14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्य लेख्नेहरुको कथा

विचार जयदेव गौतम December 11, 2015, 4:44 am

लेखन आफैँमा एक स्वतन्त्र विषय हो । लेखकको रुचि र स्वभावअनुसार लेखन सार्वजनिक हुँदै जाने कुरा हो । लेखनलाई प्रभावित पार्ने गरी लेखकीय स्वभावको कुनै खास बनिबनाउ ढाँचा छैन । त्यसकारण उठेर, बसेर, सुतेर, हिँडेर वा ढल्केर लेखेमा राम्रो गरी लेख्न आउँछ अथवा कुनै खास कुरा खाँदै वा पिउँदै लेख्ने गरेमा सलल लेखन फुर्छ भन्ने पनि केही छैन । जसलाई जे–जसरी र जहाँ सजिलो महसुस हुन्छ त्यहीँ लेख्न बसे भइहाल्छ ।

तर पनि लेख्ने शैली र बानीको कुरा उठ्दा नेपाली वाङ्मयसित परिचित जो कोहीलाई पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वभावको झल्को आइ नै हाल्छ– महाकविलाई एक हातमा धुवाँ फालिरहेको चुरोट समाएर अर्को हातबाट नदी झैँ वेगवान कलम चलाउने लत जो थियो । नेपाली साहित्यमा महाकवि र ‘फूलमार’ चुरोट त झन्डै एकअर्काका पर्याय जस्तै स्थापित छन् । त्यस अघिपछि पनि रामायण जस्तो महाकाव्य नेपाली भाषामा लेख्नका लागि भानुभक्त आचार्यलाई जेलकै बास उपयुक्त ठहर भयो । विपी कोइरालाका लगभग सबै साहित्यिक कृति जेल बसाइँकै उपज हुन् । जेल बसेरै श्यामप्रसाद शर्माले ‘थुनुवाको डायरी’ लेखे । मोदनाथ प्रश्रितले ‘गोलघरको सन्देश’ लेखे । अन्य कतिपयले रिहापछि जेलसंस्मरण लेखेका छन्, जसमा खड्गमान सिंहले लेखेको ‘जेलमा बीस वर्ष’ र राधाकृष्ण मैनाली रचित ‘लुटिएका दुई थुङ्गा फूल’ उल्लेखनीय मानिन्छन् ।

भूपि शेरचन, शंकर लामिछाने, हरिभक्त कटुवाल प्रवृत्तिका साहित्यकारहरू अत्यधिक मदिरा सेवन गर्न रुचाउँथे । ती सबै त्यही कारणले समेत असमयमै संसार त्याग्न बाध्य पनि भए । सबैको होइन तर धेरैजसो साहित्यकारको प्रिय खुराकी मदिरा, सूर्ती, चुरोट, चिया र कफी हुने गरेको देखिएको छ । यो खानपिनसम्बन्धी स्वभावजन्य कुरा भयो । तर, लेखनशैलीको सवालमा यस्ता अनेक किस्सा कहानी सुन्न र पढ्न पाइन्छ ।

केही समयपहिले अमेरिकी लेखक/पत्रकार लियो ब्यबुटाको एउटा आलेख पढ्ने अवसर मिलेको थियो । ‘जेन ह्याबिट्स’ नामक बहुचर्चित इन्टरनेट ब्लग सञ्चालन गरेरसमेत निकै नाम र दाम कमाउन सफल ब्यबुटाले त्यो आलेखमा आफूलाई मन पर्ने केही साहित्यकारका लेखन शैलीबारे उल्लेख गरेका थिए । कतिपय लेखकलाई दैनिक केही निश्चित संख्यामा शब्दहरू वा पृष्ठ लेख्न मन पर्छ भने केहीलाई एकाध पेज वा केही वाक्य मात्र । कसैलाई लामा–लामा कागजमा लेख मन पर्छ भने कसैलाई पोस्टकार्ड जस्ता इन्डेक्स कार्डमा । कसैलाई उभिएर लेख्न मन पर्छ भने कोही घोप्टो सुतेर लेख्न रमाउँछन् ।

