19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिमा वारि सिमा पारि

कथा पुण्य खरेल November 7, 2015, 9:53 pm
पुण्य खरेल
पुण्य खरेल

भवानीजीसँग परिचय भएको चार–पाँच वर्ष भयो । भानुजयन्ती नै हो क्यार ! हामीले पारिका पनि निकै साहित्यकारहरूलाई निमन्त्रणा गरेका थियौं । त्यही कार्यक्रममा उहाँसँग चिनजान भएको हो । उपन्यास तथा नाटकका क्षेत्रमा नयाँ प्रतिभाको रूपमा स्थापित हुँदै गरेका साहित्यिक व्यक्ति हुनुहुन्छ उहाँ । त्यसयता हामीले कार्यक्रम गर्दा उहाँहरूलाई र उहाँहरूले कार्यक्रम गर्दा हामीलाई निमन्त्रित गर्ने र आउने जाने गथ्र्यौं हामी । त्यही सन्दर्भमा म निमन्त्रित भएको थिएँ यही भदौ १५ अर्थात् प्रथम सेप्टेम्बरका दिनलाई ।

विहान ८.०० बजेतिर खानाको ससानो लेठो मेटेर मैले त्यता प्रस्थानका लागि पाइला उठाए थें । आज मेरो ६÷७ वर्षको छोरो पनि मेरो साथी हुने पर्यो । पटर–पटर बोलिरहने छोरालाई लिएरै म बस चढें । सिमानाछेउमा बस रोकियो । दस गजाका ढाटहरू पार गरेपछि हामी रिक्सा चढ्यौं । फेरि बस चढ्यौं । एक–आध घण्टाको बस यात्रापछि हामी कार्यक्रम हुने सहरमा पुग्यौं । बसबाट ओर्लिएर फेरि रिक्सा नै हाम्रो अर्को सवारी थियो । रिक्सा यात्रा गर्दैगर्दा बाटामा बार सूर्य जुधे झैंका घाम देख्ता आजचाहिं कहिलेदेखि नभेटेको गर्मी भेटिने परेछ भन्ने भयो ।

कार्यक्रम हुने भवनको सभाकक्षमा हामी बाबुछोरै प्रवेश गर्यौं । त्यतिञ्जेलसम्ममा घामले हाम्रो सातो लिइसक्न लागेको थियो । हामी पुग्दा सभाकक्षभित्र केही सहभागीहरू मौजुद थिए । कार्यक्रम सुरु गर्ने समय भएको रहेनछ । सहभागी थपिंदै थिए । भवानीजीसँग भेट भयो । भेट हुने बित्तिकैदेखि उहाँ “आज यतै बस्नुपर्छ है कविजी ! आज मेरैमा बस्नुपर्छ ।” भन्दै मोवाइलमा घरतिर खवर गर्दै गर्न थाल्नुभयो– “नेपाल के एक प्रशिद्ध कवि ... आज हमारे में ... ... हाँ ... हाँ ... ... मै साथ ले के आउंगा ... ... हाँ ... पाँच भी बज सक्ती है, छ भी बज सक्ती ... कार्यक्रमका क्या ठिकाना ? अभि तक सुरु भि नही हुआ ...”

छोरो राजेश घरि यो कुर्सीमा, घरि उ कुर्सीमा बस्तै गर्दै थियो । “बुबा ! बुबा !! हेर्नू त ! यहाँ त पङ्खा कस्तो मज्जले घुम्दो र’छ ! हाम्रो उहाँको जस्तो भा कति गर्मी हुन्थ्यो नि ? यस्तै पङ्खा किन्दा हुनेथेन बुबा हामीले ?”

“पङ्खा त हाम्रो पनि मज्जले घुम्ने नै हो नि छोरा ! बिजुली नै सिलिङ–मिलिङ आउँछ, अनि ?”– मैले छोरालाई भनें ।

“सिलिङ–मिलिङ ? सिलिङ–मिलिङ भनेको के हो बुबा ?”

