19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वसन्त

कविता मोहन सिटौला March 24, 2016, 8:33 pm
मोहन सिटौला
मोहन सिटौला

यी सिर्जनाका कणमा जुटेर

यी सिर्जनैका रसमा रमेर

वसन्तको प्रातमयी धरामा

स्रष्टा रमायो ! मृदु मञ्जरीमा

अहो ! उज्यालो बन भित्र भित्र

देखिन्छ रंगीन विचित्र चित्र

यो सृष्टिको सुन्दर बाल रूप

खुलेछ साँच्चै कि ! वसन्त–सीप !

प्रभात संध्या मृदु कंठ खोल्छन्

भाका मिलाइ कन ताल दिन्छन्

दिवा र र।त्री रमणीय बन्दै

बित्छन् अहा !बाल दिवा बिते झैं ।

यी बृक्षका सुन्दर आँकुराले

यी झारका कोमल पालुवाले

वसन्तको स्वागत शान दिन्छन्

द्रष्टा र स्रष्टा अनि लीन हुन्छन् ।

मुना नयाँ सुन्दर चित्र कोर्छन्

नाचेर ती फूल जिवन्त पार्छन्

आँखा भरी जीवन– चित्र चल्छ

गैरिन्छ दृष्टि सब भव्य बन्छ ।

माटो र ढुंगो,रुप, रंग , गन्ध,

प्रकाश, आकाश र वायु ,शव्द,

सुशीत्तल, सुन्दर बिन्दु,सिन्धू ,

बिम्बित हुन्छन् विविधाकृतिमा !

पला नयाँ,दृष्टि अझैं नयाँ छन् ,

सारा बनेली नव रुप लिन्छन् ,

उमंग उल्लास भरी नसामा,

फागू चल्यो रंग भरी धरामा ।

प्रभातको प्राचिन गर्भबाट

सौन्दर्यको नूतन चेतसाथ

बसन्तको दिव्य छटा उदायो

अहो ! यहाँ जीवन नव्य छायो !

वसन्तको मंगल दीप बाली

घरीघरी सिर्जन तैल हाली

छटा छरी दीप्त बनोस् बनेली

झुलेर नाचुन् सब ती सँगेली ।

आलोकको त्यै बनमा म बस्छु

उषामयी एक कथा म बन्छु !

मेरो रसीलो बन–कुञ्ज डुल्दै

रसाउँदै कल्कल शव्द गर्दै

वहन्छ रे ! चंचल स्वच्छ पानी

कहन्छ रे ! जीवनको कहानी ।

त्यो मूल फुट्दा म सँधै रसिन्छु

त्यो धार बग्दा म बगेर जान्छु

त्यो मूल मेरो दिल भित्र फुट्छ

त्यो धार मेरो दिल भित्र बग्छ ।

बग्छु म आफैं मुटु भित्र भित्र –

अशेष धारा दिलमा पवित्र !

पर्देशको नित्य नयाँ पथैमा –

यात्री म बग्दो छु नयाँ नयाँमा !

सौन्दर्यका गोपहरु मिलेर

मायाँ सगाल्छन् भवमा डुलेर

सँगै पराई , सँगमै छ भाई

छायाँ चहार्छन् जगमा रमाई ।

सुरम्य क्याछ ! रचना रमिता रमेको !

क्या !रम्य भाव–जपना ! विपना बनेको !

अहो ! प्रशन्न दिल–कोकिल कण्ठ खोल्छ ।

गुञ्जिन्छ गीत सब सिर्जन घन्कि दिन्छ !

यो चित्त चन्चल हुँदै मदमुग्ध हुन्छ ।

यो रंगिलो छवि छटा सब सिर्जनाको

यो चित्रको विविधता जन–जिन्दगीको

गुलाफ फुल्छ दिलमा रज–बिन्दु भित्र

वसन्त फुल्छ जनको जग–बाग भित्र

वसन्त फुल्छ भवको भव–भाव भित्र

यी प्रीतका सकल बिन्दु नियालि हेर्दा,

यी शीतका सबल सिन्धु–प्रवाह हेर्दा ,

रहस्य– खोज सँगमै दिलको, धराकोे–

न अन्त, हुन्छ भवका विविधाकृतीको ।

नेपालको प्रकृतिको मृदु चित्र भित्र

पाइन्छ देख्न छवि सुन्दरको विचित्र

अत्यन्त सुन्दर कला कविको कलाको

माता प्रकृति परिको कल कल्पनाको !