अमेरिकी लेखक स्टीफन किङ दैनिक दश पेज लेख्छन्, त्यो दिन बिदाको होस् वा सामान्य । यो लेखन निकै धेरै हो । सायद यसैकारण उनी वर्तमान समयका सबैभन्दा धेरै लेख्ने लेखक पनि हुन् । अर्नेस्ट हेमिङ्वे एक दिनमा पाँच सय शब्द मात्र लेख्ने गर्थे । उनी बिहान सबेरै उठ्थे र शान्त वातावरणमा लेख्न रुचाउँथे । उनी मदिरा अत्यधिक पिउँथे, तर पिएर मातेको बेला भने उनी कहिल्यै लेख्दैनथे । ‘लोलिता’ र ‘पेल फायर’ आदि विख्यात उपन्यासका रुसी लेखक भ्लादिमिर नोबाकोभ उभिएर लेख्थे र इन्डेक्स कार्डमा लेख्ने गर्थे । यसरी कार्डमा लेख्दा उनलाई शिलशिला मिलाएर लेखिरहनु पर्दैनथियो र पछि उनी आफूलाई मन लागेअनुसारको क्रममा मिलाउन सक्थे । भनिन्छ, उनको उपन्यास ‘आडा’ तयार हुँदा दुई हजारभन्दा बढी इन्डेक्स कार्ड प्रयोग भएका थिए ।

यसैगरी, ‘ब्रेकफास्ट इन टिफानीज’ र ‘इन कोल्ड ब्लड’ जस्ता कृतिका सर्जक टुम्यान क्यापोटलाई सुतेर लेख्ने बानी थियो– त्यो चाहे ओछ्यानमा होस् वा सोफा र काउचमा । साथै उनलाई सिगरेट र कफी पनि उत्तिकै चाहिन्थ्यो । दिन ढल्दै जाँदा कफीको ठाउँ चियाले, पछि चियाको ठाउँ शेरीले र शेरीको ठाउँ मार्टिनीको रूपमा अन्य ककटेल पेयले लिँदै जान थाल्यो । उनी लामा कागजमा पहिले पेन्सिलले लेख्थे । आफ्नो तेस्रो खाका पनि उनी ओछ्यानमै बसेर घुँडामाथि टाइपराइटर राखेर लेख्थे ।

आधुनिक अमेरिकी साहित्यका एक महान् हस्ती फिलिप रोथ उभिएर काम गर्ने लेखक हुन् । अझ, सोच्ने क्रममा उनी यताउता हिँड्ने गर्थे । भनिन्छ, सोच्दै लेख्ने गर्दा उनी हरेक पेजका लागि झन्डै आधा माइल बाटो हिँडेका हुन्थे । लेखन र निजी जीवनलाई पृथक पारेका रोथ आफू बसेको ठाउँमा कहिल्यै लेख्दैनथे, उनले घरभन्दा टाढा बनाएको आफ्नै स्टुडियोमा बसेर लेख्थे । त्यसरी बस्दा ध्यान यताउता नजाओस् भनेर उनले झ्यालतिर ढाड फर्काएका हुन्थे । यस्तै, पछिल्लो शताब्दीका एक अब्बल अंग्रेज उपन्यासकार जेम्स ज्वायस हरेक वाक्य निकै सोचेर मात्र लेख्थे । ज्वायसलाई एकपटक उनका कुनै मित्रले एक दिनमा धेरै लेखेको भनेको कतिसम्म लेखिसक्छौ भनेर सोधेछन्, जवाफमा निकै प्रसन्न हुँदै ज्वायसले भनेछन्– तीनवटा वाक्य ।

