19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुर्कट्टाहरु

कविता सञ्जु बजगाईं December 24, 2015, 8:17 pm
सञ्जु बजगाईं
सञ्जु बजगाईं

मुर्कट्टाहरुको राज्यमा

भेटिन्नन् टाउका बोक्ने नागरीकहरु

र,

भेटिन्न आँखाहरु अनि थलथलाउँदा तिनका मगजहरु !

भेटिन्छन् त केवल

छातीभित्र उम्रिएको ओढाराकार मुर्कट्टे मुख

कहिल्यै नभरिने

अतृप्त मुर्कट्टे पेट ।

मुर्कट्टाहरुको राज्यमा

छिनालिएका छन् टाउकाहरु

गिडिएका छन् गर्धनहरु

अनि

थुनिएका छन् गोटागन्तीमा

कयांैजोर आँखाहरु

अनि कयौं गोटा गर्धनहरु

खिया परेका चिहाने बाकसहरुमा

र केवल

छोडिएका छन् मुर्कट्टे स्वरुपहरु

यत्रतत्र र सर्वत्र ।

दिनहरु बन्द छन् मुर्कट्टे राज्यमा

तर बजारहरु मस्त छन् रातभर

छ्यापछयाप्ती क्षितिजपारीका दोखहरुको

सिक्के उपस्थितिमा ।

आमाको मोलतोलाईको चर्काचर्की

दोखहरुका सिक्के आवाजको सनसनाहटले थिचेपछि

धामीझाक्री समेतका टाउकाहरु

निमिटयान्न बिलाएका छन् ।

मुर्कट्टे राज्यमा,

के सिक्के तालमा धामीझाक्री

मुर्कट्टे नाच नाच्न थालेकै हुन् ?

खै ! दोख मन्छाउने मन्त्र कसले फुक्ने ?

लौ न ! कस्तो अत्यासलाग्दो ?

ए ! मुर्कट्टे राज्यका नागरीक हो,

तिम्रा टाउकाहरु थुनिएका चिहाने बाकस खोई ?

तेजिला आँखाहरु र खँदिला मगजहरु खोई ?

के तिम्रा आँखा र मगजहरु बिकेकै हुन ?

यस्तो त हुनै सक्दैन ।

तिम्रा गर्धनहरुको अभावमा

तिम्रो राज्य मुर्कुट्टे भएको छ

कमजोर भएको छ

हेपिएको छ

तर्सिएको छ

अर्धमुर्छित भएको छ ।

खिया लागका चिहाने बाकसबाट

एकपटक चिहाएर त हेर

तिम्रो मुर्कट्टे राज्यको घिनलाग्दो स्वरुप

यहाँ,

आँखा नभएका अर्ध शरीर

ठेलमठेल गर्छन एकअर्कामा

कोर्तछन्–चिर्तोछन आफ्नैलाई

र चिच्याउँछन्

पीडा पोखेर आधारातमा ।

त्यसैले,

खिया लागेको फलामे बाकस तोडेर

निकाल तिम्रा गर्धन बाहिर

अनि

फर्काउ तिम्रा आँखाहरु

ती खँदिला मगजहरु

ए! ब्युँत अब मुर्कुटे स्वप्नबाट ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।