19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छिमेकी

कविता विष्णु न्यौपाने November 27, 2015, 10:33 am

मेरो करेंसो नजिकै छ साथी

आत्मा छ घाती अपराध माथि ।

आचार छाडी अतिचार जोड्छ

गाली नमीठो अविराम छोड्छ ।।

(१)

उठ्तै बिहानी पख मुर्मुरिन्छ

सर्किन्छ आफैं अनि जुर्मुरिन्छ ।

चाहिन्न ठूलो कसुरादि केही

पोखिन्छ ठाडै अपराध देही ।।

(२)

बच्चा कुदोस् त्यो निहुँ नै बनिन्छ

हे¥यो खडा भै अब झन् खनिन्छ ।

बोल्दै नबोलौं पनि क्रोध भर्छ

बोल्दैन कस्तो भनि रोष छर्छ ।।

(३)

कालो मसी के अझ त्यै छ कालो

राँगो सरीको भयको भँगालो ।

तर्साउने भैकन हिँड्छ जैले

रोएर बाँच्ने म छु एक ऐले ।।

(४)

देखेर रुन्छन् सब बाल मेरा

झम्टन्छ रोए पनि चाल हेर ।

ए भाइ ! यस्तो नगरौं न भन्दा

खाइन्छ आफैं दस–पन्ध्र डण्डा ।।

(५)

कस्तो दिनैमा घर यो किनेंछु

आफ्नो जवानी, पसिना छिनेछु ।

जुन् आँसु मेरा परिवार झार्छन्

आगो उकेली अझ राप ताप्छन् ।।

(६)

यौटा दरिद्री मन हाँस्न सक्छ

रोएर आफैं पनि बाँच्न सक्छ ।

हाँसो म कल्पौ, कुन आस भित्र ?

ज्वाला छुटेको हर श्वास भित्र ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।