वर्तमान समयकी चर्चित उपन्यासकार तथा नोबेल पुरस्कार विजेता असी वर्षीया अमेरिकी लेखिका टोनी मोरिसन गर्मी र वर्षाको मौसममा लेख्दा सजिलो हुने धारणा राख्छिन्, उनी बिहान निकै सखारै उठ्छिन्, सिसाकलम समाउँछिन् र पहेँलो कागजमा लेख्न मन पराउँछिन् । त्यस्तै अर्का नोबेल विजेता उनन्साठी वर्षीय टर्किस लेखक ओह्रान पामुक लेख्नका लागि घरदेखि बाहिरको ठाउँ रोज्ने गर्छन् । पामुकको भनाइमा– सधैँ बस्ने, सुत्ने वा पढ्ने ठाउँमा बसेर लेखनयात्रा गर्न खोज्दा उनको कल्पना शक्ति नै हराएजस्तो हुन्छ ।

नेपालकै सन्दर्भमा जानिफकारहरू भन्छन्, महाकवि देवकोटालाई अक्सर दोलाइँ ओढेर ओछ्यानमा बसेर लेख्दै गरेको देख्न सकिन्थ्यो । मोदनाथ प्रश्रितले त घरमा सूचनै टाँसेका छन्– मेरो सबैभन्दा असल मित्र र शुभचिन्तक त्यो हो जसले मलाई बिहान लेखपढमा बाधा पु¥याउँदैन । कथाकार विनय कसजू राति छिटो सुत्छन् र बिहान दुई÷तीन बजे नै उठेर लेख्छन् । अचेल बुढ्यौलिँदै गइरहेको पुस्ताका चर्चित कवि एवं कथाकार हरि अधिकारी खाटमा बस्छन्, सिरक पट्याएर टेबल जस्तो बनाउँछन् र त्यसमाथि एउटा मोटो किताब राखेर एफोर ह्वाइट पेपरमा लेख्न थाल्छन् । उनी संगीन इमरजेन्सी नपरी कहिल्यै साँझ वा राति लेख्दैनन् । यस्तै, कथाकार ध्रुव सापकोटा सादा सेतो कागजमा नभएर लाइनवाला अर्थात् डिका भएको कागजमा मात्र लेख्न रुचाउँछन् ।

अनेक लेखक साहित्यकार छन् जसको कथा लेख्ने सन्दर्भ आफैँमा कुनै चाखलाग्दो कथाभन्दा कम मान्न सकिँदैन । दान्ते, गेटे, शेली, बाइरन, टल्स्टाय, वाल्जाक, डिकेन्स, मोपाँसा, ओ हेनरी, गोर्की, लु सुन, शरतचन्द्र, प्रेमचन्द, समरसेट, हृदयचन्द्र, शंकर, पारिजात र अन्यान्य तमाम लेखकको कथा लेख्ने आप्mनै कहानी छ ।

