19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आश्चर्य

कविता रजनी ढुंगाना March 10, 2016, 8:23 pm

के को आश्चर्य

के नै नौलो भयो र

सीताको अग्नि परिक्षा माग्ने यो समाजले,

औला उठायो, कानेखुसी गर्यो।

के बिस्मात केको गुनासो,

खुला आकाशमा बिचरण गर्नु तिम्रो स्वतन्त्रता ,

अनि छेउ छेउ सम्हालियेर पाइला सार्दा मैले , नदि उल्टो बग्यो,

तिम्रा बकम्फुसे कुरा गहन गहकिला

अनि मेरो तर्क चाहिँ पोथी बासेको,

तिम्रो अट्टहास त अर्थपूर्ण भैगयो

अनि मेरो मन्द मुस्कान छाडा, छिलिएको...

मेरो अतीत त जीवन भर कै अभिषाप

तर तिम्रो अतीत त सानो भुल मात्रै ,

के नै नौलो भयो र?

केको घोर आश्चर्य

मेरो ब्यस्तता , मेरो कार्य

ढोङ , गैरजिम्मेवारि,

तिम्रो सयर, तिम्रो यात्रा

भविष्यको पुर्व तयारी

घडीको सुइले साँझको सात हान्दा

चरीत्रको तराजुमा जोख्छौ मलार्इ

रात रात भर तिमी न आउँदा

त्यो तिम्रो मौलिक अधिकार ,

मेरो बुझाइ , मेरो चेतनशीलता

घमण्ड ,अहंकार

के नौलो भयो र के को घोर आश्चर्य?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।