभन्दा चर्चित र सफल देखिन्छ। यसमा उत्तरआधुनिकताको चेतना प्रबल रूपमा देख्न पाइन्छ। यसमा महाभारतको मिथकलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरे विमिथकीकरण गरिएको छ। यसभित्र नारीवादी चेतना, विशेष पात्रलाई सामान्य र सामान्य पात्रालाई विशेष बनाइएको छ। रामायणका प्रतिष्ठित र विशेष पात्रका रूपमा रहेका श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, भीष्म पितामह, धृतराष्ट्र आदि अति सामान्य पात्रका रूपमा प्रस्तुत छन् भने द्रौपदी, सत्यभामा, कुन्ती, अम्बा शिखण्डी आदि सामान्य पात्राहरूलाई विशेष दर्जा दिइएका छन्। नारीका दृष्टिमा भीष्म पितामह, युधिष्ठिर, अर्जुन अति सामान्य स्वार्थी र नारीको महत्त्व नबुझ्ने पात्रका रूपमा उभ्याइएका छन्। यसमा महाभारतको कथा नै समेत भिन्नै प्रकारले प्रस्तुत गरिएको छ। सञ्जयले अन्धा राजा धृतराष्ट्रलाई युद्धको प्रत्येक पलको खबर तथा द्रौपदीहरूले भीष्म पितामहको बितेको जवानीको इतिहासको घटनालाई चिहाउन कुनै एउटा चाक्षुस नामक अत्याधुनिक दुर्वीक्षण यञ्त्रबाट अवलोकन गरिएको छ। महाभारतको युद्धको कारणलाई अर्कै दृष्टिबाट हेरिएको छ। यसमा पात्रको नामकरण, तिनका भिन्नाभिन्नै प्रकृति र कार्यबाट विपरिचितिकरण गरिएको छ। नामकरणमा पनि विशेष ध्यान दिइएको छ। सामान्य र प्रचलित पात्रनामलाई उनीहरूका अप्रचलित नामलाई अघि सारिएको छ। जस्तै द्रौपदीलाई कृष्णा, अर्जुनलाई पार्थ, श्रीकृष्णलाई यशोदानन्दन आदिको प्रयोग गरिएको छ। यतिसम्म कि श्रीकृष्णलाई ईश्वरका रूपमा नलिएर धृतराष्ट्र, गान्धारी, दुर्योधन र शकुनीका नजरमा एकजना छली, षडयन्त्रकारी र सामान्य पुरूषका रूपमा उभ्याइएको छ। यसमा पाण्डव शिविरको महानतालाई अस्वीकार गर्दै अन्यको पनि उत्तिकै महत्त्व प्रदान गरिएको छ। नारी, सिपाही, सामान्य मानिस आदिका नजरबाट अर्जुन र उनका दाजुभाइको सर्वत्र प्रशंसा मात्र नभई निन्दा पनि गरिएको छ।

७. उत्तरआधुनिकताको सन्दर्भमा भारतेली नेपाली नाटकको प्राप्ति र उपलब्धि-

उत्तरआधुनिकताको सन्दर्भमा भारतेली नेपाली नाटकको पनि धेरथोर अघि बढेको देखिन्छ। यहाँका नाटकहरूको गहिरोसँग अध्ययन गरेमा यस्ता केही उपलब्धि हासिल गरेको देख्न सकिन्छ-

७.१. अर्थकेन्द्रवादको विघटन र बहुअर्थवादको समर्थन गरिएको छ।

७.२. यताका धेरैजसो नाटकमा जातीय चिनारी र परिचय संकटबाट उब्जेको मनोदशालाई प्रतिविम्बित गरिएको पाइन्छ। ललित गोले, सि के श्रेष्ठ, किरण ठकुरी, शशि सुनाम आदि यसतर्फ सचेत देखिन्छन्।

७.३. कुनै पनि महानता, भव्यता र विशिष्टतालाई अस्वीकार गरी सामान्यकृत गरिएको पनि पाइन्छ। किरण ठकुरी, इन्द्रमणि दर्नाल, शरद छेत्री आदिले यस दिशातर्फ सचेतता अभिव्यक्त गरेका छन्।

८. मूल्याङ्कन र उपसंहार –

भारतबाट लिखित र प्रकाशित नेपाली नाटकहरूमा नेपालका सरह उत्तरआधुनिक चेतना त्यति फैलिएको देखिन्न। नेपालका मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम आदिका तुलनामा भारतका थोरै नाटकका नाटकमा यस किसिमको चेतना पाइन्छ। यद्यपि यसतर्फको अध्ययन हुन बाँकी नै छ। यताका नाटककारहरूले उत्तरआधुनिक चेतना लिएर नै नाटक नलेखे तापनि समसामयिक समग्र नाटकको अध्ययन गरिए उत्तरआधुनिक चेतना प्रखर रूपमा परिलक्ष्यित हुन्छन्।

प्रमुख सन्दर्भ ग्रन्थ –

१. मङ्गलसिंह सुब्बा र अन्य (सम्पा.), खोजी, तेस्रो प्रवाह, अङ्क ७, २००९।

२. कुसुम चतुर्वेदी, नया मानदण्ड, (उत्तरआधुनिक विशेषाङ्क), वर्ष ४, अङ्क ६-७, १९९६-९७।

३. कृष्ण गौतम, उत्तरआधुनिक जिज्ञासा, काठमाडौं, भृकुटी एकाडेमिक पब्लिकेसन्स्, २०६४।

४. डा. गोविन्दराज भट्टराई, उत्तरआधुनिक ऐना, काठमाडौं, रत्न पुस्तक भण्डार, २०६२।

५. डा. राधा शर्मा (सम्पा.) नेपाली भाषा र साहित्य समृद्धि दार्जीलिङको योगदान, दार्जिलिङ, सन्त जोसेफ्स कलेज, २००७।

पेदोङ सरकारी महाविद्यालय

पेदोङ, कालिम्पोङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।