अपवाद हरेक कुरामा रहन सक्छ, तर विलियम शेक्सपियरलाई दुनियाँकै महानतम लेखक

(नाटककार) मानिन्छ । उनको लेखन बानीबारे यकिन जानकारी प्राप्त छैन । तर, रोचक के छ भने २३ अप्रिलमा जन्मेर बाउन्न वर्ष बाँचेपछि आफू जन्मेको एभन नदी किनारको स्ट्रयाटफोर्ड नगरमा जन्मेकै दिन मर्ने शेक्सपियरको नाममा रचना गरिएका अद्वितीय नाटक र मर्मस्पर्शी कविताहरू अरू नै कुनै व्यक्तिले लेखेका हुन् भन्ने ठूलो विवाद अझैसम्म साम्य हुन सकेको छैन । किनभने भनिन्छ, जन्मकुन्डलीको आधारमा हामीले चिनेका शेक्सपियरलाई आप्mनो नामसमेत शुद्ध लेख्न आउँदैन्थ्यो । उनले कुनै विश्वविद्यालयमा पढेका थिएनन्, उनी इंल्यान्डबाहिर कहिल्यै निस्केका थिएनन्, राजदरबारसम्बन्धमा उनको ज्ञान शून्य थियो । तर, शेक्सपियरका प्रायः नाटक इटालीका विभिन्न राज्यको पृष्ठभूमिमा रचिएका छन् । र, मृत्युअगाडिको उनको इच्छापत्रमा समेत सामान्य विस्तारा, खाट र गहनाहरूको मात्र उल्लेख भेटिन्छ तर त्यसमा पुस्तक, पुस्तकालय, नाटक र कविताका बारेमा एकै शब्द उल्लेख गरिएको पाइँदैन । बरु के भनिन्छ भने शेक्सपियरको नामबाट लेखिएका तमाम कृति ‘डाक्टर फाउस्टस’ जस्तो उत्कृष्ट नाटक लेख्ने उनकै समकालीन विद्वान् नाटककार क्रिस्टोफर मार्लोले लेखेका हुन् भन्ने मत व्यक्त गर्ने विद्वान्हरूको जमात सर्वाधिक ठूलो छ । (अन्यथा, शेक्सपियरको नामबाट लेख्ने व्यक्ति भनेर एकथरिले फ्रान्सिस बेकन भन्छन्, त अर्काथरिले डा. बेन जोन्सन, अझ अर्काथरिले एडवार्ड द भेर र कतिले काउन्टेस अफ पेम्ब्रुक पनि भन्छन्) ।

इटालियन महाकवि दान्ते सानै उमेरदेखि एकजना उच्च कुलकी केटीप्रति हुरुक्क हुन्थे । त्यो उनको एकोहोरो प्रेम थियो । तर, त्यो केटी दान्तेप्रति जति कठोर हुँदै जान्थी दान्ते त्यति नै कवि बन्दै जान्थे र प्रेमका उत्कृष्ट कविताहरू रच्दै जान्थे । जर्मन महाकवि गेटेले पनि उच्चस्तरीय प्रेम कविताहरू लेखेका छन् । भनिन्छ, गेटेका लागि प्रेम भन्ने विषय अत्यन्तै प्यारो र अनुभवसिद्ध थियो । अंग्रेज कवि बाइरन निकै कामुक प्रकृतिका थिए, जीवन भोगाइको क्रममा उनी अनेकौँ सुन्दर युवतीहरूको संसर्गमा आए– यी कुराहरूको प्रत्यक्ष प्रभाव उनका रोमान्टिक कविताहरूमा परेको मानिन्छ ।

बेलायतका क्लासिक उपन्यासकार चाल्र्स डिकेन्स मध्यराति लन्डनका सडकहरूमा घुम्न निस्कन्थे । बाटाका फुटपाथहरूमा बग्रेल्ती मगन्तेहरू सुतिरहेका हुन्थे । डिकेन्स अक्सर ती मगन्तेहरूको छेउ–छेउबाट हिँड्थे, उनीहरूलाई नियालेर हेर्थे, उनीहरूको सुख–दुःख महसुस गर्ने गहिरो प्रयास गर्थे र पछि आप्mना रचनाहरूमा त्यसलाई उतार्थे ।

नाटकीय अन्त्यका लागि विख्यात अमेरिकी कथाकार ओ’हेनरी अझ मापाका थिए । उनी अक्सर पब र भट्टीहरूमा पुग्ने गर्थे, त्यहाँ मस्त पियक्कडहरूको कुनै कमी हुँदैनथ्यो । ओ’हेनरी आफूले पैसा तिरेर उनीहरूलाई मदिरा ख्वाउँथे र उनीहरूसित मित्रता गाँस्थे । अनि उनीहरूसित नजिक भएर उनीहरूको जीवनका तमाम घटनाहरू पटक–पटक सुन्ने गर्थे । यसरी आप्mना कथाहरूका लागि उनलाई चाहे जस्तो सामग्री प्राप्त हुन्थ्यो ।

