18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आज पनि कथा लेखिएन

कथा पुण्य खरेल November 2, 2015, 4:00 pm
पुण्य खरेल
पुण्य खरेल

अहा ! आज साउन सोर गते ! खोइ त ? महिनामा एउटा कथा त लेख्छुलेख्छु सम्झेको होइन ? बैसाख, जेठ, असार समेत सकिएर साउन पनि अजा सोर गते ! अझै छैन । कुनै विषय नै आइपर्दैन । यसरी दिन र महिना गर्दै वर्ष नै सुइत्त चिप्लिने हो कि क्या हो ? एउटै कथा नलेखीकन अठसठ्ठी साल कट्टी हुने हो कि क्या हो ! आज चाहिँ म एउटा कथा लेख्छु–लेख्छु । जबर्जस्ती लेख्ता कथा विकामे हुन्छ भने होस् ! सङ्ग्रह निकाल्ने परिएछ भने यसलाई छाटुँला ।’– यस्तै सम्झिएर म कथा लेख्न बसें ।

घरमा गजधुम्म बसेको मलाई आखिर अब दिनभरिकै काम केही नाईं । आजको दिन म अब त्यो ‘गरिमा’ महिला विशेषाङ्क पनि छुन्न, ‘जुही’ प्रश्रित विशेषाङ्क पनि पल्टाउँदिन । गिओर्गी प्लेखानोभको ‘कला के सामाजिक उद्गम’ पढ्न थालेको थिएँ, त्यसलाई पनि अब कथाको बिट नमारुन्जेल म छुँदै छुन्न । हेरौं त अब कथा लेखिँदो रहेछ कि रहेनछ ? मैले सोचें ।

विहानको खानापछि मैले विस्तरामाथि नागासन जमाएँ । सजिलोका लागि एउटा सिरानी छाती र पेटको बिचमा पर्ने गरी चेप्ट्याएँ । राम्रो लेख्ने कलम तयार नै थियो, कापी त झन् नहुने कुरै भएन । कापी पल्टाएर, कलमको बिर्को त्यसैको पछाडिपट्टि टोपी लाइदिएर म तम्तयार भएँ ।

मेरा कानमा भान्सा कोठामा बुहारीले थालबटुका मस्काएको, धारा खोलेको ठोकिरहे थियो । बाहिर बरण्डामा नातिनी ता–ता–तु–तु गर्दै गुद्रुक्क गुद्रुक्क खेल्दै गरेको पनि ठोकिँदै थियो । मेरा हातले कापीमा, एउटै अक्षर लेख्ने सुर ल्याएनन् । मेरा मनमा छुस्स सम्झना पस्यो– ‘गाईलाई थलाबाट निकालेर पर्तिर चौरमा लगेर खुट्नु पर्छ अनि आएर लेख्न बस्नु पर्छ । त्यसो गरे, ‘गाई थलाको थलैमा छ, त्यति त निकालि दिएको भए हुने !’ भन्ने गल्फत्ती सुन्नुपर्र्दैन । यन्त्रवत् रूपमा हातले कलमको पछाडिको टोपी अगाडि पट्टि पारें अनि त्यही कापीमाथि राखेर गाईका थलातिर लागें म ।

गाई खुटेर आएँ र अघिकै आसनमा जमें । कापी तयार, कलम तयार, हात तयार, आँखा तयार तर कलमले केही लेख्तैन । पहिला–पहिला कथा लेख्ता धेरैजसो त म शीर्षक दिएरै लेख्न थाल्थें । कति पल्ट चाहिँ कथा लेखिसकेर अनि पछिबाट शीर्षक राख्थें । अझ, मलाई थाहा छ, तीन÷चार कथाको त साथीहरूलाई सुनाएर, पढ्न दिएर, त्यसपछि उहाँहरूका सल्लाहबाट शीर्षक बनाइएका कथा पनि छन् । आजको स्थिति भने निकै बेग्लै छ, न कथाको शीर्षक छ, न कथानक छ, न त कथाको कुनै घटना नै । सिरिप् कापी छ, कलम छ, हात छ, आँखा छन् । यति भएपछि एउटा न एउटा कथा लेखिन्छ भन्ने घमण्ड छ, त्यति हो ।

