19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सर्टिफिकेट

कथा विमल नेपाल March 4, 2016, 7:15 am

सर्टिफिकेट बोकेर दिनभर शहरका कार्यालयहरु धाउँदा ऊ एकदमै थाकेको छ । लखतरान भएको छ । शारीरिकरुपमा मात्रै होईन, मानसिकरुपमा पनि उत्तिकै थकित र चकित छ– समाज, संस्कार र प्रवृत्ति देखेर ।

अग्लो, पातलो र ख्याउटे ज्यानलाई सर्टिफिकेट बोकेको फ्यात्त फालेर चारखुट्टे खाटमा हुत्तिन्छ र सर्टका दुईवटा टाँक खोलेर छात्तिलाई शितलता दिने झिनो प्रयास गर्छ । दिक्दारिन्छ आफ्नो नालायकीपन र कलुषित कार्यालयहरुको चाकरी, गुलामी र भ्रष्ट आचारको संस्कार देखेर ।

आफ्नो लाखौंको लगानी, परिवार, समाज र स्वयम्को आशा, भरोशा– सर्टिफिकेटको दुई पन्नाको मोल, कागजको खोस्टा सरह वा ट्वाईलेट पेपर जति पनि नपाउँदा उसको मनमा कथित् शिक्षा र शैक्षिक योग्यताका प्रमाण्पत्रहरुप्रति घोर आक्रोश जागेर आउँछ । एक पटक आक्रोशको तिखो दृष्ट्रि प्रहार गर्छ– कागजको पोको माथि । तर, बेअर्थको । किनकि, ऊ भोलि फेरि पत्रिकाको भ्याकेन्सी कोलुमहरु हेरेर हिजो जस्तै, आज जस्तै विभिन्न प्राभईभेट अफिसमा विज्ञापन गर्दै हिंडनु छ उसलाई अप्रमाणित गर्ने प्रमाणपत्रहरुको– त्योभन्दा अर्को विकल्प छैन ।

ऊ एक पटक एक पटक आजको दैनिकी सम्झन खोज्छ । सम्झन्छ, न्यूरोडको एउटा अफिस कर्मचारी चाहिएको सूचना पत्रिकामा पढेपछि फोन गरेर लोकेसन माग्दै अफिसमा पुग्छ । एउटा फारम भर्न लगाईयो । र, फारम बुझाउँदा तिर्नु पर्ने तीन सय ऊसँग कुने कुरै भएन । त्यसपछि ऊ खिचापोखरीको काकाको छोराको फेन्सी पसलमा पुग्यो । र, पीडा र गुनासो पोख्यो । तर, उसले तीन सय पनि पत्याएन । किनकि, एक बर्ष पहिला परीक्षा फारम भर्न उसैसँग दुईचार दिनमा तिर्ने शर्तमा एक हजार रुपैयाँ सापट लिएको थियो । तर, उसले आजसम्म त्यो सापट सल्टाउन सकेको थिएन । विश्वास गुमाएको थियो । काकाको छोराले बोहनी नै नभएको बहानमा पैसा दिएन ।

काकाको छोराको पसलबाट बाहिरिएपछि वस भाडा तिर्न भनेर छुट्याएको पैसाले एउटा सूर्य चुरोट किनेर बुङ्बुङ्ती उडाउँदै शहिदगेट तिर लाग्यो । उसले सोच्यो, ‘पुतली सडकको मामाको कितब पसलमा गएर पैसा माग्ने । हुनतः मामासँग पनि पहिलेको ऋण तिर्न बाँकी नभएको होईन । मात्र, मामा भएकाले उसले उक्त निर्णण् गरेको हो । जेठको चर्को घाममा भृकुटिमण्डम हुँदै पुतली सडक पुग्यो । मामालाई सबै र खाँचो सुनायो । मामाले भन्नु भो, ‘भान्जा यस्तो पाराले जिन्दगी चल्दैन । एउटा जागिर खानुपर्छ । सानोठूलो जस्तो भए पनि काम गर्नु पर्छ । गाउँमा भिनाजुको पनि कमाई छैन । पीर छ उहाँलाई । भान्जा, पढेर मात्रै केही हुँदैन । पैसा चाहिन्छ, पैसा । सर्टिफिकेटले खान दिदैन । मैले पहिल्यै तिमीलाई पढाई छाडिदेऊ र विदेश जाउ भनेथें । पढेर केही गर्छु भन्यौ । तिमीसँगै एसएलसी दिएका गाउँका केटाहरु लखपती बनिसके । तिमी भने जागिरको लागि फारम भर्ने पैसा नभएर मलाई माग्दै छौ । तिमीलाई तीन सय होईन, पाँच सय नै दिउँला । तर, काम गर्नु प¥यो ।’ मामाका सल्लाह र सुझाबको गह्रौ भारी बोकेर पाँच सय नोट समाउदै उ पुतलीसडकबाट न्यूरोड गयो र शैीक्षक प्रमाण पत्र, नागरिकताको प्रतिलिपी र फारम बुझायो ।

