19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पलिना, इन्द्रावती र बगरको यात्रा

कथा दिनमान गुर्मछान ‘दिगु’ January 29, 2016, 3:42 pm

घाम चर्कोसँग बगरभरि टल्किरहेको देखिन्थ्यो । आङ बेस्सरी तात्तिएको भएपनि त्यहाँ घाममा पलिनाको मुहारको उज्यालोले आकर्षित गरिरहेको थियो । म उसका निला गहिरा आँखाहरुमा पौडिन खोज्दै थिएँ । तर, ऊ घरि मतिर हेर्थी भने घरि पारिको डाँडातिर आँखा लगाउँथी ।

चैतमासको खडेरीमा बालुवाको बगरमा यात्रा गर्नु कति कठिन हुन्छ भन्ने थाहा हँुदाहुँदै पनि हामी निरर्थक बरालिएका थियौं ।

पलिनाको खैरो रंगिएको कपाल चर्को घाममा टल्किएको थियो । किन हो उसको मुखाकृतिभित्र कुनै विशाल पीडाको दह छ झैं भान हुन्थ्यो । तर बाहिर ऊ प्रसन्न देखिन्थी ।

‘पलिना तिम्रो गाउँको सामिप्यताले मलाई लोभ्याएको छ ।’

‘साँच्चै भन्नु पर्दा यो गाउँलाई तपाईंको आवश्यकता छ । यो गाउँलाई जति गर्नुभो सायद यस गाउँकाहरुले समेत गरेका छैनन् । यसै गाउँमा जन्मिएर ठूला पदमा पुगेकाहरु पनि छन्, तर तिनीहरुले आफ्नो कर्तव्य बिर्सिएर सहरतिर आरामको जिन्दगी काटिरहेका छन् । तपाईंको योगदान र कर्मलाई हामी कहिल्यै बिर्सने छैनौं ।’

पाइलाहरु बालुवामा भास्सिदै उचालिने क्रममा मन लागी नलागी अघि बढ्दै डोबहरुलाई पछि पार्दै थियौं । मभित्र यो रमणीय स्वर्गझैं गाउँ छोड्नु पर्ने पीडासँगै प्रेमको गहिरो छाप आधा छोडी आधा लिएर जानुको अर्धचेतनाले डसिरहेको थियो । मैले उसलाई हेर्दै भनें—

‘तिम्रो साथ र सहयोग बिना मेरो यो यात्रा पनि असम्भव नै थियो । यो गाउँको सोझोपन र विश्वासको फाइदा अरु कसैले उठाएको भ्रमको पर्दा उघार्नु कम गाह«ो थिएन । जुन तिम्रो साथ र सहयोगले सम्भव र सहज भयो । मैले जति गरें त्यति नै तिमीले पनि गरेकी छौ । त्यसैले तिमी पनि धन्यवादको पात्र, अधिकारी हौ ।’

ऊ मलाई धेरै टाढाको जूनलाई टोलाएर हेरिरहेभैmं गरी एकोहोरो हेरिरहेकी थिई । म उसका हात समाएर उसका गुलाबी ओठहरुको प्रशंसामा मन्द मुस्कानको वर्षा गरिरहेको थिएँ । जसले मलाई फेरि पनि आकर्षित गरिरहेको थियो ।

इन्द्रावती ठूलै गर्जनसँगै आफ्नै वेगमा दक्षिणतिर बगिरहेकी थिइन् ।

निलो दह म आफ्नै सामु बगिरहेको देख्छु । लाग्छ, पलिनाका आँखासँग इन्द्रावतीको निलोरङ्ग साटिएको छ । ऊ मेरै सामु छे, म उसको सामु छु । यो इन्द्रावती सुनकोशी नदीसँग मिसिएको छ । वास्तवमा संसार एउटा मिलनबिन्दुमा अडिएको छ ।

∙∙

छ महिना अघि म यस दुर्गम, रमणीय अनि शान्त बस्तीमा आएको थिएँ । इन्द्रावतीको सुसाइले मलाई नजिक तानेको थियो । सुनकोशीको बगाइले लोभ्याएको थियो । एउटा खुसीको भण्डार यही ठाउँमा एकसाथ भेट्टाएको महसुस गरेको थिएँ । त्यही खुसी संगालेर यो गाउँमा एउटा नयाँ कार्यक्रमको सुरुवात गर्न भनी म आएको थिएँ । गाउँको एउटा घरमा बस्ने बन्दोवस्त मिलाइएको रहेछ, सञ्जोगबस त्यही घर पलिनाको थियो ।

‘यो कोठा तपाईंको लागि हो । केही चाहिए भन्नुहोला ।’ उसले पहिलोपटक म बस्ने कोठाको चिनारी गराउँदै भनेकी थिई ।