संस्कार संस्कृति यहाँ इतिहास लामो

सुसभ्यता विविध उच्च, कथा पुरानो

कृयाकलाप गरिमा, महिमा छ खुल्दो

नेपाल बाग—सुर सुन्दर भव्य फुुल्दो

नेपाल दिव्य दिल सुन्दर स्वच्छ सान

नेपाल भव्य सुरबाग भूस्वर्ग मान !

यस्तै विमुग्ध स्वरमा गीत गाऊँ भन्छु

हुँदैन शान्ति मनमा जब काल बुज्छु

एक्काशी उफ्रिन पुगी दिल औ शरीरै

भाषा बनी विकलमा सब छट्पटिन्छन् !

आए विभिन्न कटु काल घमण्ड स्वार्थ

कुशासकै, विविध पार्टि उजण्ड नेता

नेता र पार्टि निच अन्ध पराइभक्त

भएर नाश गरदै निज मातृभूमि

नितान्त स्वार्थ, कपटै भयो कर्मभूमि

धोका द्एि सकल स्वच्छ नेपालीलाई

नेपालको प्रकृति, संस्कृति रुन्छ हाई !

उता कता वहुदिशातिर जम्जमाई

अगस्ति पेट, चिलगिद्ध कुदृष्टि लाई

समान प्रेम छ भनी खलुखन्ती खन्दै

दूर्भाव द्यूत—शकुनी सरि जाल रच्दै

तिम्रै हुँ शाख ! भनि घाति विषाक्त बन्थे

थुन्थे ढोका र भुूmटका कटु जाल रच्थे

बुन्थे डोका र भरि पाथी कुचाल चल्थे

चुट्थे गफाष्ट सव विश्व विमुग्ध पार्थे !

छेक्थे नदी तट, समुद्र र मार्ग छेल्थे

रोक्थे ति पर्बत सिमान्त र क्षेत्र पेल्थे

नितान्त लोभ र अहं ! गरि शूल रोप्थे

नेपाल सुन्दर , नेपाली सुचित्त भन्थे !

शैतान झैं मधुर वक्ष सवै विरोल्थे !

अ‍ैले छ फेरि जनजागृतिमा नेपाल

नेता समेत अब देश सपारूँ चाल

भनेर स्वच्छ नितिमा सब लाम लागे

जागे नेता र जनता संविधान ल्याए

सद्भाव, होस, एकता र अठोट ल्याए

नेपालको सुयश कीर्ति सम्बन्ध सारा

फिंजाई सन्तती, स्वतन्त्र हितैषी, प्यारा

बुझे, बुझाए सवमा झुट दुन्दुभीको

तोडेर जाल, ढकनी अब नाङ्गियो त्यो ।

भागे कुकर्मी, जनघाती, पराई तर्से

नेपाललाई अब सकिन्न भनेर हच्के

पसे सप्रेम, मृदु सोच र स्वच्छ मित्र

सन्मान सान जन मान समान हीत

मात्रै छ बाँकी अब साहस कर्म वीर

दक्षीण भैंm अब सबैतिर मार्ग खोल

ज्यूँदो छ ध्येय उसको अझ अन्त छैन

भन्ने बुझेर अझ सचेत भएर नित्य

विवेक, तीक्ष्ण बल वुद्धि, दिलै सतर्क

भई सम्हालुँ , शिवबाग पवित्र देश

पूmल्छन् वसन्त मधु मास वसुन्धरामा

बल्छन् भूस्वर्ग जब यी जन जिन्दगीमा

नेपालमा मधुर मास सँधै फुलाऊँ

सन्तोष ,शििन्त सुख सुन्दर नै जिलाऊँ

गोल ढुङ्गा (राउण्डरक) टेक्सस् , अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।