चर्को घाममा हिड्दाहिड्दै थाकेको ज्यानलाई एकपछिन विश्राम दिलाउन न्यूरोडबाट रत्नपार्क आईपुग्यो । सर्टिफिकेट सिरान हालेर करिब आधा घण्टा एउटा रुखको सियाँलमा ढल्कियो । एउटा चुरोट सल्कायो । रत्नपार्कका सयौं मान्छेहरुको आ–आफ्नो कार्यलाप देखेर हाँसो पनि उठ्न खोज्यो । तर, हाँस्न सकेन– विचरो । किनकि, उसलाई त्यत्ति नै बेलामा मामाले भनेको एउटा कुराले प्रहार ग¥यो– ‘भान्जा तिमीसँगै एसएलसी दिएकाहरु लखपती भईसके । तिमी भने मसँग फारम भर्ने पैसा माग्दै छौ ।’ सत्य पनि थियो । उससँगै एसएलसी दिएको लगौटी साथीले काठमाडौंमा घर बनाईसकेको थियो । फेल भएको अर्को एउटा साथी दुई पटक विदेश गएर आईसक्यो । मनग्य पैसा कमाईसकेको छ । परारै काठमाडौंमा जग्गा किनीसक्यो रे । अरुअरु धेरै साथीहरुले प्रगति गरिसके । मोटरसाईकल नहुने त कोही छैन । तर, उ भने पैसालाई मात्र प्रगति मान्ने समाजमा तिरस्कृत भएको छ । उसको पढाई, वौद्धिकता र क्षमतालाई कसैले देख्दैन । यो समाज पैसा भएकालाई पूज्छ । कस्तो बिडम्बना– सोच्छ, ‘एसएलसी दिने बेला मैले ट्यूसन पढाएकाहरु मसँग राम्रोसँग बोल्दैनन् । फोनमा कुरा पनि राम्रोसाग गर्न चाहदैनन् । सबैले यत्ति चाही भन्छन्, ‘पैसा कमाउनु पर्छ बाबै पैसा ।’ म भन्दा दुई तीन ब्याज पछाडिका केटाहरु सम्म मसँग संगत गर्न चाहदैनन् । नातागोता, आफन्तहरु मसँग पैसा नभएकामा घृणा गर्छन् । यसका धेरै उदाहरणहरु छन् ।’ धरै बेर सोच्यो उसले ।

सोचाईको वेगले उसलाई रत्नपार्कबाट हुत्यायो । सिटी मःम सेन्टरमा गएर एक प्ल्लेट मःम दन्कायो । र वस चढेर कुपण्डोल गयो । जहाँ कामदार चाहिएको विज्ञापन बिहानै पत्रिकामा पढेको थियो । सोध्दैखोज्दै अफिसमा पुग्यो । रु. १०० तिरेर फारम भर्यो । र, टेम्पो चढेर कोटेश्बरको डेरामा आयो ।

उसलाई आजको अर्को एउटा घटनाले सतायो । रत्नपार्कबाट कुपण्डोल जाँदा सिटमासँगै वसेकी युवतीको । हँसिली, रसिली । सुगठित शारीरिक बनोट । र, श्रृ.गारमा सजिएकी त्यो केटीको आकर्षणले उसलाई उतिबेला लोभ्याउँदैन । आईमाई मासुको गन्धले छोएन । नारी श्रृंगारको गन्धले नाक रमाएन । सकसकाएन । उ अहिले जुत्तै नखोलिएको क्षणमा ओच्छ्यानमा गएर जबरजस्त त्यो केटीलाई सम्झिएर आनन्दित हुन खोज्छ । तर, सक्दैन । सोच्छ, ‘ मैले पिताको पसिना पाएँ । माताको खुन पिएँ । काठमाडौंमा पिउने पानी र रक्सी यस्तै स्वाद पाउँछु । आफ्नै आफ्नो लागि बोझको अनुभूत गर्छु ।’