मन त पट्ट बाँझो जस्तो भएको रहेछ । कसरी लेखें आजसम्म चार–पाँच कोरी कथा मैले ? छक्क परें म । कलम बन्द गरें, कापी बन्द गरें, उठेर बसें । नातिनी खेल्दै–खेल्दै भित्र पसी र कापीमाथिको कलम तानी । दुई हातले बिर्को खोलेर जतातता कारकुर कोर्ने भएकी छे ऊ । मैले उबाट कलम फुत्काउन कोसिस गरें, कलम बोकेर अर्को चल्लाबाट बच्न कीरो बोकेर भाग्ने कुखुराको चल्लो झैं बाहिरतिर भागी । म बिरालो झैं पछिपछि गएर फकाएर मागें र कलम ल्याएँ । उ पनि पछिपछि आई । त्यतिबेलै श्रीमती आइपुगिन्– “होइन, तपाईं त फेरि ओछेन नै माड्दै ? त्यति त्यो माथि विनोदलाई भनिदिएको भए यो तर्कारी लाउने ठाउँ जोतिदिन्थ्यो कि ? कि आफैं खन्नू ! म त सक्तिन त त्यत्रो बाँझो पल्टाउन ! तर्कारी बिना त भात रुच्तैन त ! फेरि थोरैले पुग्ने भए पनि त ! कति बसेर पनि नअघाएको मान्छे ! ... त्यो बिजुली र पानीको बील तिरिदिए पनि हुने ! आइमाईलाई भन्दा त लोग्नेमान्छेलाई हिड्न सकस पर्दैन नि ! ...” कामका बिङ्गा रेलो भएर छरिए वरिपरि । मैले पौराणिक कथाहरूमा कसैका तपस्या भङ्ग गर्नका लागि हुने अनेक छल र नखराहरू सम्झें । म सुनेको नसुन्यै गरेर कथा लेख्ने तपस्यामा लीन हुन कोसिस गरें ।

फोन टिरिङरिङ्रिङ् बज्यो । उठेर गएर– “हजूर !” भनें ।

“मैले त नराम्रो समाचार पो सुनाउन लागेको !” उताबाट चिनेको आवाज बोल्यो ।

“नराम्रो समाचारको त कुनै अनिकाल छैन यता । त्यसकारण नराम्रो त भरिसक्के नसुनाएर राम्रो चैं सुनाए पनि त हुने नि ! ... कहाँ के भएछ ?” मैले प्रश्न तेस्र्याएँ ।

“हाम्रै सङ्गठनका नि हौ ? के अरे ? नसिम ! नसिम र उहाँकी श्रीमती हिजो साँझमा आउँदै रहेछन् ! भुट्भुटेमा, सल्लीपुरमा आइपुग्दा त ट्रकसँग ठोक्किएर दुबै जना ठाउँको ठाउँ भए अरे ! एघार बजे सागर पुर्याउने अरे । त्यहाँ खवर भैसक्नु पनि पर्ने अघि नै ... !” उताको आवाज आयो । बोल्ने मान्छे गङ्गा थिए ।

“नसिम र उनकी जहान त एक्सिडेन्टमा परेछन् नि ! बितेछन् ! कस्तो अचम्म !” मैले श्रीमतीलाई भनें– “मलामी जानुपर्ने पो भो !”

“हिंड्न खुट्टा उचालि राखेका मान्छेलाई ठिक्क फेरि कस्ले भन्यो ? पैसा पनि कतितिर पुर्याउने हो ? भाडा तिर्न, मरुमारुमा सिधा ओसार्न, बिहे–बर्तमानमा, पूजा र पुराणमा ! केले पुर्याउनु होला ? ... दौडिनू अब दौडिनू ! दौडिदत्तलाई दौडिने काम आइनै हाल्यो ! आज दुई घन्टा घरमा बस्ता सास थुनेको थियो होला !” श्रीमतीले गन्गन् पोखिन् ।