“फेरि दिक्क लाउने परिस् छोरा तैंले मलाई ! यो के र ऊ के ? यस्तो कुरा गर्न नपाइने है भनेको होइन घरमै ?” मैले छोरालाई भनें ।

“सिलिङ–मिलिङ भनेको के ? यति भन्दिनू अनि म बोल्दिन, ल बुबा !” उसले ढिपी कस्यो ।

“सिलिङ–मिलिङ भनेको ? सिलिङ–मिलिङ भनेको ... ... ” सिलिङ–मिलिङ भनेको प्रष्ट बुझिने गरी अथ्र्याउने अर्को शब्द पनि मुखमा ठिक्क आएन मेरो । त्यसमाथि मैले भोल्टेज कम भएर आउने बिजुलीको प्रवाहलाई बुझाउने शब्द सिलिङ–मिलिङ भन्न मिलेन कि ? आफैंआफैं शङ्का पनि उब्जियो । तैपनि मुखबाट उम्किई त गयो । मनमा यस्तै गुन्दै मैले छोरालाई अर्थ लाइदिएँ–

“सिलिङ–मिलिङ भनेको ‘अलिअलि’, ‘थोरथोरै’, ‘कताकति’” ।

“कताकति ? कताकति भनेको त यहाँ एक ठाउँ छ अनि ऊ पर एक ठाउँ छ अनि फेरि ऊ त्यता एक ठाउँ छ त्यसरी कतैकतै भएको भन्नुभएको तपाईंले, होइन ?”

“को नि है राजेश ! आज छोड्दे यो कुरा ! ... ए साँची, यता सरलाई तैंले नमस्ते गरिस् ? हेर ! उहाँ भारतको ठुलो साहित्यकार–भवानीप्रसाद नारायण त्रिपाठी । नमस्ते गर् त !”

राजेशले भवानीजीलाई नमस्ते गर्यो । उहाँले पनि दुबै हात जोडेरै नमस्ते फर्काउनु भयो ।

कार्यक्रम सुरु भयो । सभाध्यक्ष चुनिए । प्रमुख व्यक्ति हिन्दी साहित्यका सुप्रतिष्ठित जयस नारायणलाई बनाइयो । सन्चालकले “आतिथ्यता के लिए नेपाल के प्रतिष्ठित साहित्यकार दिनेशकुमार जी को ...” भनेर मेरो नाम पनि लिए । म गएर प्रमुख व्यक्तिका छेउमै एक कुर्सीमा बसें । छोरो राजेश पनि सँगसँगै गएर छेउको एउटा कुर्सीमा बस्यो । मैले उसलाई बोलाएर कानेखुसीमा– “अघिकै कुर्सीमा गएर बस् न ! ल ?” भनें । उसले टाउको छनमन पार्यो र बसिरह्यो । मेरो छेउका प्रमुख व्यक्तिले कुरो बुझे क्यार– “बच्चे को उस की मर्जी से रहने दिजिए !” भने । भवानीजी पनि बोलाइए ।

भवानीजीका ढिपीका अगाडि मेरो फर्किने कुराले हार खायो । साँझ ६ बजेतिर नै हामी बाबुछोरा भवानीजीका साथ उहाँका घरमा पुग्यौं । सहरको मध्य भागमै रहेछ उहाँको घर, मूलसडकबाट सय–पचास मीटर शाखा सडकभित्र पसेर । घरको पहिलो तलामा हामी प्रवेश गर्यौं । अतिथि कोठामा हामीलाई बसाएर भवानीजी बत्ती–पङ्खा मिलाएर अनि आफ्नो कोठामा प्रवेश गर्नुभयो ।

भवानीजीले पत्नी रूपवाला, छोरो दीपक, छोरी दीपालीसँग परिचय गराउनु भयो । चारजनाको परिवार सुविधैसँग बस्नुभएको रहेछ भन्ने मलाई लाग्यो । भवानीजी छेउकै कलेजमा पढाउनु हुँदो रहेछ । तीस हजार मासिक । हाम्रातिर त झन्नै आधालाख हुन्छ त्यति तलब सुविधा । उहाँकी पत्नी पनि हाई स्कुलकी शिक्षिका अरे । उहाँको पनि झन्नैझन्नै त्यति नै होला !

बेलुका छोरो राजेश चाहिं भवानीजीकी छोरी दीपालीसँग सोध्दै थियो– “कति बजे लाइन जान्छ ?”

दीपाली उस्तै लवजमा जवाफ गर्दैथी– “नहीं जायगा, नहीं जायगा !”

“लाइन हौ लाइन ! क्या लोडसेटिङ हुँदैन ?”

“नहीं जायगा क्या नहीं जायगा, लोड सेडिङ होता नहीं ...”

“ए, तपाईं त बुझ्नु नै हुन्न र’छ ! ... बत्ती गएर इन्भर्टर बाल्ने क्या त ?”