कोठा चटक्क मिलेको थियो । ओछ्यान सफासँग मिलाइएको । झ्यालसोझी बाहिरको पहाडी मनोरम दृश्य देखिनेगरी थियो । टेबल राखिएको ठाउँमा अर्को झ्याल थियो जसको सामुन्ने अर्को घरको झ्याल प्रस्टैसित देखिन्थ्यो । त्यो झ्याल भएको कोठा पलिनाको थियो । बस्दैजाँदा पछि थाहा भयो ।

मैले ‘हुन्छ’ भनिदिएँ ।

ऊ सरासर त्यहाँबाट गई । उसलाई राम्रोसित हेर्नपनि भ्याइनँ । सम्झिँदा ऊ गइसकेकी थिई । आफूले बोकेको झोला ओछ्यानमा फ्यात्त फालें । थाकेको शरीर ओछ्यानमा लमतन्न पसार्न पुगें । पहाडी बाटो हिँड्नुको मज्जासँगै थकाइको मीठोपनले शरीरले ओछ्यान पाउनासाथ निन्द्राले छोपेथ्यो । त्यहीँ निदाएछु ।

∙∙

बालुवामा एकछिन अडिनु पनि कष्टकर थियो । हामी मन्द पाइलामा आफ्नो मनको भारी लिएर अघि बढिरहेका थियौं, इन्द्रावती बगिरहेजस्तै गरी ।

‘तपाईं मलाई कहिल्यै बिर्सन नसक्ने अमिट छाप छाडेर जाँदै हुनुहुन्छ । इन्द्रावतीको यो बगर साक्षी छन् । हाम्रो संगमको प्रतिपलको यथार्थलाई हामीले कहिल्यै बिर्सिएनौं । हामीले केवल एकअर्काको सामीप्यतामा प्रकृतिको वरदानलाई प्रेमरुपको नयाँपनमा एकअर्कालाई बाँड्यौं । साटासाट ग¥यौं । भन्नुपर्दा सहयोगी बन्यौं । प्रकृतिले पनि एकअर्कालाई साथ र सहयोग दिन्छ भने हामी मानव भएर किन पछि पर्ने ? त्यसैले मेरो माया सदैव तपाईंप्रति समर्पित रहिरहने छ ।’

‘पलिना ! तिम्रो माधुर्य साथ हरदम मेरो श्वास र धड्कनमा रहिरहने छ । तिमी मेरोलागि सधैं जुनेली बनी मेरो अन्धकार भत्काउने उज्यालो बन्यौ । मलाई डो¥याएर तिमीले उपवनको अवलोकन मात्र गराइनौ । सुवासको सौभाग्य दिलाएकी छौ । त्यसैले तिमी मेरो मनमुटुमा विराजमान छौ ।’

घामको चम्किलो प्रकाश आँखा तिरमिराउने गरी ओछ्याइएको थियो । म अझ केही भन्न चाहन्थे त्यो मेरो जीवनको अमूल्य क्षणको अंश हो झैं लागिरहेको थियो । तर श्वास अवरुद्ध भई शब्द अड्किएझैं लाग्थ्यो । उसको चम्किलो अनुहारमा घामको उज्यालो परिरहेको बेला मलाई नै तानिरहेको थियो ।

हामी दुईठूला पहाडहरुको मध्यभागबाट बगिरहेको इन्द्रावतीको कलकल आवाजसँगै बगरको तातोमा पाइला बेमनले उचालिरहेका थियौं ।

घाम चर्को छ । बगरमा चलिरहेको हावा तातो लागिरहेको छ । यस्तो लाग्छ हामी आगोमा हिँडिरहेका छौं । ओठ सुख्खा भएको थाहा हुन्छ । आफ्नै छायाँ मधुरोसँग आफूसँगै हिँडेको देखिन्छ । छाया हामीलाई पछ्याइरहेको छ । खै यसरी हामी एकअर्कालाई पछ्याउन सक्छौं कि सक्दैनौं ? गर्मीले उखरमाउलो गरिरहेको बेला हामी चुपचाप अघि बढिरहेको जस्तो लाग्छ । हामीमा कुनै उल्लास छैन ।

यतिखेर म गाउँको मीठो सम्झना मुटुमा गाँठो पारेर अघि बढ्दै गाउँलाई पछि पार्दै थिएँ ।

∙∙

गाउँ गाउँजस्तै थियो । पहाडी भूबनोटमा धूलो नै यहाँको प्रिय लाग्थ्यो । विकासको दृष्टिले साह्रै पिछडिएको अवस्थामा थियो । आर्थिक, स्वास्थ्य, शिक्षा अनि चेतनाको विपन्नताबाट गुज्रिरहेको पाएँ । जहाँ मेरो उपस्थितिको आभास सजिलै सहज हुने थिएन सायद ऊ नभइदिएको भए । मलाई गाउँको परिवेशसित भन्दा पनि गाउँलेको परिस्थिति र अभावसँग घुलमिल हुन निक्कै कठिन र समय लागेको थियो । उपत्यकादेखि पूर्व पर्ने दोलालघाटदेखि उत्तरतिरको यो गाउँ मलाई औधी मन परेको थियो । राजधानीबाट तीनचार घण्टा पर भएपनि विकास र शिक्षाले उतिसाह्रो प्रभाव नपरेको ठाउँ प्रतित हुन्थ्यो । हुन त यहाँका गाउँलेहरु राजधानी आउजाउ गरिरहेका हुन्थे ।