“के ? नजानू त मलामी ? म नगई नहुने, नहिडी नहुने बाहेक कहाँ त्यस्सै हिंडेको छु त ? ...” मैले नैतिक प्रश्न राखें । प्रश्न राख्तै गर्दा “आज पनि कथा लेख्न त नापियो !” भन्ने दुःखेसो पनि मनमा आउँदै थियो । मनमनमा म सम्झँदै पनि थिएँ– “आज मलामी गए पनि म कथाकै वारेमा चिन्तन गरिरहन्छु । कथाको कथानक, घटनाका मिठा र प्रभावकारी सम्वादहरू निक्र्योल गर्छु, कथालाई एकसरो, दुईसरो मनमा ठिक्क पारिराख्छु, भरे या भोलि जब कलम समाउँछु नि अघिको जस्तो अड्किन नदिईकन कथाका अक्षरहरू, शब्दहरू ह्वारार्र कापीमा खन्याउँछु” सम्झिँदै सम्झिँदै सर्टमा हात घुसारेँ, पेन्टमा खुट्टा घुसारें । चप्पल नै लगाउने सोचें– ‘उहाँ भरे, खोलामा जुत्ता बिनाबित्थाको झन्झट हुन्छ’ ।



नसिमको मलामी जान घरबाट निस्किएँ । श्रीमतीजीका भनाइ पनि सम्झिँदै थिएँ । अन्तको कुरा त्यस्तै–उस्तै हो, मलामी जाने कुरामा चाहिँ उनको कहिल्यै बाधा–विरोध हुँदैन । कवि गोष्ठी भनेपछि चाहिँ उनलाई झोंक नै चल्छ । तर आज धन्न कवि गोष्ठी चाहिँ परेन । सम्झिँदै म चोकमा आइपुगेर बस चढें । बसभित्र चारैतिर आँखा डुलाएँ । मान्छे टनाटन छन् । एउटा पनि खाली सिट छैन, बरु पाँच–सात मान्छे उभिएरै मलाई पो ताक्तै छन् । टिकट काट्ने मान्छे एउटा हातमा सय, पचास, बीस, दसका नोटहरूलाई सर्याएर चेपेको हात लिएर आए । मेरा अगाडि उभिए र मलाई सोधे– “कहाँ सम्म ?”

“गङ्गाजीसम्म !” मैले भनें ।

“नेपालमा केको गङ्गाजी–जमुनाजी ! कहाँ जाने ? भाडा दिनू !” उनले भने ।

मैले गोजीबाट पैसा निकाल्न खोजें । ओहो ! गोजीमा पैसा त नास्ति । सर्ट बदल्दा, पैसाको यादै गरिएन छ । मेरो अनुहारमा एक्कासि औंसीको रात घोप्टियो होला । मेरो बडी ल्याङ्ग्वेजले शायद मुखले बोल्ने सबै ल्याङ्ग्वेज बोल्यो क्याहो, कन्डक्टर पनि गम्भीर बने । एक्कासि म जिली न गाँठीको पासोमा अल्झिएँ । यस पासोबाट फुत्किन कोही छिमेकी, कोही चिनारु छन् कि गाडीभित्र ? मैले याचकका आँखाले बसभित्रका मान्छेका अनुहारहरू छाम्दै छाड्दै, छाम्दै छाड्दै गरें । अहँ ऽऽ कोही छैन । बस अहिलेसम्ममा दुई वटा स्टेसन नाघेर कुद्दै छ । जतिजति गाडी अगाडि कुद्दै छ त्यतित्यति पासो कसिँदैछ, त्यतित्यति मेरो अनुहारको शुक्लपक्ष भाग्दैछ, कृष्णपक्ष भरिँदैछ जस्तो लाग्दैछ मलाई ।

मैले सर्टको गोजी छाम्न छाडेर पेन्टका गोजी छामें, दायाँ–वायाँ, अगाडि–पछाडि, बाहिरी गोजी, भित्री गोजी, सब गोजी छामें । फेरि सर्टको गोजीमा हात पुर्याएँ । रिसाहा टिचरको होम वर्क छुटाएको सोझो विद्यार्थी जस्तो भएँ म । मेरो वाक्य घाँटीमा फुरौला अट्केझैं ट्याप्प रोकियो ।

कन्डक्टरले भने– “मलाई यो कुनै नाटक देखाउनु पर्दैन दाइ ! मलाई बीस रुपियाँ भाडा दिनुपर्छ ! वास् ! कि उत्रिने यहीं ?”