“इन्भर्टर या जेनेरेटर ? जेनेरेटर तो जहाँ बिजली नहीं होती वहाँ ! या तो सिनेमाहोल में या अस्पताल में । अगर अचानक बत्ती बुझ गयी तो उसको जलाने की खातिर ...” दीपालीले भनिन् ।

अलिक ठुलो भएकाले होला दीपक उनीहरूका गफमा सामेल थिएनन् । छोरो राजेश भने परिपरिका प्रश्नहरू दीपालीसँग राख्तै थियो । आफ्नातिरका कुरा सुनाउँदै थियो । आफ्नो देश र त्यहाँका हरेक कुरालाई ऊ दाहिने र देब्रे हातमा राखेर जोख्तै थियो ।

बेलुका भवानीजीसँग म निकैवेर गफमा अल्मलिएँ । हामी भारतका प्रशिद्ध साहित्यकारहरू भीष्म साहनी, मन्नु भण्डारी, हरि शंकर परसाई हुँदै ‘जङ्गलके दाबेदार’की लेखिकामा पनि पुग्यौं । हामी छिमेकी देशकी फतह जारी गरिएकी लेखिका तसलीमा नसरीन हुँदै निर्वासित इरानी लेखक सल्मान रुस्दीको चर्चासम्म पुग्यौं । रातीको मिठो खानापछि ११.०० बजेतिर हामी बाबुछोरा मात्र भयौं कोठामा । छोराले दीपालीसँग गरेका कुराबाट पाएको जानकारीले म ताज्जुब भएँ । उसले त मलाई यतै घर किनेर बस्न प्रस्ताव पो गर्यो ।

“बुबा ! यहाँ त देख्नुभो ? बेलुका पनि बिजुली उत्तिकै ताजा बल्दो र’छ नि ! कम्प्यूटर चल्दो र’छ त ! अनि लाइन पनि जाँदो रैनछ । कस्तो सजिलो नि !”

“यो ठुलो देश हो नि त छोरा !” मैले भनें ।

“ठुलो देशमा झन् धेरै घरहरू छन् । झन् धेरै मान्छे छन् अनि ? झन् धेरै बिजुली चाहिंदैन त ?”

“झन् धेरै खोला पनि छन्, झन् धेरै पैसा पनि हुन्छ नि त छोरा !” मैले भनें । एक छिन ऊ चुप लाग्यो ।

“दीपालीको मामु त बेलुका राती पो बजार गर्न जानुभो त ! मैले– “मातेका केटाहरू हुँदैनन् ? तिनीहरूले छाडा बोल्दैनन् ?” भनेर सोधें कि अन्त “यहाँ त एउटै पनि मातेका मान्छे हुँदैनन्, त्यस्तालाई त पुलिसले पक्डी हाल्छ भन्नुभो क्या ! हाम्रामा चाहिं पुलिसले किन नपक्डेको बुबा ? पुलिसले पक्ड्यो भने त मातेकाहरूले बेलुका बाटो हिड्नेलाई दुःख दिन पाउँदैनन् नि, नि ?”

म अन्जवाफ भएँ । मैले खेलाँचीको भाकामा भनें– “हाम्रामा त पुलिसले मातेका मन्छे होइन, मातेका मान्छेले पो पुलिसलाई पक्डिन्छन्, नि छोरा ?” हाम्रो देशको बिडम्बना मेरा शब्दमा निस्कन खोज्यो ।

भोलिपल्ट भवानीजीसँग विदा भएर हामी त्यहाँको बजार घुम्यौं । छोराले र मैले त्यहाँ हाम्रा गाउँबाट किनमेल गर्न गएका थुप्रै गाउँलेहरू भेट्यौं । लुगाफाटो किन्ने, हँसिया कोदालो किन्ने, मर–मसला किन्ने, सिरक–डसना किन्ने, बीऊ–बीजन किन्ने । किन्ने नै किन्ने धेरै काकाकाकीहरू भेट्ता छोरालाई त त्यो ठाउँ आफ्नै गाउँको हाट जतिकै लागेछ । उसले हिन्दाहिन्दै मलाई भन्यो– “सप्पैले यसरी किनेको किन्यै गर्दा अनि यहाँ माल सकिँदैन बुबा ? यहाँ चाहिं यत्रो मालमत्ता कहाँबाट आउँछ ?”

