योग्यताका
प्रमाण पत्रहरू
खातैखात
एउटा बलियो
कन्तूरमा कैद गरेर
परदेशिएको मन
फर्केर आएन ।
बिचरा जाँदै
सपनाको भारी
बोकेर गएथ्यो ।
आफन्तको अनुहारमा
उज्यालो खोज्न
आँखाभरि
आसँु पारेर
बाटो लागेथ्यो ।
देशको मायाँले
बाँच्न नसकेर
परिवारको आसँु
नाँघेर गएथ्यो ।
मुहारमा खुशी भर्न
आफूले खाने थाल जस्तो
खेत बेचेर
डाँडाको घाम जस्ती आमा
जून जस्ति जीवनसङ्गी र
तारा जस्ता बालबच्चाहरू
घरमा छोडेर गएथ्यो ।
धेरैपछि ऊ आयो ।
आउन त आयो ।
तर सन्दूकमा
कैद भएर आयो ।
कसलाई के भनौं
विदेशिनु उसको रहर थिएन ।
बाध्यता थियो ।