हे कुबेर !
मैले नै फलाएको हुँ
तिम्रो अन्नभण्डारको अन्न
आज भोकै छन् मेरा पेटहरू
हे जल !
तिमी बर्स मेरो खेतमा
लाग कुलो भएर
मैले फेरि पनि उमार्नुपर्छ अन्न
हे वायु !
तिमी स्वयं मुक्त होऊ, विषादिबाट
मलाई गाह्रो भो सास फेर्न
के तिमीले यी बन्द स्कुल देख्यौ माते ?
किन उम्रियो झार
स्कुलको बाटोमा ?
हे वृक्ष !
को बसिरहेछ तिम्रो छायामा
बन्दुकसहित ?
हे पक्षी ! कता उडिरहेको तिमी
यो ठाउँ छाडेर ?
के त्यति नमीठो छ यो बन्दुकको आवाज ?
हे पृथ्वी !
तिमी स्वयं मुक्त होऊ
धर्माचार्यहरूको पापाचारबाट ।
मलाई अरू केही चाहिन्न तिमीले तथास्तु भने पनि
मलाई मेरा प्रश्नको उत्तर चाहिन्छ
हे अग्नि ! वायु ! जल र पृथ्वी !
अब तिमीहरू चढ मेरो अस्त्रको टुप्पामा
अब म पनि सामेल हुन्छु
मेरै मुक्तियुद्धमा ।