मेरै सामुन्ने मेरा सपनाहरु
मलेवाका जोडी जस्तै उडी उडी
मेरै सामुन्ने मुट्ठी उठाई
पहिचान र सामर्थ्यको सुत्र मागी रहेछन् |
म टुलुटुलु हेरी रहेछु,
मेरा सपनाहरु मलाई घेरिरहेछन्,
- मेरो बिपना देउ
- मेरो कल्पना देउ
मेरा पनि सपनाहरु उदाइसके,
मेरा पनि सपनाहरु बाँड्ने
तौर तरिकाहरु अज्माइसकें
- अब मेरो बिपना देउ
- मलाई मेरो कल्पना देउ
म फगत म हुनुको अजिब बाँची रहेछु,
सडक भरि मेरा सपनाहरु
थरि थरि आफ्ना आफ्ना सपना बोकेर दौडीरहेछन्,
साउने झरीको छप्ल्यांगमा पौडीरहेछन् |
म हारुं कि जित हासिल गरूँ,
बस् मलाई उस्तै चमक चाहिएको छ
आगत र बिगत के भयो
खोइ थाहा छैन -
अहिले निधारमा शृंगार पाइएको छ |
मसंग छुटेका मेरा सपनाहरु
मसंग सपनाका बिपना मागी रहेछन्
सपनाका कल्पना मागी रहेछन् |
जति बेला म गाउँ बेशीको
उकाली ओरालीमा
आली आलीमा
सपना छर्दै हिंड्दथें
लाग्थ्यो मेरा सपनाका बिजहरु
सूर्यमुखी झैँ मुस्कुराउने छन् |
माहुरी झैँ चारै दिशा उडेर
मह बोकिल्याउने छन् |
ती सपनाहरुको छुट्टै संसार हुने छ
त्यहीं कतै गुल्बकवाली फुल्ने छ |
म त्यो बगैंचाको माली बन्ने छु |
जब मेरा सपनाहरुले अर्को बाटो मोड्यो
सपनाहरुले मलाई छोडी हिंड्यो
मध्ये रातमा झलमल्ल घाम देखें
तब म
यो पो त मेरो सपना
यो पो त मेरो जपना
यो पो त मेरो तिर्सना
भन्दै हिंडे, त्यो दिवास्वप्नमा रमाएँ |
आज म जब
माला उन्न खोज्छु
सपनाहरु च्याम्पटि भै उच्छीट्टीन्छन |
जब म आली आलीमा
कोदाली बोकेर शाउन खोज्छु
ती सपनाहरु परक्क नारा झैँ बटारिन्छ्न् |
अश्रांग - ७, गोरखा, हाल :- काठमाडौँ |