आफ्नो आँखा आफैँ हेर्ने प्रयास गर्दै छु
खै ! पागलपनको नयाँ वीउ अब छर्दै छु ।
कस्लाई सही कस्लाई गलत, सिद्धान्त र तर्क धेरै
बोक्रेपनलाई पन्छाएरै म शून्यतामा सर्दै छु ।
फाली दिए मनका रहर, जति थप्यो खाली हुने
यथार्थलाई बुझी सकेँ, रित्तोपन अझै भर्दै छु ।
चाहन्छन् को जीवन त्याग्न, अमर हुन खोज्छन् सँधै
बेवास्ता गरी शरीर यो, दीर्घ आयु हुँदै मर्दै छु ।
सत्यको खोजीमा थेँ, सत्य आखिर कहाँ छ र ?
मायावी यो संसार ठानी, अब भवसागर तर्दैछु ।
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।