19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भ्यालेन्टाईन डे

कविता सञ्जु बजगाईं February 25, 2016, 7:21 pm
सञ्जु बजगाईं
सञ्जु बजगाईं

सखारै भालेको डाकले

'भ्यालेन्टाईन डे' ल्यायो कि ल्याएन साँईली,

तिम्रो बिस्ताराको छेउछाउमा ?

तिम्रा बारीका काँल्लामा

कठयाङग्रिने चिसो झेल्दै फुलेका गुलाबका फुल

कतिवटा छन् हँ ?

आज त निमोठेरै टिप्न भन है

तिम्रो प्रेमी साँईलालाई ।

देउराली के धाउँछयौ दिनदिनै !

आजभोली त,

चुच्चे ढुंगामा तितेपाती चढाएर माया भाकिन्न पो भन्छन् त,

बुकीफुल शिरमा सजाएर सौन्दर्य नापिन्न पो भन्छन् त,

भन्देउ– तिम्रो प्रेमी साँईलालाई,

प्रेम देखाउने स्वरुप बदल ।

'भ्यालेन्टाईन' आएको छ

प्रेम बुझाउने प्रारुप बदल ।

तिम्रो घरको चुल्हो नतारेर के भो ?

तिम्रो लाज ढाक्ने बस्त्र ठाउँ–ठाउँ फाटेर के भो ?

तिम्रा चरचरी फुटेका पैताला असैह्य दुखेर के भो ?

हात–मुख जोड्ने चिन्तामा फसेकी छयौ,

दुईछाक भोकै बसेर के भो ?

माटो कोतर्ने तिम्रा सलसलाउँदा औलाहरु,

काला नङ्ग्रा नै भएर के भो ?

तिम्रो प्रेमी साँईलाले आज देखाउने प्रेम कल्पेर त हेर,

बारीको काल्लाबाट फुत्किएर तिम्रा सामु आएका

सुकोमल गुलाबका थुङ्गाहरु त हेर,

तिमी पुग्नेछयौ...,

तिमीले कहिल्यै नकल्पेको रोमन साम्राज्य,

तिमी बुझ्नेछयौ...

ईशाईहरुको उत्सब 'लुपरकेलिया'

अनिभ्यालेन्टाईनको डरलाग्दो मृत्युदण्ड ।

हुने छैन त तिम्रो 'अल्टिमेट प्राप्ती' ?!

तिमी एकैदिनमा कहाँबाट कहाँ...!!

छेउघरे कान्छाको 'भाले-टाईम'भन्दा त,

भ्यालेन्टाईन कति राम्रो–राम्रो !

होइन त?

कखराभन्दा माथि उठ्नु पर्छ साँईली तिमीले

आफ्नो धरातलबाट बिर्सिदेऊ एकैछिन...।

तिमीलाई के थाहा?

आज तिम्रो देशका शहरहरु

गुलाबी भएका छन् अचम्मै गरी,

मखमली मुटुहरु टाँगिएर बजारहरु,

कोमल भएका छन् अचम्मै गरी,

हातेमालो गरेर जोडीहरु

प्रेमिल भएका छन् अचम्मै गरी,

पासासाहुकी क्यासियर श्रीमती कस्तरी रमाएकी

'भ्यालेन्टाईन'को ब्यापार नाफाले पीसा टावर हेर्न मन छ रे...।

तिमीपनि,

गाउँभरको सन्नाटा,

गुराँसे पाखाको दिक्दारे सुसाई,

कठालोमा बाँधेका भोका गाईबस्तु

तिम्रो गरिबि,

तिम्रा पीडा,

उकाली–ओराली,

कहीँकतै थन्क्याएर

आज तिम्रो प्रेमी साँईलासँग ' भ्यालेन्टाईन डे' मनाँउ ।

तिम्रो साँईला गुलाबका थुङ्गाहरु

तल्तिर काँल्लामा निमोठ्दै होला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।