रुसका संसारप्रसिद्ध लेखक लेव टल्स्टाय ‘युद्ध र शान्ति’ वा ‘आन्ना कारेन्निना’ जस्ता उपन्यासहरूका लागि जति नामुद छन्, किशोर वयदेखि नै उनको लेखकीय परिपक्वताको भ¥याङ उक्लने प्रसंग कम्ती चाखलाग्दो छैन । नौ वर्षको उमेर नपुग्दै टुहुरा बन्न पुगेका कुलीन सामन्त वर्गका टल्स्टाय संगतले गर्दा सानै उमेरदेखि उग्र यौन भोगविलासमा फसेका थिए । भनिन्छ, उनी रातभरि सुरा र सुन्दरीको विलासी संगतमा डुबेका हुन्थे । तर, बिहान उठेपछि आइन्दा त्यस्तो कहिल्यै नगर्ने भन्दै कसम खान्थे र त्यो कसमलाई फरक–फरक शैली, शब्द र भावमा दैनिक टिपोट गर्थे । अनि झमक्क साँझ पर्दै जान थालेपछि उनको जिब्रोले सुरा र शरीरले सुन्दरी खोज्न थालिसक्थ्यो । फेरि दैनिक टिपोटको क्रम अगाडि बढ्थ्यो । यसै क्रममा एकपटक उनलाई भिरिङ्गी रोगले पनि गाँजेको थियो । धेरै समयपश्चात्, चौँतीस वर्षको उमेरमा अठार वर्षे सोन्यासित बिहे गरेर तेह्रवटा छोराछोरीको बाबु बनेपछि भने उनी क्रमशः लेखनतिर प्रवृत्त भए । (केही समय उनले घोडचढी सेना क्याभेलरीमा भर्ती भएर पनि बिताएका थिए ।)

यस्तो मानिन्छ– लेखनमा व्यक्तिको जिन्दगी र उसको विचारको पूर्ण वा आंशिक प्रभाव परेको हुन्छ । तर, सम्भवतः हरेक रचनामा त्यो प्रभाव नदेखिन पनि सक्छ । प्रसंगवश, भारतीय उपन्यासकार विमल मित्रले भनेको सन्दर्भ स्मरण हुन्छ । उनले भनेका (लेखेका) थिए– जसले सोच्न पनि धेरै सोच्दछ र देख्न पनि धेरै देख्दछ, अर्थात् जीवनका प्रत्येक पक्षहरूमाथि जसको तीक्ष्ण दृष्टि रहने गर्छ र संसारको हरेक कुराले जसको चिन्तनलाई सधैँ आकृष्ट गर्दछ, त्यही व्यक्ति लेखक हो । यसकारण एक मात्र लेखकलाई ‘टोटल पर्सन’ अर्थात् ‘पूर्ण मनुष्य’ भन्न सकिन्छ । संसारका सबै प्रसिद्ध लेखक यस अर्थमा पूर्ण मानव हुन् ।

विमल मित्रको यो विचारसित सबैजना सहमत हुनैपर्छ भन्ने केही छैन । तर, आमरूपले लेखक वा कवि भनिनेहरूको विचार र व्यवहारबारे उसको ‘टोटालिटी’ वा ‘मार्जिनालिटी’ अथवा ‘नर्मल–एब्नर्मल’ आनिबानीबारे भने धेरैले धेरै कुरा गर्न र भन्न सक्छन् ।

यसैकारण त मलाई लाग्छ, लेखक त्यो अजीव जीव हो जसले जीवनलाई विभिन्न बान्कीमा (सायद अन्य जोसुकैले भन्दा पनि फरक रंगमा) बाँचेको हुन्छ र त्यतिकै भोगेको पनि हुन्छ– परेर, पढेर, सुनेर वा कल्पेर ।

र, यस मानेमा हरेक लेखक पूर्ण मनुष्य हो । उसले आप्mनो बारेमा कम लेख्छ तर अरूको बारेमा अझ, समस्त मानवकै बारेमा मात्र नभई प्राणी र अप्राणीसमेत कुनै पनि विषयमा लेख्छ र अथाह लेख्छ । लेख्दै जान्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।