18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भूकम्पको आत्मपीडा

कविता पुण्य खरेल November 20, 2015, 5:14 pm
पुण्य खरेल
पुण्य खरेल

ताकेको मैले

सुदूरलाई हेप्ने त्यो केन्द्र भनाउँदालाई नै हो

झुप्रा, टहरा, बुकुरालाई हेप्ने ती गगनचुम्बीलाई नै हो

देशको राजा हुँ भन्ने ठान्ने राजधानीलाई नै हो

विज्ञान र ज्ञानलाई कति पनि नपत्याउने

ती घड्घडा अन्धविश्वासीलाई नै हो

जति सुझाव दिए पनि कन्नाले नटेर्ने

जति सचेत गराए पनि एक कानले सुनेर अर्को कानले उडाउने

थेत्तरा र लबस्तरालाई नै हो ।

ताकेको त मैले

जिब्रै जिब्राका धनी बहुजिब्रेलाई नै हो

चिप्ल्याइँ र सिल्ल्याइँका पर्याय ढाँटका पुस्तकलाई नै हो

कोखमा दारा भएका छलिकट्टुलाई नै हो

सोझा र निमुखाको मुटु कलेजो खाने

ब्वाँसा र स्याललाई नै हो ।

ताकेको त मैले

जनताका सपना खेलाउँदै खेलाउँदै

भसक्क पार्नेलाई नै हो

अनेक फुलबुट्टा भरेर यल्लाई यो दिन्छु र उल्लाई ऊ दिन्छु भन्दै

फस्ल्याङ् फुस्लुङ् पारेर मत जिब्ट्याउनेलाई नै हो

हजारौंको सपना खेलाएर आफ्नो विपना सपार्नेलाई नै हो ।

ताकेको त मैले

आफ्नो घर बनाउने, अर्काको घर बिगार्ने

घुस्याहा इन्जिनियरलाई नै हो

आफ्नो छोरो सपार्ने र अर्काको छोरो बिगार्ने

गुरु भनाउँदालाई नै हो

आफ्नो बाबुआमा निको पार्ने

अर्काकी श्रीमती ठहरै पार्ने डाक्टर भनाउँदालाई नै हो

माल अड्डाको कालो गजुरलाई नै हो

उज्यालो घाम लिएर अँध्यारो नक्सा छिप्ने अड्डालाई नै हो

राडी गाईलाई खुवाउने न्यायमूर्ती भनाउँदालाई नै हो ।

ताक्न त मैले ताकेकै हो

सहर सहर ताकेकै हो

बजार बजार ताकेकै हो

अग्ला अग्ला महल ताकेकै हो

ठगहरुका, घुस्याहाहरुका महल ताकेकै हो

राष्ट्रवादको मखुण्डो लाउने राष्ट्रघातीको थलो ताकेकै हो

समाजवादको मुखुण्डो लाउने मसाजवादीको थलो ताकेकै हो

मैले ताकेको त मुढोलाई नै हो ।

तर के गर्नु र !

गाण्डिवबाट निस्केर तिर सुइँकी त गयो

चोर औंलाबाट फुत्केर सुदर्शनचक्र हुइँकी त गयो

मुहरीबाट निस्केर गोली गई त गयो

थुतुनाबाट निस्केर बोली गई त गयो ।

अलि अलि ताकेको त

सिंहदरवारतिरै, बालुवाटारतिरै पनि हो

हल्लाउन खोजेकै हो, झक्झक्याउन खोजेकै हो

कहाँ ताकेको हो र बारपाक र लाप्राक ?

कहाँ ताकेको हो र सिंगटी र सिपाघाट ?

कहाँ तोकेको हो र त्यो सुन्दर लाङटाङ ?

कहाँ ताक्नु कठैवरा त्यो बरुवा, सिम्पानी !

घ्याङफेदी, किम्ताङ, फिकुरी, जिलिङ !

कहाँ ताक्नु भोताङ, हैबुङ, तार्तुङ, नादुङ !

कहाँ ताक्नु कठैवरा ! त्यो मनको धरहरा !

इतिहास भइसकेको त्यो हनुमान ढोका !

दरबार स्क्वायर र पुरातात्विक मठमन्दिर !

अलिअलि लागेको थियो

उलट पुलट गरुँ, उथल पुथल पारुँ

स्वर्गकालाई नरकतिर सारुँ

नर्ककालाई स्वर्गतिर उफारुँ

के गर्नु र ‘बन्चरो ताक्छ मुढो’ भैदियो !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।