तिमीले तेजाब हानेर गयौं
मेरो स्वरुप लाई बदलेर गयौ
थाहै थिएन सुन्दर छु म भनी
त्यो एहसास मलाई दिलाएर गयौ
तिमीलाई लाग्यो कुरुप भए म
अब मेरा पाइला रोकिन्छन ती सबले
अधि बढन खोज्ने केही बन्न खोज्ने
मेरा ती अठोटलाई रोक्छ त्यो बिषले
हिजोसम्म मलाई थाहा नै थिएन
म भित्र पनि केही खास कुरा छ
तिमीलाई पनि असुरक्षित बनाउने
त्यो दिब्य मुहार ममा रहेछ
मेरो जलेको अनुहारले नै अब हेर
मेरो सुन्दरता को बर्णन गर्नेछ
मेरो त्यो दृढ़ निस्चयलाई
डढेको मुहारले थप उर्जा दिनेछ
तिमीलाई लाग्दो हो जित्यौ तिमीले
मेरो मुहार लाइ नचिन्ने बनाई
रोक्यौ तिमीले मेरा पाइलाहरु
केही बन्न खोज्ने मेरा निर्णयलाई
मुहार त क्षणिक मृगतृकष्णा न हो
म भित्र सिंगै जीवन बाँकी छ
मेरा अठोटलाई मेरा उडानलाई
त्यो झिनो प्रहारले के नै लछार्छ
तिमीलाई लाग्ला अस्तित्व मेटायौ
मेरो जीवनलाई पुर्णविराम लगायौ
त्यो एक शिशी कालो पानीले
मेरा सारा सपना भिजाएर गयौ
तर त्यो सब त तिम्रा भ्रम हो,
मिथ्या हो
अब झन म लक्ष्य मा दौडियर पुग्छु
तिम्रा ती कम्जोर दुस्साहसलाई
आफ्नो जीवनको हतियार बनाउछु
म फुल्छु अब झन् बास्ना फिजाई
उड्छु यो गगनमा अझ तेज बेगले
रोकिन्न अब म केही प्रहारले
अब केही गुमाउने डर छैन मलाई