सकस् पर्यो मलाई । हाम्रो देशमा सकेसम्म बसको भाडा नतिरी यात्रा गर्ने महामारी फैलिएकै बेला पनि आफूलाई त्यस रुढाले छोएको थिएन । हाम्रो देशका अधिकांश युवा बसमा भाडा तिर्नुलाई युवकत्वको नाश ठान्ने पनि छन् । यसप्रति फरक सोच राख्ने आफैं पो आज फेला परियो । लाज मानेर काज चल्ने वाला थिएन अब । मैले मुख फोरें– “भाइ ! हतारले सुइत्तै भुलिएछ, सर्ट बदल्दा भाडा बोक्न ... ...”

मैले बोलिसक्न नपाई कन्डक्टरले अलिक होच्याएर भने– “बरु त सिधै भन्नू नि ! “भाडा नतिर्ने !” वहाना बनाउनै पर्दैन । तपाईंहरू जतिका भलाद्मी पनि बिना भाडा यात्रा गर्ने ? बस कसरी चल्छ ?”

मेरो लाज र शरमले पनि बिदा लिने पर्यो । आखिर लाज ढाक्ने लुगाहरू जबर्जस्ती अर्काले च्यातिदिने हो भने शरम मानेर कोचाहिं आफूलाई खुम्च्याएर राखिरहन्छ र ! मलाई त्यस्तै स्थिति आइपर्यो । आखिर जे कुरा छोप्न खोजिएको थियो त्यो त छ्याङ्ङ खोलिई सकेकै थियो । बसभित्रका खलिकप्पुर यात्रुका आँखा र कान मतिर एकोहोरिएकै थिए । मैले पनि कन्डक्टरलाई जवाफ लगाएँ– “भाइ ! तिमीलाई त्यसो भन्दा मात्र चित्त बुझ्छ भने त्यसै भनेको सम्झ ! होइन भने ‘भाडा तिरेर मात्र बसको यात्रा गर्नू ! किनेर मात्र पत्रिका पढ्नू ! टिकट काटेर मात्र मनोरञ्जन गर्ने ठाउँमा प्रवेश गर्नू !’ भन्ने मान्छे हुँ म । मलाई थाहा छ, तिमी नै पनि आज तिमीले सङ्कलन गरेको सबै रूपयाँ मालिकलाई बुझाउँदैनौ । तिमीले आज सङ्कलन गरेको दुई हजार–पाँच हजार जति हुन्छ सबै मालिकलाई बुझाउँछौ ? अहँ ऽ पन्ध्रसय–चार हजार बुझाएर अरु आफैं लफन्ड्याउँछौ । तर म त्यसो गर्नु हुन्न भन्ने मान्छे हुँ, बुझ्यौ ? मान्छेबाट कैलेकाहीं भूल हुन्छ । म भोलि तिमीलाई भेटेर तिम्रो बीसको तीस तिरुँला । तर तिम्रो यो अपमानको दण्ड तिमीले तिर्नुपर्छ । अझ कन्डक्टर गर्ने नै हो भने त तिमीले मान्छे चिन्न पनि सिक्नुपर्छ ।” म यता शब्दमा कन्डक्टरलाई जवाफ लाउँदै पनि थिएँ उता यथार्थमा सारा यात्रुमा आफ्नो स्पष्टीकरण पेश गर्दै पनि थिएँ ।

कन्डक्टर लच्कियो पनि । कुण्डले–मण्डलेका पाखुरा देखेर लच्किने कन्डक्टर मेरा शब्दको तौलले लच्कियो होला । सबै यात्रुहरूको सद्भाव पनि मैले आफ्नै भागमा पारें जस्तो लाग्यो मलाई ।

म सागरमा पुगें । शवहरू ल्याइपुर्याएका रहेनछन् । मैले नसिमका घर जाने सोच नै बनाइन, किनभने, म भ्याउँदैन थें । मैले गङ्गालाई फोन लगाएँ । शवयात्रा सुरु भैसकेछ । पाँच–दस मिनेटमा आइपुग्ने रहेछ ।

म त्यहीं एकातिर उभिँदा–उभिँदै अघिअघि ट्रकमा शवहरू, पछाडि दुई–तीन वटा बस र भुट्भुटेको कुँडुलो आयो । कङ्कला शब्द गरेर रोएको आवाज र एकोहोरो शङ्खको आवाजले शोकमया बन्यो वातावरण त्यहाँको । मैले कविशिरोमणिको “आँसुका दहमा पसी नुहाउँछ त्यो पानी रुचाउन्न त्यो” सम्झें ।

