19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिर्जनाको माली बनूँ

कविता विष्णु न्यौपाने January 7, 2016, 3:04 pm

म आफ्नै जराले सकूँ टेक्न धर्ती

नयाँ स्वर्ग आफ्नै सकूँ लेख्न धर्ती ।

गरी कर्म प्यारो सबैकोे छहारी

बनूँ एकताको झरीलो चिनारी ।।

(१)

म नेपाल वासी म हूँ कर्म योगी

म जन्मैं बने हूँ स्वयं बुद्ध बोधी ।

हिमाली कुवाको जलाधार प्यूँदै

म हाँकीरहेको छु ब्रम्हाण्ड सिङ्गै ।।

(२)

कतै उच्च थुम्का कतै दून बेंसी

कतै झुम्म बस्ती कतै सम्म खेती ।

म लेखूँ नयाँ देशको गीत यौटा

खुलाएर आत्मा सबैका अनौठा ।।

(३)

छ नेपाल मेरो मुटूभित्र प्यारो

छ सौन्दर्य आफ्नै नसा भित्र प्यारो ।

नयाँ सिर्जनाको नलेखे कहानी

न खुल्ने छ आस्था न बाँच्ने निसानी ।।

(४)

जहाँ भेष, भाषा छ संस्सकार आफ्नै

त्यहाँ प्राण प्यारो छ सौन्दर्य आफ्नै ।

नफारौं नच्यातौं कलेजा धराको

थुते प्वाँख अस्तित्व के त्यो चराको ।।

(५)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।