दीर्घ निश्वासकासाथ उठेर जुत्ता खोल्न थाल्छ । गन्हाउँने र मोजा च्यातिएर तीन वटा औंला बाहिर निस्कने, सोल प्वाल परेर जुत्ता भित्र जम्मा भएका बालुवा र साना ढुङगाहरु, घुँडामा च्यातिएर रफू गरेको जिन्स पाईन्ट, चाउरिएरको पोलिस्टरको सर्ट । सबै कपडा खोल्दै गर्दा सर्टिफिकेटको कपडा सिलाएर लाउन नहुने यथार्थलाई बुझ्छ ।

फेरि अर्को चुरोट सल्कायो । पर्स चेक ग¥यो । ७० रुपैयाँ बाँकि रहेछ । सोच्यो, धेरै सोच्यो । र, एउटा निश्कर्ष निकाल्यो– ५० रुपैयाँले मात्न पुग्छ । एउटा सानो पर्दावाला भट्टी तिर लाग्यो । ऊ त्यही पिउँने गर्छ हरियो लोकल रक्सी । हो, ऊ अभ्यस्त भईसकेको छ । धेरेथोर पैसामा पनि मात्न । मातेर आनन्द लिन । एउटा विवशता भित्रको आनन्द । अभ्यस्त अभाव भित्रको आनन्द ! रक्सी क्षणिक भ्रम हो । तर, भ्रम भित्रै भए पनि एकै छिन आफूलाई भुलाएर आनन्द लिने दुष्प्रयास । त्यसो त यो जिन्दगी नै भ्रम हो । खुसी सुख सबका सब भ्रम हो । उ यस्ता कुराहरुलाई राम्ररी जान्दछ । त्यसैले त, ७० रुपैयाँ मात्र आफूसँग बाँ रहदा पनि भोलि हुने अभावलाई भुलेर आज पैसाका निमित्त लिनु परेको चिन्ता विर्सेर, दुई गिलास हरियो रक्सी र एक प्ल्ेट भटमाससँग जिन्दगीको ववशतासँग साट्न खोज्छ । र, रिक्ततालाई भर्न उद्दत छ । उसलाई दुई गिलास हरियो रक्सी पिउँन गाह्रो पर्दा बार र रेस्टुरामा महङ्गा विदेशी रक्सी र शहरका परीहरुसँग रात काट्ने समकालिन साथीहरुको ‘हाई लाईफ स्टाईल’ सम्झेर मुख अमिल्याउँछ ।

सट् सट् दुई गिलास पिएर बाकि भटमास सिध्याउँछ । उसले भट्टीका अन्य सहरक्स्याहासँग कुनै बहश गरेन । सर्टिफिकेट, पैसा र आफन्तको त्रिपक्षीय द्वन्दमा रित्यायो रक्सी । र लाग्यो आफ्नो उही सानो, फोहोर नि गन्हाउने डेरातर्फ । कोठा भित्र पस्नासाथ उसले ओच्छ्यान मथिको सर्टिफिकेटको पोकोलाई देख्यो । घरेर हे¥यो । मानौं, सर्टिफिकेटसँग उसको दीर्घकालिन सत्रुता छ । आक्रोशपूर्ण आँखामा एउटा अनौठो भाव देखा पर्छ । र, ओठमा एउटा पृथक मुस्कान । तर, कस्तो मुस्कानपत्र ? आफैं ब्यङ्ग्य पत्र भएर उभिन्छ । सर्टिफिकेटको पोकोले उसलाई र उसले सर्टिफिकेटको पोकोलाई, दुवैले क्षमताअनुसारको ब्यङ्ग्य गर्छन् । शितयुद्ध त्यतिबेला उत्कर्षमा पुगेर टुङ्गिन्छ जतिबेला आक्रोशको ज्वाला दन्केर स्टोभ छेऊको सलाई कोरेर सर्टिफिकेटको पोको जलाउँछ । त्यहीं जल्दै गरेको सर्टिफिकेटको ज्वालामा बाँकि रहेको एउटा चुरोट सल्काएर भक्लक्क ढल्छ– उही, मैलो र चिसो तन्ना माथि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।