जिल्लाका धेरै साथीहरूसँग भेट भयो । “के लेख्तै हुनुहुन्छ ?” साथीहरूले नबिराईकन सोध्नुभयो । म झसङ्ङ भएँ । अहा ऽ कापी तयार, कलम तयार, आँखा तयार, हात तयार तर एउटै अक्षर नलेखिएको सम्झें । आज कथाका वारे चिन्तन गर्ने कुरा पनि सम्झें । साथीहरूलाई जवाफ त दिएँ नै तर मैले के जवाफ दिनुपर्ने थियो, उचित जवाफ दिन सकिन भन्ने लाग्यो । मलाई त्यस्सै आफ्नो शिर ढलेजस्तो पो भयो ।

मलामीबाट फर्कंदाको सङ्कट छँदै थियो । फर्कनका लागि पनि गोजीको हालत त अघिकै हो । त्यो अप्रिय स्थितिलाई दोहोरिन दिनु हुँदैनथ्यो । त्यसैले मेरो चिन्ता बीस–तीस सापटी खोज्ने कुरामा वा आफ्ना तिरका भुट्भुटेको साथी खोज्नु थियो । भुट्भुटे त मिलेन । मैले एक जना साथीसँग पचास रूपैयाँ सापट लिएर ढुक्क भएँ । नदी किनारमा उभिएको सप्पै समय मैले भेटघाट र बीस–तीस रुपियाँको चिन्तामा बिताएँ । कथाका वारे के सोच्नु र ! के गम्नु र ! त्यो दुई–दुई वटा लासको मुटु चिर्ने दृश्य, ती आफन्त जन, परिवारजनको मृतकमाथिको अदम्य शोक, सम्झाएर नसकिने स्थिति, त्यस दर्दनाक घटनाका कारण प्रभावित भई उपस्थित भएको जनसागर, त्यसले नै मनलाई कता लफन्ड्यायो, कता बेर्यो !

आखिर म तीन बजेतिर फर्कने मलामीहरूकै जमातमा मिसिएर नदी किनारबाट निस्किएँ । आएँ वर, बस उभिने ठाउँमा आएर बस पर्खन थालें । मलाई “त्यो अघिकै बस आए हुन्थ्यो” भन्ने पनि मनमा लाग्दैथ्यो । कस्तो संयोग ! साँच्चै, त्यही बस आएर रोकियो । म चढें ।

मैले कन्डक्टरलाई –“अघि आउँदाको भाडा पनि काट र तिमीले गरेको अपमानको बदला पनि तिर !” भनेर पचासको नोट दिएँ ।

किच्च हाँस्तै उनले बीस रूपैयाँ राखेर तीस रूपैयाँ फिर्ता गरे ।

“अघिको भाडा पनि काट !” मैले भनें ।

“भैगो दाइ ! गाडीमा भाडा नतिर्नेहरूले हैरान पार्ने भएकाले मैले त्यस्तै ठानेर गल्ती गरें । कैलेकाहीं यस्तो गल्ती हुनपुग्छ ।” उनले भने ।

म चार बजेतिर घर पुगें ।



कथा लेखीछाड्ने घमण्ड बेलुकाको खानापछाडि पनि दोहोरिने पर्यो । साँझ साढे आठसम्म त बिजुली लोडसेडिङमा परेर गायब थियो नै । त्यति बेलासम्म मैनबत्तीको घुर्मैलो उज्यालोमा आँखाको दुःख बेहोरें । पैलापैला त्यस्तै उज्यालोमा पनि मज्जाले पढिन्थ्यो । हाम्रा इन्द्रियहरू पनि त्यस्सै मातिँदा रहेछन् । अचेल लालटीनको उज्यालोमा, मैनवत्ती–कुपीको उज्यालोमा पढ्न–लेख्न गरियोस् त, अहँ ऽऽ । जेहोस्, आठ बजेतिर खानासाना खाएर म कथाका विषयहरू गम्न बिछ्यौनामा पल्टिएँ । सानी नातिनी भने मैले त्यसरी पल्टिएको देख्नै हुँदैन । आएर पिठ्यूँमा, भुँडिमा घोडा चढेर मलाई छच्–छच् गर्न थालिहाल्छे । अहिले पनि आएर त्यसै गर्न थालीहाली । बुहारीले चुलो नउठाएसम्म म नातिनीबाट पालो पाउँदिन । दिउँसो सुतेकी छैन भने त अलिक छिटो सुत्छे । आज त दिउँसो सुतेर भर्खर उ ताजा उठेकी छे ।

