तिम्रो कसम फर्कि अब, नेपाल आउँदैछु
चोक – गल्ली पखेरीमा, फेरि छाउँदैछु
भुल्या छैन अटुट बन्धन, अजम्बरी माया
त्यै मायालाई तिमीबाट, फेरि पाउँदैछु ।
झरनासरी कञ्चन थियो, अधरको प्याला
चम्किएन खै त दुरबाट, धूप लाउँदैछु ।
झझल्कोमा तिमी नाच्दा, बुन्ने यो तृष्णा
धोको मनको फुकाउन, नेपाल आउँदैछु ।
तामाङसेलो मारुनी र, घङ्गरुको नाचमा
सम्झनामै जोस चढ्दा, बालन गाउँदैछु ।
मिठास थियो चोखो थियो प्रेम प्रकृतिको
बुझेन प्यास टाढाबाट, नेपाल आउँदैछु ।
खडा थियो देउराली, मीत लाउँदा साक्षी
उनकै अघि मीतको फेरि, हात समाउँदैछु ।
हिँऊकै रास, हिँऊकै झट्टी लडीबडी गर्न
तिम्रो कसम फर्कि अब, नेपाल आउँदैछु ।
धरान – २३, पानबारी, हाल: कतार