पलिनाको साथ र सहयोगले म अघि बढ्न सक्ने भएको थिएँ । उसले भनेकी पनि थिई, ‘तपाईं हाम्रो लागि भनेर आउनुभयोे । मैले यति सहयोग पनि गरिनँ भने तपाईंको आवश्यकताको महसुस यी गाउँलेहरुले कसरी गर्लान् । त्यसैले तपार्इंको कर्मको फल यही गाउँमा फल्छ, फुल्छ भने हाम्रो पनि केही जिम्मेवारी हुन्छ ।’

उसको यही भनाइले मलाई आकर्षित गरेको थियो । ममा प्रेरणाको स्रोत अनि उर्जा थपिएको आभास हुन्थ्यो । जसले गर्दा म अझ डटेर गाउँको लागि काम गर्न सक्ने भएको थिएँ र भन्थें —

‘तिमी आफैंमा सुन्दर त छँदै छौ । अझ तिम्रो सुन्दर विचार र सहयोगको भावनाले म प्रसन्न र कृतज्ञ छु । मलाई लाग्छ तिम्रो सहयोगको प्रतिफल यस गाउँका प्रत्येक व्यक्तिले पाउनेछन् । यसरी सहयोग गर्ने व्यक्ति हरेक ठाउँमा भेटिने हो भने विकासको कुनै पनि योजनामा द्विविधा आउने छैन ।’

गाउँ विकास समितिको कार्यालय भन्नुमात्रको देखिन्थ्यो । द्वन्द्वकालदेखि गाउँको काम जिल्ला सदरमुकाममा गएर गर्नुपर्ने हुन्थ्यो । त्यसैले पनि गाउँलेहरु सरकारी र गैरसरकारी निकाय प्रति प्रतिबद्ध र आशातीत देखिँदैनथे । जग्गा मालपोत तिर्न समेत सदरमुकाम चाहार्नुपर्ने भएकोले विपन्नताभित्रका जनताले मर्का खेपेकै हो भन्न सकिन्थ्यो । खानेपानीको हाहाकार थियो । न त कुनै योजना पथ्र्यो । माथिल्लो निकायको योजना नपर्नु यस ठाउँको अर्को दुर्भाग्यपूर्ण अवस्था थियो ।

त्यसैले होला मेरो आगमन अप्रत्यासितरुपमा गाउँलेहरुको लागि अविश्वसनीय भएको थियो ।

पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरें । यो गर्नु जरुरी थियो । म गाउँमा केही गर्न चाहन्थें । जसका लागि गाउँलेसित घुलमिल हुनु थियो । उनीहरुको मन जित्नु मेरो उद्देश्य हुन्थ्यो । मैले गाउँका बुद्धिजीवी, भद्रभलाद्मीहरुकोे एउटा भेला डाकें । उपस्थिति निकै राम्रो भयो । त्यो भेलाले स्वास्थ्य शिविरमा सम्पूर्ण रुपमा सघाउने विश्वास र प्रतिवद्धता दिलाएको थियो । सबैको एकमत थियो । यो निर्णयले सारा गाउँले खुसी भएका थिए । म झनै खुसी भएँ ।

आखिर त्यो दिन पनि आयो ।

निःशुल्क शिविरको आयोजनाले गाउँ नै उत्साहित देखिन्थ्यो । गाउँको अध्यक्ष लगायत शिक्षकवर्ग एवम् दलीय प्रतिनिधि सबैको सहयोग पाएर आयोजक पनि मख्ख थियो । विशेष पलिनाको उपस्थिति त्यस शिविरमा उल्लेखनीय लागेको थियो । ऊ सबैतिर सघाउन भ्याउँथी ।

‘संगम बाबु तपार्इंले साँच्चै नै यो गाउँको लागि केही गर्नुहुने छ ।’

‘संगम सर ! आखिर तपाईंले हाम्रो लागि गर्नुभयो ।’

‘संगम नानी तिम्रो सेवा गर्ने बानी धेरै राम्रो छ । भगवानले हेरुन् ।’

हरेकले पाएको सुविधाको श्रेय मलाई दिएर जान्थे । सुनेर म आनन्दित हुन्थें । आखिर गाउँको विपन्नताभित्र लुकेको स्वास्थ्यको समस्यालाई स्थानीयस्तरमा नै सरल र सहज ढंगबाट निर्मूल गर्न पाउँदा सबै खुसी थिए । आजको यो सौहार्दपूर्ण वातावरणले मेरो उद्देश्यको ढोका खोलिदिएको थियो । मलाई त्यसदिन स्थानीय युवाहरु लगायत वृद्धजनहरुले समेत सहयोग र सुखानुभूतिको अनुभव दिलाएर आ–आफ्नो घरतिर लागेका थिए । समग्रमा भन्नुपर्दा म ज्यादै खुशी थिएँ । बल्ल मभित्र एक उज्यालो प्रकाशले मलाई आफ्नो लक्ष देखाइरहेको थियो ।

