19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बदलिएका घुम्तीहरु

कविता मनीषा अवस्थी February 25, 2016, 7:06 pm

फेरीरहन्छन् यहाँ जीवनका मोडहरु

अनि बदलिरहन्छन् कठीन घुम्तीहरु

आलिसान महलको कल्पनामा

शहरका गल्ली गल्ली चहार्दा

ठोकिन्छ कतै टाउको त कतै घुँडा

कतै एैय्या आथ्थु कतै खुशीको वर्षा

हर घुम्तीले एक सन्देश बोकी ल्याउँछ

आउने दिनप्रतिको आशाका किरण तप्काउँछ

र म थाप्न बाध्य हुन्छु अञ्जुलीभरी

त्यहि अञ्जुलीभरीको छायाँले बदलिदिन्छु

सँगै बदलिन्छन् हिड्ने गोरेटाहरु पनि

एकैछिन म बुद्धिमान बन्छु

जीवनका लक्ष्य परिवर्तन गर्छु

संसार मुठ्ठीमा राख्ने

अनि दुनियाको एक सम्राज्यमा

आफ्नो राजको कल्पना गर्छु

जब थकित गोडाहरु टक्क अडिन्छन्

उफ्फ जीवनका लक्ष्य भरिएको अञ्जुली त्यसै फुत्किन्छ

अनि क्षणभरमै बिलीन् हुन्छन्

अनि ठोक्किएको महशुस गर्छु

धिक्कार्छु आफ्नै निधारलाई

फेरिएका घुम्तीमा चित्त बुझाउँदै

अरुलाई देखाउँने ङिच्चाइसँग रमाउँदै

फेर्न बाध्य छु फेरिरहने घुम्तीहरु

बदल्न बाध्य छु जीवनका गोरेटाहरु

चहार्न बाध्य छु असरल्ल पर्दै हजारौं घुम्तीहरु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।