19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झण्डाको गीत

कविता वासुदेव अधिकारी October 30, 2015, 3:14 pm
वासुदेव अधिकारी
वासुदेव अधिकारी

ए, सिँगान नपुछ यस झण्डाले

यसलाई कोटको खल्तीमा पनि नहाल

दरो गरी समाऊ

फररर फरर फहराऊ

यसलाई चम्किलो

झन् झन् चम्किलो बनाऊ

झण्डा कमिज होइन

जो लगाएर फाट्छ

झण्डा फरिया होइन

जो लगाएर मैलिन्छ

र, माटोमा झरेर बिग्रिन्छ

यसलाई कोठामा बन्द नगर

बस्तीहरुमै लैजाऊ

मन मनमै सजाऊ

माटोकै वास्ना सुँघाऊ

ए, यो झण्डाको शानलाई किमार्थ नझुकाऊ

हिजो मैलो जस्तो लागे पनि

आज सुकिलिदैछ यो झण्डा

यसमा माटोको महक छ

राष्ट्रियताको चहक छ

मुलुक बनाउन

मुलुक बचाउन

अहिले यही झण्डा बोक

न्याय

समानता

समृद्धि

र एकता

सबै अटाउन सक्छ यस झण्डामा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।