“हाम्रा मान्छेले किनेको किन्यै गर्ने पैसा कहाँबाट पाउँछन् ? त्यस्तै त हो नि छोरा ! बरु हामीसँग पैसा सकिन्छ तर यहाँ माल त जत्तिको तत्ति पाइरहन्छ ।” मलाई उसका प्रश्नको उत्तर दिनुभन्दा बरु उल्टा प्रश्नै प्रश्न गरेर सोध्न नै दिक्क पार्न मन लाग्थ्यो तर म कहाँ दिक्क पार्न सक्थें र ! हिन्दाहिन्दै उसले सोध्यो– “बुबा, यतातिर त एकै ठाउँ पनि क्यारेमबोट खेल्दै गरेको देखिंदैन नि ! खेल्न जान्दैनन् कि क्याहो ? ... एक छिनमा फेरि भन्यो– “हाम्रा दाजु जत्रा मान्छेहरू मज्जले के–के के–के काम गर्दै छन् । यताका यस्ता दाजुहरू त कुवेत, मलेसिया, कतार जाँदैनन् कि क्याहो बुबा ?” मलाई भने यसलाई लिएर आएर गल्ती गरिएछ कि क्याहो ! जस्तो लाग्दैथ्यो । आफ्नो देश राम्रो भनिरहेको मलाई उसका यी प्रश्नहरूले थला बसाउँदै थिए । एकातिर म उसलाई उत्तरा गर्नुको साँटो अल्मल्याउँदै थिएँ अर्कातिर मलाई कताकति आफ्नो राष्ट्रियता धोद्रिँदै गए झैं लाग्दै थियो ।

घुमाउँदा घुमाउँदै मैले उसलाई त्यहाँको ठुलो अस्पतालमा पनि पुर्याएँ । उसले त्यहाँ हाम्रातिरका थुप्रै बिरामीहरू, बिरामी हेर्ने आफन्तहरू देख्यो । मलाई लाग्छ, उसले अहिले हिजो आउँदा बसबाट ओर्लिएर रिक्सा चढ्दा देखेको दस गजा बिर्सियो, दस गजा छेउमा भएको सटही काउन्टरमा नेरुलाई भारु पार्नेहरूको लामो ताँती भने झल्झली सम्झ्यो होला । मैलेचाहिं फेरि एकपल्ट मोदनाथ प्रश्रितको कविता ‘नेपाली बहादुर’ सम्झिएँ । यी बाहिर जाने बाटोहरू दक्षिण फर्किएका पाइप जस्तै हुन्, जहाँबाट नेपाली खुन र पसिना बगेर भारतका ठुलठुला सहरमा, ठुलठुला महलमा पुग्छन् भन्ने कुरा सम्झिएँ ।

दिनभरि घुमेर साँझ छोरो र म फर्कियौं । बस चढ्यौं । अलिक ढिलो भै गएछ एक पन्थ दो काज गर्न खोज्दा । साँटेका भारु मैले पनि एक–दुई हजार तह लाउनु थियो नै । नयाँ चर्चित उपन्यास र कथाहरूका केही किताब किन्नु थियो नै । राजेशलाई एक जोर जुत्ता, एक जोर सर्टपेन्ट किन्नु नै थियो । एउटा कोदालो, एउटा फाली, दुईटा हँसिया पनि किन्नु नै थियो । २ केजी चिनी, एक पावा जीरा, पाँच–दस रूपयाँको मेथी–मरिच किन्नै थियो । तर सबैभन्दा दिक्क लाग्दो आलुको बीऊ किन्नु थिएन आज र कोही बिमारीलाई दबाइ–इलाज गराउनु थिएन । त्यसैले सारै बोझिलो यात्रा भने थिएन नै । मैले बहुत सम्झिएर अस्ति किन्न बिर्सिएको सिरकको खोल भने किनेथें । हामी चढेको गाडी दस गजा आइपुगेकै थिएन तर चारैतिर अकासे उज्यालोले विदा लिइसकेर बिजुली बत्तीको झिलिमिली मात्रै चम्किन थालेथ्यो ।