बेलुकीपख म आफ्नो कोठामा एक्लो हुन्थें । मसँगै हुन्थ्यो मेरो डायरी । टेबलमाथि डायरी राखेर दैनिकी लेखिरहेको मात्र थिएँ । त्यसैबेला पलिनाको उपस्थितिले म एकछिन अलमलिएँ । लेखुँ वा नलेखुँको दोधारमा हुँदाहँुदै पनि म अडिएँ र उसको धपक्क बलिरहेको अनुहारलाई एकोहोरो पढिरहें । त्यहाँ मैले खुसीको बाढी उर्लिएको, सफलताको शिखर चुमेको क्षणको उत्साह अनि उकुसमुकुस भई पोखिन खोजेको खुसीका रेखाहरूको छाल देखिरहेको थिएँ । ऊ अति नै राम्री देखिएकी थिई । उसका चकलेटझैं ओठमै मेरा नजर अडिएँ । रेशमी केशमा ऊ घरिघरि हात पु¥याउथी । छोपिएको अनुहारको घुम्टो खुलेझैं आभास दिलाउथ्यो ।

उसका नरम चकलेटी ओठ खुले ।

‘के लेख्दै हुनुहुन्छ ? कतै मैले गलत समयमा त प्रवेश गरिनँ !’ नजानिँदो पाराले मलाई जिस्काउन खोजी ।

म उसैलाई हेरिरहेको थिएँ । एकोहोरो मुस्कान छरिरहें । ‘हैन....हैन....तिमी सहि समयमा आयौ । म तिमीलाई नैै पर्खिरहेको थिएँ ।’ उसको हात समात्दै छेउको कुर्सीमा बस्न लगाएँ ।

मेरो हात उसको हातमै थियो । ऊ भने बसिसकेकी थिई । मेरो ओठको कम्पन सुरु भइसकेको थियो । म आजको खुसी बाड्न चाहन्थें । म केही बोल्दै थिएँ तर वाक्य बनिसकेकै थिएन । आँखाले एकोहोरो उनको तारिफ गरिरह्यो । म बबुरो लाटो पो भएको रहेछु । सम्पूर्ण रुपमा म आफूलाई उनीमा समर्पित भएझैं एकोहोरो भएको थिएँ । यो सफलताको श्रेय उसैलाई दिन चाहन्थें तर शब्द नभेटिएको अवस्थामा यी दुई आँखाको माध्यम नै प्रयोग गर्न चाहें । एकोहोरोमात्र हेरिरहें । अन्त्यमा उसैले ओठ खोली, ‘अर्को हप्ता यहाँ नाटक प्रदर्शन हँुदैछ । तपाईको सहयोगको अपेक्षा राखेको छ साँस्कृतिक समूहले ।’

‘कस्तो सहयोग ? म सक्दो सहयोग गर्छु ।’ बल्ल पो बोलेछु । कस्तो हुस्सू । उसले हात छुटाइसकेकी रहिछ । एकपल्ट लाज पनि लाग्यो ।

साँस्कृतिक समूह । त्यो पनि यस गाउँमा पहिले कहिल्यै थियो जस्तो लागेको थिएन । तर जे होस् विकासको बाटो पछ्याउँदै गरेको अनुभवसँगै खुसी भएँ । अप्ठ्यारो मान्दै उसलाई हेरें । ऊ मलाई नै हेरिरहेकी थिई ।

‘तपाईं नाटकमा अभिनय गर्न सक्नुहुन्छ ?’ मेरो हात समात्दै उसले एकोहोरो हेरी । त्यो निलो गहिरो आँखाले एकनाश हेरिरही । जस्तो कि म उसको लागि अमूल्य चिज होस् । उसको रेशमी कपाल बत्तीको उज्यालोमा चम्किरहेका थिएँ मलाई नै लोभ्याउने गरी । उसको आग्रह मिश्रित प्रश्नको जवाफ दिन मलाई हतार हुँदाहुँदै पनि म उसलाई हेरिरहेको थिएँ । धेरैपछि भनें, ‘किन नसक्नु, सक्छु ।’

उसको उपस्थिति मलाई जुनेली रातको उज्यालो लाग्दथ्यो । पलिना मेरो बिहानीको पहिलो किरण भइसकेकी थिई । ऊ विनाको समय पट्यारलाग्दो हुन थालेको थियो । यसलाई अर्को शब्दमा भन्नुपर्दा हामीबीचको सामीप्यताको प्रतिफल स्वरुप प्रेमको विजारोपण भएको भन्नुपर्छ । हो, म उसलाई प्रेम गर्न थालेको थिएँ ।

