19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अदालत

कविता मनीषा अवस्थी February 17, 2016, 3:30 pm

ऊ आयो मेरो छेउमा

आयो छेउमै टक्क अडियो

आँखामा आँखा जुधाउनै नपाई

अस्ति मैले दिएको घुस सम्झेछ क्यार

ऊ निहुरियो

मेरो मन पनि हलचल नै थियो ।

आफ्नो वर्चश्वका निम्ति देखाइएको पैसा

त्यही अनुहार फर्केर आउँदा

फेरि माग्न वा माग्न लगाउन

किन आएको हो कुन्नि

म पनि त्यसै निहुरिए ।

मौन हामी दुबै भ्रष्ट्राचारी

क्षणभरपछिको समयको प्रतीक्षामा

वर्सौ‌ जस्तै कुरिरहेका दुबै

अनि हलचल दुबै मन

कमजोरी, गल्ती या बाध्यता

वा मेरो र उसको आवश्यकता

जुधेछ क्यार त्यो दिन ।

भ्रष्ट्राचार गर्न र गराउन बाध्य हामी

आज आफ्नै अदालतको कठघरामा

उभ्याइदियो आफ्नै मनले

बर्दिधारी प्रहरी हा.. हा ...

भन्दा भयानक त यही मन

न त ढाँट्न नै सकियो न लुकाउन

त्यसैले त बाध्य छौ आफ्नै अदालतमा

मन र इच्छाको बहस गराउँदै

अनि आफैलाई भ्रष्टाचारी ठहराउँदै

मौनताको फैसला

शिर निहुराउने यो फैसला

फलामे बार भित्रको कारागारभन्दा भयानक

यो मनको फैसला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।