18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेमको बबन्डर आधीबेहरी लिएर

कविता पञ्च विस्मृत November 2, 2015, 3:52 pm

वर्षौँ पहिले हराएको छोरो घर फर्किए जस्तै

आत्मीयता र प्रेमको पहिरो लडाउदै मनको भीर पाखाहरुमा

सिङ्गो बस्ती उचाल्दै र थेचार्न

गाउँमा अँट्न नसकेको पाउ पाइताला

ए भनिदेऊ न सप्तकोशी

कि उ आउदैछ, साथमा प्रेमको बबन्डर आँधीबेहरी

लिएर आउदैछ

सम्झाइदेऊ

कि समाएर राख्नु मनमा स्यूरेको प्रतीक्षाको फूल, उडाउला

सम्झाइदेऊ कि प्रेमले सुवासित पछ्यौरी,

प्रेमको सगरमाथा

चढ्न नपाउदै उडाउला

पखालेर लैजाला पानीले उनको अनुहारको आराध्य सौन्दर्य

पखालेर लैजाला उनको शरीरको प्रिय महक

सुनाइदेऊ

कि नमुस्कुराइदिनु असामयिक

वर्षौदेखि साँचेर राखेको मुस्कान, एउटा टीठमा

बोलिनपठाउनु साँचेर राखेका कुराहरु पनि

उकुसमुकुस हुँदै गएको समय देखेर, डरमा

हर दुःखका पातपतिङ्गरहरु उडाउदै

ढाल्दै र लतार्दै आँगनमा मौलाएको अपशकुनको घर

र डुबानमा जाक्दै जिन्दगीको रङ्गहीन पाटो

बरु, स्मृतिमा मेटिन खोजेका गोरेटाहरु पहिल्याउदै

र ती गोरेटाहरुमा अँट्न नसक्ने सम्झना

कुनै बन्द, हडताल

र नाकाबन्दीले छेक्न नसक्ने

जिन्दगीका रङ्गहरूको कारखाना नै उचालेर ल्याउदैछ

अझ, हरेक साल सहकाल बोकेर फर्किने बादल जस्तो

अनन्त गन्तव्य सकेर, आकाशका कुनै ‘इन्टरसेक्शन’हरुमा रोकिदै

यता, विभिन्न ‘ट्राफिक सिग्नल’हरु झेल्दै

र ‘यूटर्न’ मारेर फर्किएको सडक जस्तै

ए सप्तकोशी,

सुनाइदेऊ मेरी उनीलाई

कि उ छातीभरि अजम्मरी माया बोकेर आउदैछ

सम्झाइदेऊ

कि मात्र औँला भाच्दै बस्नु

नयन बिच्छ्याएर

मूल बाटोमा

बुढ्यौलीको खर्पनमा जवान सपनाहरु बोकेर

र भोलि हिँड्ने बाटोका लागि जवान सपना फूल्ने

प्रकृति नै उचालेर

उ फर्किँदैछ परदेशबाट

पाइलाभरि सफलताको पहाड उक्लिने शाहस लिएर

र लिएर देशको बाँझो जमिन आबाद गर्ने

एउटा दुर्दम जोश

किनकी,

यसपाली त जसरी पनि धुनुछ

प्रेमको रङ्गले

परदेशमा लागेको गुलामी मैलो ।

केएसए

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।