उसको मनभित्र चियाउन नपाए पनि उसको आँखामा पनि प्रेमको याचना झल्किएको महसुस गर्ने गरेको थिएँ ।

तयारी राम्रै गर्न थालिसकेका थियौं । अभ्यास दिनहुँ ग¥यौं । त्यो विकट ठाउँको परिवेशभित्रको कथावस्तुमाथि अभिनय गर्न ज्यादै कठिन थियो । तर पनि कोशिस आवश्यक भएकाले सफलताको निम्ति हामी नाट्यकर्मीहरु सक्दो प्रयास गरिरहेकै हुन्थ्यौं । नाटक पलिनाले लेखेकी थिई । मैले त्यस नाटकको कथावस्तुमाथि गहिरो अध्ययन गरेको थिएँ । ज्यादै उत्कृष्ट घटनामाथि चित्रित गरिएको थियो । एउटा विपन्नताबाट मान्छे कतिसम्म उठ्न खोज्छ तर सकिरहेको हुँदैन । सम्पन्न व्यक्ति भने सधैं उक्लिरहेको हुन्छ । गाउँका सोझा, भोकाहरुलाई कसैले साथ र सहयोग गरी माथि उक्लिन भ¥याङको व्यवस्था गर्दैन । मान्छे आफैंले कोशिस गरिरहनुपर्छ निरन्तररुपमा अनि मात्र सफलता एकदिन हात पर्छ भन्ने सन्देश बोकेको कथावस्तु थियो । पलिना आफैंले मलाई एउटा राम्रो समाजसेवी व्यक्तित्वको भूमिका जिम्मा लगाएकी थिई । आफूले यति राम्रो भूमिका पाउँदा गौरवको महसुस भएको त थियो तर गौरवसँगै जिम्मेवारीको थप काम थियो, कठिन अभिनय । म आफ्नो जिम्मेवारीमा एकइञ्च तल पर्न चाहँदिन थिएँ र पलिनालाई सक्दो सहयोग गरी नाटकको सफल प्रस्तुति गराउन चाहन्थें । त्यसैले अहोरात्र अभिनयको पूर्व तयारीमा लागिरहें ।

ग्रामीण परिवेशमा विस्तारै घुलमिल हुँदै थिएँ । यहाँको जनजीवनदेखि धेरै हदसम्म परिचित हँुदै आफूले लिएको जिम्मेवारी धैर्यतापूर्वक निर्वाह गर्दै गएँ । अति कम उब्जनी हुने ठाउँ भएकोले विपन्नता यहाँको जरो नै थियो । समय बलवान हुन्छ भन्ने सत्यप्रति विश्वस्त हँुदै गएको अवस्थामा यो गाउँको सान्निध्यताले मलाई लोभ्याउँदै गइरहेको थियो । त्यसैले आफ्नै गाउँ हो भनी गाउँलेका लागि काममा एकाग्र थिएँ ।

‘तपार्इं आज आउनु भएन । सबैजना तपार्इंको प्रतीक्षामा थिए । सञ्चो भएन कि कसो ?’ मेरो कोठामा आउँदै गर्दा पलिनाले सोधेकी थिई ।

म भने ओछ्यानमा लमतन्न परेर दुखिरहेको शरीरलाई आराम दिलाउने प्रयासमा थिएँ । टाउको पनि बेस्सरी दुखिरहेको थियो । उसको आगमनको खुसीको आभाससँगै भनें, ‘मलाई ज्वरो आएको छ, त्यसैले म आज आउन पाइनँ, क्षमा चाहन्छु ।’

अत्तालिएको अवस्थामा ऊ मेरो ओछ्यानमा आई निधार छाम्न पुगी । उसको नरम हातको स्पर्शले आनन्दित तुल्याएको त थियो नै तर चिसो निधारबाट पसेको थाहा भयो । यसको मतलब उसलाई अवश्य मेरो तातोेले बतायो होला मलाई ज्वरो आएको छ भन्ने । आफ्नो रुमाल झिक्दै उसले चिसो पानीमा भिजाउँदै निचोरेर मेरो निधारमा राखिदिई । यसरी यो क्रम धेरै पटक दोहो¥याइरही । मेरो तातो शरीर केही मात्रामा कम हँुदै गएको महसुस भयो ।

‘आजको दिन कस्तो रह्यो ? अब त धेरै दिन बाँकी छैन ।’ उसलाई हेर्दै बिस्तारै बोलें । बोली दबेको थियो । अब पो बिरामी छु जस्तो लाग्यो । ऊ मलाई स्याहार गर्दै थिई ।

‘धेरै राम्रो हुँदैछ । आजको रिहल्सलले के भन्छ भने हामी अवश्य सफल हुनेछौं । प्रयासको राम्रो अनुभव हुनेछ ।’ निधारको रुमाल झिक्दै पानीमा चोपली ।

‘हिजोसम्मको मेरो प्रयास कस्तो लागिरहेको छ ?’ किन सोधे“छु जस्तो लाग्यो । भैगो सोधी त हाले !