‘दार्जेलिङ सहर झिलि र मिली बिजुली बत्तीले’ मैले केटाकेटी छँदै सुनेको हो यो गीत । इलाम, फिदीम, ताप्लेजुङ, सग्राँती आदि ठाउँ पनि बिजुली पाएका भए ताप्लेजुङको बासिन्दा मैले दार्जेलिङको झिलिमिलीको गीत गाउनु नै पर्थेन होला । “सग्राँतीको चिसो हावा मूलपानीको ठण्डी” भनेर हरेक ठाउँलाई गीत र गजलमा उन्ने शक्तिशाली स्रष्टाहरूले बिजुलीको अभावमा आफ्ना वरपरका कुनै सहर–बजारलाई झिलिमिली पार्न पाएनन् । म हिजो जाँदा आँँखामा नपरेका घर–टोलहरू पनि आज फर्किंदा बिजुलीका गुलुपहरूले झलमल्ल सिंगारिएका देख्ता चमत्कार देखेझैं हुँदै थिएँ, मनमा अनेक कुरा पनि सँगसँगै खेलाउँदै थिएँ । यस्तैमा हामी बसबाट ओर्लियौं । रिक्सामा चढ्यौं । रिक्साहरू हामी आएको बसमै ठोकाउन खोजेझैं गरी झुम्मिएका थिए ।

रिक्साले दस गजामा ल्याएर उतारेथ्यो । एक्कासि हामी बाबुछोराका आँखामा कसैले पट्टी बाँधिदिए जस्ता भयौं । नेपालतिर निस्पट्ट अँध्यारो छ । यतापट्टिका कुनै–कुनै दोकान मैनबत्ती बालिएका छन्, कुनैमा लाल्टीन । दायाँबायाँ अँध्यारामा मातेका लाठेहरू बादबिवाद गरेको, झगडा गरेको, हाहा–हुहु सुनिन्छ । मैले छोरो राजेशको अनुहार हेर्न खोजें । टाढाको मैनबत्तीको धमिलो उज्यालो उसका आँखामा टल्कियो । ती जोरै आँखामा एक प्रकारको त्रास गुजुल्टिएर भूमरी खेल्दै मतिर आउँदै गरेजस्तो लाग्यो मलाई । मैले उसको हात बलियो गरी समाएँ । अहिले ऊ स्वयम् दुःखित थियो होला । सिमाना पारि त्यस्तो झिलिमिली, ढुक्क तर यता हाम्रो देश किन यस्तो अँध्यारो, डरलाग्दो ? उस्ले सोधेन । “यस्तै हो हाम्रो देश !” जस्तो लाग्यो होला कि उसलाई !

सामसाम सुमसुम गर्दै अरु यात्रीहरूको गज्याङ–मज्याङसँगै हामी बस चढ्ने ठाउँ आइपुग्यौं । बस चढ्यौं । आज के चाल पर्यो को नि ? हामीले दिक्कलाग्दो गरी बसको गर्मीमा गुम्सिरहनु भने परेन । बस कुद्यो । बाटामा राता–धमिला बत्तीहरू बालिएका गाउँहरू, टोलहरू, चोक र मोडहरू हुँदै हामी ओर्लिने ठाउँ आइपुग्यौं । कुनै जँड्याहाले बाटो छेक्छ कि ? हामी भित्रको डर भागेको थिएन ।

घर पुग्यौं । साढे आठ बजेछ । बिजुली बत्तीको पालो त आयो तर बत्ती आएन । पसिनाले लथपथ भएको थियो जीउ । मैले सुपारीका पातबाट केही हम्का बनाएको थिएँ । ती खोज्दै बिजुली पङ्खातिर पनि आँखा लाएँ । बिजुलीका गुलुपहरू, पङ्खाहरू रोजगारी नपाएका इमान्दार तन्नेरीझैं विवश देखें । “थुइया ! दस थोक चुरीफुरी गर्ने भ्रष्ट नेताहरू ! ओखर पाङ्ग्रा बल्ढेङ्ग्रा भएर हामीलाई हुर्मत पारिरह्यौ !” भन्नुजस्तो लाग्यो । त्यहीं त्यस्तो, यहीं यस्तो । म दिक्क भैरहें ।

छोरो मेरा छेउमा आयो र मेरा आँखामा हेर्र्दै बोल्यो– “बुबा ! हामीले पनि उहीं घर बनाएको भए हुन्थ्यो नि !”

भीमसेन थापा रटाएर, बलभद्र कण्ठ गराएर, बुद्ध र भृकुटीका कथाले बनाएको राष्ट्रियताको महल बालुवाको महलजस्तो, तासको महलजस्तो कति कमजोर रहेछ ! म छोराको यो पछिल्लो भनाइको कुनै जवाफ दिन नसकेर अन्जवाफ भएँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।