19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पहाडकी रानी

कविता महेश रेग्मी June 3, 2008, 8:26 pm

तिमी हिँडेपछि
तिमीसँगै
म हिँड्ने बाटो पनि हिँडेछ।  
 
अब मसँग हिँड्ने बाटाहरु छैनन्
अब मसँग हेर्ने आँखाहरु छैनन्।
 
छोरी हिँड्ने गरेको बाटोमा
एउटा छाया हिँडिरहेको छ  
तिमी हिँड्ने गरेको बाटोमा
लासैलास हिँडिरहेका छन्।  
 
प्रिय!
तिमीबिनाको स्वतन्त्रता स्वादिलो छैन
तिमीबिनाको जीवनको सत्ता ढलिरहेछु ।
 
हिजो फुत्किएको समय
कहाँ पुग्यो होला?
म समयहीन समय छाडिएँ
रेलस्टेशनमा कुनै लगेजसरी।
 
छाया समात्न खोज्छु  
तस्बीरको  

समय बोलाउँछु
तानसेनमा।  
 
तानसेनको श्रीनगरडाँडाबाट हेरे पनि  
पशुपतिनगरको फाँटकडाँडाबाट हेरे पनि
दार्जिलिङ्गको घुम पहाडबाट हेरे पनि
भोगाइ उही छ  
दृश्य उही छ
दृश्य मर्दैन
आँखाको भोक मर्दैन
म ढुङ्गाको सिरानी हालेर नाङ्गो आकाश हेरिरहेछु
र समय मेरो टाउकोमाथि
डेमोकल्स्को नाङ्गो तरवार भएर झुण्डिएको छ
मात्र म आवाज बाँचिरहेको छु
के तिमीले सुन्यौ ?
मेरो आवाज
तानसेनको आवाज
जिन्दगीको मौसममा।
 
पहाडकी रानी!
मेरो पनि आँसु बगेको छ– टिष्टामा  
मेरो पनि रगत बगेको छ– टिष्टामा
मेरो पनि देश छ– टिष्टामा
र, तिमीले त्यही टिष्टालाई छोएर भन!
के हामी दुई किनार भयौँ ?
मेरो अन्तिम उकालो प्रश्न तिमीलाई !    
 
 तानसेन–पाल्पा, हाल :  काठमाडौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।