‘राम्रो ! अवश्य पनि तपार्इंको काम ज्वलन्त भएको छ । आफ्नै अनुभव र कामको जीवन्त अभिनय गर्दै हुनुहुन्छ । हाम्रो समूहले तपाईंको प्रशंसा गरेका छन् ।’

यसबेला म भित्रैदेखि लाज मानिरहेको थिएँ । किनकि म प्रयास गर्थें, नजानिदो तरिकाले । ऊ अहिले मेरो तारिफमा शब्दहरु खेर फालिरहेकी छ जस्तो लाग्यो र भनिहालें, ‘अवश्य पनि तिमी मेरो प्रशंसा गरिरहेकी छौ । किनकि मलाई तिमी राम्रो मान्छौ । आफ्नै मान्छे मान्छौ । त्यसैले हुन सक्छ तिमीले राम्रो दृष्टिले हे¥यौ । त्यो त भोलि प्रदर्शनीमा थाहा हुनेछ मेरो अभिनय कस्तो हुन्छ । हैन त ?’

उसको भावनामाथि ठेस नपुगोस् भन्ने पनि लाग्यो । आफ्नै मुल्याङ्कनको जोखाना हेर्नु थियो । धेरै पो बोलेछु । अनि म अबोधझैं उसलाई हेरिरहन्छु ।

बाहिर रात घनघोर बनेर आफूलाई डरलाग्दो बनाउदै हामीलाई डराउने प्रयासमा झ्यालदेखि चिहाइरहेको थियो ।

पलिनाको हात समाउँदै भनें, ‘तिम्रो सामीप्यताले मेरो ज्वरो अब कम भएको छ । तिमी मेरो लागि ओखती भयौ, त्योभन्दा बढी हौ । अवश्य मेरो जिन्दगीको एउटा पाटो हौ ।’

होश हराएझैं आफ्नो मनको पानापाना पल्टाइरहें । ऊ मलाई सुनिरहेकी थिई । हामी एक भएको अनुभव साटासाट गरिरहेका थियौं । हामीबीच अनुपम प्रेमको सुगन्ध फैलिरहेको थियो ।

फागुनको सुख्खा मौसम । पानीको हाहाकारमय अवस्था । मान्छे गाउँभरि पानीकै लागि कुदिरहेका देखिन्थे । अभावको यस्तो दुःखद क्षण र अवस्था मैले कही“ कतै देखेको थिइनँ । गाउँ वेरुपको देखिन्थ्यो । यो वर्ष यस्तै भयो । देशभरिका ठाउँ–ठाउँमा पानीको अभाव देखाप¥यो । गाउँको विकटता र विपन्नताभित्र कतैबाट योजनाको मूल नफुट्ने यो ठाउँमा बिरामीको चाप बढ्दै गएको थियो । हामी यी अभाव र बिरामीको चापलाई घटाउन सघाउने काममा जुट्यौं । सबैतिरबाट सहयोगको हात पाएर हामी लगायत सम्पूर्ण गाउँले हर्षित थिए । यस्तोमा पनि हामीले नाटक मञ्चन गरेरै छाड्यौं । यो सम्पूर्ण कामको श्रेय पलिनालाई दिनुपर्ने देखिन्थ्यो । उसको समाजसेवाको हिम्मतिलो प्रयास, कदम र जाँगर सराहनीय थियो ।

∙∙

बालुवाको तातो वाफले शरीर उकुसमुकुस भएर ढाँड, आङ घामको चर्को तापमा सेकाएर हिँडिरहेझैं लाग्थ्यो ।

‘पलिना, मलाई तिमी औधी मन प¥यो । त्यसैले तिम्रो सामीप्यता मेरा लागि सुखद भए । अब छुट्नुको पीडा कठिन छ । यो सत्य हो । मेरो विगतको अवस्थावारे तिमीलाई अवश्य भनेको हँु । मैले तिमीलाई गुमराहमा राखेको छैन । म विवाहित हुँदाहुँदै पनि तिमीले प्रेममय पुष्पवर्षा गरी मेरो मायालाई स्विकारेकी छौ । यो तिम्रो महानता थियो जो मेरो अभीष्टलाई लत्याएनौ । तिमीलाई धन्यवाद छ । फेरि पनि भन्छु, म तिमीलाई यो मुटुमा सजाएर राख्नेछु । तिम्रो खाँचो छ मलाई । त्यसैले निर्णय बदल्न सक्छौ ।’

इन्द्रावतीको बगाइसँगै उसको हिँडाइको कदम कतै मिलेको थिएन । ऊ मलाई सुनिरहेकी थिई । उसको अधैर्यता त्यहाँ देखिँदैन थियो ।

हावा मन्द बनेर वहेको थाहा हुन्छ । शितलता शरीरको कुनासम्म नपुगे पनि चिसोपनको क्षणिक आनन्द मिल्छ । ऊ मौन छे । आकाश सफा देखिन्छ । धर्ती अहिले चर्को धूपमा निस्सासिएको प्रतित हुन्छ ।