श्रीमतीजी विछ्यौनाको भित्ताभागमा खुर्रर्र–खुर्रर्र घुर्न लागिन् । उनलाई बेलुका छिटो निन्द्रा लाग्छ । त्यो राम्रो कुरा हो । साढे आठबजे त बत्ती आउला ! आउला कि पिलिक्क बलेर फेरि झ्याप्प जाला ! ठेकान छैन । बिजुलीको सुविधा त के भन्नु र निभाउने तालिकामा निभ्छ–निभ्छ तर आउने तालिकामा भने भरपर्नु हुँदैन । भर्खर–भर्खर बीस–तीस वर्ष विजुलीको उज्यालो बाल्न पाएका हामी नेपालीलाई बिजुली भनेकै बिजुली चम्केजस्तो मल्याक्–मिलिक् हो भन्ने परेको छ । नियमित बलिरहने त कहाँ हुन्छ त अनि ? यस्तै भान परेको छ ।

जे होस् ! साढे आठ बज्यो । चार–पाँच मिनेट ढिलो गरेर भए पनि बिजुली बल्यो । पङ्खा पनि फररर घुम्यो । चखिलो बलेको बत्ती मज्जाले शीतल छर्नेगरी घुमेको पङ्खा तीन–चार मिनेटमा सल्याक्–सुलुक् भोल्टेज घटेर टीभी त झ्याप्–झ्याप् निभ्न थाल्यो, मधुरो उज्यालो दिन थाल्यो बत्ती, बल्ल बल्ल लरक्क–लरक्क घुम्न थाल्यो पङ्खा पनि । थाहा छ अब दस एघार बजेसम्म हालत त्यही नै हो ।

जेहोस् ! मधुरो उज्यालोमा शीतलता दिन नसक्ने हुतिहारा पङ्खामुनि नेपाली नेता मुनिका निरीह जनता झैं असहाय बसें म । साउनको गर्मी कुँडुलिएर मेरै शरीरमा धुर्रिए झैं छ । बल्लबल्ल नातिनीलाई बुहारीले लगिदिइन् र बीसको उन्नाईस भएको छ । मैले फेरि कथाको वाचा पूरा गर्न कलम उठाएँ, कापी खोलें ।

मनमा दिउँसोका दृश्यहरू गलफत्ती गर्दै आए । नसिम र उनकी पत्नीका जलिरहेका चिताहरूको दृश्यले मलाई जीवन केही होइन, कुनै न कुनै वहानाले खरानीमा परिणत हुने हो भनेर पलायन हुन मनाउँदै थिए भने साथीहरूका वारवार दोहोरिएका “के लेख्तै हुनुहुन्छ ?” भन्ने प्रश्नले कर्तव्यमा भेडो बन भनेर सम्झाउँदै थिए । बसमा कन्डक्टरसँग चलेको गलफत्ती पनि उसैगरी मनलाई रिङाइरहेको थियो । हातमा एउटा कलम कापी ताकेर उजाइएको थियो । कलमबाट कापीमा ह्वारार्र खन्याउन खोजिएका अक्षरहरू, शब्दहरू केले केले छेकेर एउटै झर्न सकेका थिएनन् । म निराश त थिइन किनभने रात निकै बाँकी थियो । एउटा कथा लेखिसक्न कति न लामो रात चाहिन्थ्यो र ! म आत्तिएको पनि थिइन । तर डर लागिरहेको थियो काहीं फेरि मैले कथा लेख्ने म्याद थप्नु पर्ने त होइन ?

झ्याप्प बत्ती निभ्यो । बल्ल बल्ल, जूनकीरीको पिँधलाई जित्ने उज्यालो बाँडिरहेको लबस्तरो बिजुली झ्याप्प निभ्यो । मैले सम्झें, ‘ठिकै छ, कलमले शब्द पनि नझार्ने, मनले कथा पनि नदिने ! अब सुतेरै कथाको मोही पार्छु । सम्झिएँ र म बिछ्यौनामा पल्टिएँ ।

आज पनि कथा लेखिएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।