‘तिमी सधैं मेरी हुनेछौं । म तिम्रो हुँ पलिना !’ म पीडानुभूतिसँगै कठोरपनको सामना गर्न सकिरहेको थिइनँ ।

निक्कैबेरको मौनता पछि पलिनाको मुहारभित्र एउटा सपनाको रेखा कोरिएझैं मलाई लोभ्याउने हिसाबले हेरिन् र बोलिन्, ‘प्रिय संगम ! तपार्इंको विगतको कुरा गर्नुभयो । के एउटा विवाहित व्यक्तिको मन मुटुमा माया हुँदैन ? उसलाई माया गर्ने अधिकारसँगै सौभाग्य पनि मिलेको हुन्छ होला । हो, तपार्इं सज्जन व्यक्तिलाई के मैले माया गर्न नहुने हो ? तपाईंजस्तो सुन्दर, सफा हृदयको व्यक्तिलाई मैले मन पराएँ र माया गरें । यो मेरो व्यक्तिगत अधिकार हो र भविष्यमा पनि यो मुटुमा तपाईंलाई नै सजाएर राख्ने छु । हो तपाईंप्रति मेरो एकलौटी अधिकार चाहिँ अवश्य छैन ।’

त्यसपछि ऊ केही नबोली चुपचाप भुइँतिर हेर्दै मन्द चापमा हिँड्न थाली । उसको मौनताको आभासमा समय शून्यमा थियो । म अनायास पाइला भारीसँग उचाल्दै बालुवामा डोब बनाउँदै अघि बढिरहें ।

गाउँको मायालाई भुलेर आफ्नो कर्तव्यको समयलाई सिध्याएर जानु थियो । जुन मेरालागि अति कठिन भएर आइदियो । म मेरी पलिनालाई छाडेर जानुको अर्थ आफ्नो मुटु छोडेर जानु समान हुन्थ्यो । हो, म त्यही गरिरहेको थिएँ । यो कठिन निर्णय हाम्रो समझदारी थियो । मनले नमानीनमानी पाइला चालेको त्यसै थाहा हुन्थ्यो ।

निलो इन्द्रावतीको बगाइको सुसाइ दुईठूला पहाडसँगको ठोक्काइमा प्रतिध्वनित हुन्थे । हाम्रा आँखा पनि घरिघरि आपसमा ठोक्किन पुग्थे । त्यस बखत लाग्थ्यो, प्रेमको अनुपम सागरको बगाइमा हामी कहाँसम्म बग्न पुग्यौं भने, हाम्रो अनन्त प्रेमको सृष्टि हुनेछ । यो क्षणिक विछोड मात्र हो दुई शरीरको, आत्मा त सधैं प्रेमको महिमा गाइरहने छ ।

∙∙

नाटक मञ्चनले व्यापक प्रचार लियो । त्यसको विषयवस्तु र प्रस्तुतिको धेरैले उल्लेखनीय बयान गरे । अन्ततः एउटा खुसीको कुरो सुन्नमा आयो । त्यो थियो यस गाउँको लागि खानेपानीको आयोजना एउटा संस्थाले जिम्मा लिएको । संस्थाले नाटकको विषयवस्तुले तानेको प्रभावको छाप स्वरुप आफ्नो काम गर्ने मनसाय राखेको थियो । यो बडो खुसीको कुरो थियो । पानीको निक्कै ठूलै समस्या थियो यस गाउँमा । त्यही अब निमिट्यान्न हुने अवसर देखा प¥यो ।

गाउँमा संस्थानका कर्मचारी आए । गाउँको वास्तविकता र पानीको दुःखलाई आफ्नै आँखाले हेर्न भ्याए । उनीहरु सकारात्मक थिए । योजनका बारे सविस्तार बताएर फर्किए । सर्वेक्षण पनि चाडै गरे । सर्वेक्षणमा लागत र सामानका बारे कुरा भए । मुहानको खोजी गर्नु भनी फेरि फर्किए ।

सर्वेक्षणले लाग्थ्यो अब काम चाँडै हुनेछ ।

गाउँमा मुहान थिएन । मुहानको खोजी भयो । दःुखको कुरो के थियो भने पानीको मुहान नभएको गाउँको लागि अन्य गाउँबाट मुहान खोजी गरी ल्याउनुपथ्र्यो । अन्य गाउँलेले मुहान दिने कुरा गरेनन् । स्वतन्त्रता र स्वायत्त शासनको प्रतिफल पानीको अभावमा मुहान दिन चाहँदैनथे । यो कस्तो दुर्दशा थियो ।

गा.वि.स.बाट पहल गरियो । स्थानीय जनताहरुको भेला गरी समझदारी गर्ने बैठक गरियो, तर केही काम लागेन । जि.वि.स.को पनि हातको कुरो रहेन । मुखसम्म आएको आहार निल्न गाह्रो भयो । यस्तो परिस्थितिबीच कसैले विचार पु¥याएको देखिँदैनथ्यो । खासगरी राजनैतिक दलहरुले यो विषयमा कुनै सहयोग नै गरेनन् । भन्ने बेला जनताको लागि हामी गर्छौं भन्नेहरु अहिले सबै अदृश्य थिए । कतिका त अनुहारसम्म देख्न पाइएन । यो देखेर पलिना र म ज्यादै दुःखी थियौं । हामी माझ आएको खुसी हराउँदै गएको आभास हुन्थ्यो । म निक्कै निराशाभित्र हराएको थिएँ भने पलिना चर्को पीडानुभूतिभित्र पिल्सिएकी थिई ।

हामीले केही गर्न नसकेको पीडा मनभित्रै गाडेका थियौं । आखिरमा मुहानको अभावमा योजना सफल हुन सकेन । संस्थानले पनि मुख फेरिसकेको थियो ।

मेरो फर्किने दिन नजिकिइयो ।

आफ्नो कोठाको झ्यालसामु टेबुलमाथि डायरीमा लेखिरहेको थिएँ । यस गाउँको बारेमा शोधपत्र लेखिरहेको थिएँ । गाउँको बारेमा लेख्दा मैले मूलरुपमा पानीको समस्यालाई उदाङ्गो पारेर लेखें । यो मैले आफ्नो प्रोजेक्टमा बुझाउनु थियो । साथै म चाहन्थे राज्यले यसमाथि गम्भीर विचार गरोस् । त्यसैले मैले यी दुई अवस्थामा लेख्नु थियो । एउटा प्रोजेक्टको लागि र अर्को शोध ग्रन्थको लागि । निक्कै मेहेनत गरेको थिएँ । त्यसैबेला पलिना कोठाभित्र पसेको थाहा पाएँ । उसको आहट चिन्ने भइसकेको रहेछु, मनमनै आफैंलाई धन्य ठानें । ऊ म नजिक आएर उभिई । पलिनाको हरक मेरो वरिपरि फैलियो । उसको सुवासले म लठ्ठिएको थिएँ । एकोहोरिएको थिएँ ।

‘लाग्छ तपार्इंको शोध सक्दै हुनुहुन्छ ।’

म ट्वाल्ल परी उसैलाई पो हेरिरहेको रहेछु । कस्तो हुस्सु उसले झकझकाई । म फर्किएँ हामीबीच ।

‘हो । म लेखाइको अन्तिम चरणमा छु र यो गाउँको सामीप्यतालाई यसै डायरीमा कैद गरिरहेको छु ।’

‘तपाईंको फिर्तीले मेरो एक्लोपनलाई चिहाइरहेको छ । लाग्छ, अब यो एकान्त र यो कोठाको सहारा नै मेरो जीवन हुनेछ ।’

‘यो तिमी के भन्दैछौ । म तिमीलाई अवश्य लिन आउनेछु ।’ मेरो हात उसको हातमा थियो ।

‘संगम, तपाईंको जिन्दगीमा एकपलको वहार ल्याउन सक्ने क्षमतामात्र छ । अधिकार मलाई छैन सधैं तपाईंकी भइरहन । म तपाईंकी हुँ । तर तपाईं अरु कसैको पनि हुनुहुन्छ । यो यथार्थ पनि हो । त्यसैले हामीले सम्झौतामा बाँच्नुपर्छ ।’ उसले हामीबीच भएको प्रेम र सम्झौताको बारे सम्झाई । म ट्वाल्ल परिरहें । के भनौ मसँग शब्द थिएन ।

त्यो रात हामी निक्कै बेरसम्म जूनको उज्यालोलाई साथ दिइरहेका थियौं । हाम्रो भविष्य यात्राको अनिश्चितता मुटुमा गाँठो बनेर बसिरह्यो ।

∙∙

घाम चर्कोसँग बगरभरि टल्किरहेको देखिन्थ्यो । त्यो चमक भने हामीमा कतै पनि देखिएको थिएन । उकुसमुकुस शरीरसँग पाइलाहरु भारीसँग उचालिन्थे र बालुवामा डोब बनाउँदै अघि बढ्थे ।

म वास्तवमा आज पराजित थिएँ । आफूभित्र मौलाएको प्रेमको विजारोपणको फल चटक्क छोड्नु थियो । त्यसैले सोच्छु, विवाहित भएर पनि प्रेम मनमा अंकुराउनु उचित हो वा होइन । त्यसलाई फस्टाउन दिनु उचित छ, छैन । जे भए पनि हामी अब एउटा सम्झौतामा बाँच्नु थियो । त्यही सम्झौताको भारी पाइला उचाली गाउँबाट टाढिँदै थिएँ ।

इन्द्रावतीको किनारै किनारको यात्रामा हामी भविष्यको अन्धकार देखिरहेका थियौं । तर पनि मनमा एउटा सपना बोकेर अघि बढिरह्यौं जति बेला इन्द्रावती निलो भई आफ्नै तालमा बगिरहेकी थिइन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।