14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भूमिकै भूमिका – एक पठन

विचार नवीन पौड्याल March 24, 2016, 3:37 pm
नवीन पौड्याल
नवीन पौड्याल

साहित्यमा पुस्तक प्रकाशनको ठुलो महत्त्व छ। साहित्य दखल हुने, अध्ययन गर्ने र रूचि हुने धेरै व्यक्ति समाजमा हुन्छन्। तिनमा रहेको प्रतिभाले उसलाई लेख्न झकझकाइरहेको हुन्छ। कसैले कविता, कसैले कथा कसैले निबन्ध र कसै के के लेखेका हुन्छन्। कतिले आफुले लेखेको यस्ता कथा कवितालाई कतै प्रकाशित गर्छन् त कतिले त्यतिकै आफुसितै सीमित राख्छन्। कतिले विभिन्न पत्र-पत्रिकामा प्रकाशन गर्न दिन्छन् र त्यतिकै छरिएर बस्छन्। कतिले ती छरिएर रहेका रचनालाई संकलित गरी पुस्तकाकार रूपमा प्रकाशित गर्छन्। वास्तव आफना रचनाहरूलाई प्रकाशित गर्नु आवश्यक छ। यसो गर्दा पछिका साहित्येतिहासकार, अन्वेषक, सर्वेक्षक, अध्येता र समालोचकहरूलाई धेरै सुबिधा पर्दछ। कुनै साहित्यिक किताब छापिनु भनेको सम्बन्धित भाषाको साहित्यको मानचित्रमा आफ्नो नाम स्थापना गर्नु हो। यद्यपि कृतिको साहित्यिक स्तर पनि कायम भने रहेको हुनुपर्छ।

पुस्तक प्रकाशन गर्ने क्रममा सबैभन्दा पहिले आफ्ना रचनाको फाइल तयारी गर्नुपर्‍यो। त्यसपछि त्यसबारे राम्ररी सच्याउनु, हेरविचार गर्नुपर्छ। कम्पोज गर्नु दिएपछि पुस्तकको प्रुफ राम्रो हेर्नुपर्छ। तीन चारचोटि मनोयोग दिएर प्रुफ हेरेपछि मात्र किताब त्रुटीहीन हुनसक्छ। प्रुफ हेर्नु पनि भाषा साहित्यको पूरा ज्ञान भएका व्यक्तिलाई जिम्मा दिनुपर्छ। किताबको आवरण आकर्षक हुनुपर्छ। पुस्तकको सेटिङ पनि अर्को महत्त्वपूर्ण पक्ष हो। प्रुफ राम्रो, कागज राम्रो, फन्ट राम्रो तर सेटिङ राम्रो नभए पुस्तक राम्रो मानिन्न। सेटिङ गर्न पारङ्गत व्यक्तिलाई मात्र य.सका निम्ति जिम्मा दिनुपर्छ। यो काम प्रेससित सम्बन्धित व्यक्तिले जान्दछन्।

यी त भए पुस्तक प्रकाशनसम्बन्धी मामुली कुराहरू। पुस्तकमा एउटा नभई नहुने जस्तो कुरा भूमिका हो। हुन त पुस्तकमा भूमिकालेखन हुनैपर्छ भन्ने अनिवार्य छैन तर पनि भूमिकाबिना पुस्तक अधूरो लाग्छ। भूमिका हाल्ने चलन छ, रीति छ परम्परा कायम भएको छ। यसर्थ, यसलाई अनावश्यक आवश्यकता पनि ठान्दा हुन्छ। यद्यपि आफुले किताब निकाल्ने क्रममा भूमिका खण्ड नभए त्यो किताबबारे कसैबाट प्रकाश पारिनु आवश्यकता पनि हो। आफुभन्दा अग्रज साहित्यकारलाई भूमिका लेख्न लगाइन्छ। भूमिका लेखक भरसक वरिष्ठ समालोचक होस्, आफ्नो प्रकाशोन्मुख किताबको प्रसंशा गरिदेओस्, सही मूल्याङ्कन गरिदेओस्, पाठकले भूमिका पढेर पनि आफ्नो मूल किताबको बारेमा सकारात्मक विचार उम्रोस, किताब उत्तम भएको यसबाटै थाहा पाओस् भन्ने लेखकको चाहना हुन्छ। भूमिकालाई पनि आशीर्वादपरक, परिचयपरक र आलोचनापरक गरी तीनवटा वर्गीकरण गर्न सकिन्छ। आशीर्वादपरक भूमिका लेखिदिने वरिष्ठ साहित्यकारले कृतिको पाण्डुलिपि पनि राम्ररी नपढी केही आशीर्वाद मात्र दिने काम गरेको हुन्छ। परिचयपरक समालोचनामा भने भूमिकाकारले लेखक र पुस्तकको सामान्य परिचय प्रस्तुत गरेको हुन्छ। यसमा कृतिको भन्दा बढी कृतिकारको परिचय बढी दिइएको हुन्छ। यस्तोमा कृतिको पाण्डुलिपि आद्योपान्त नपढी त्यसको केही मूल कुराको सामान्य परिचय दिइएको हुन्छ। आलोचनापरक समालोचना भने भूमिकाकारले कृतिको पाण्डुलिपि पढेर त्यसभित्रको मर्म-चूरो केलाउने प्रयास गरिएको हुन्छ। यस्तो भूमिका पनि प्रशंसापरक हुन्छ। भूमिकामा कृतिको गुण दोष नकेलाई प्रशंसा मात्र गरिएको हुन्छ। कुनै भूमिकाकारले कृतिको दोष पक्ष केलाउने काम गरेको पाइन्न। यदि कसैले किताबको भूमिकाको निम्ति दोष पक्ष केलाएको छ भने त्यो भूमिकाले स्थान पाउँछ वा पाउदैन, शंका छ। मूल सिनेमाअघिको ट्रेलर जस्तो हो भूमिका खण्ड। जसले सिनेमाको कथावस्तु र केही महत्वपूर्ण क्षणको बारेमा दर्शकलाई एक झलक दिन्छ। भूमिका प्रायः छोटो नै हुन्छ। एकदेखि बढी तीन-चार पृष्ठसम्म हुन्छ। लामो भूमिका लेखिदिने भूमिकाकारमा जाँगर भए पनि नभए पनि पढ्ने पाठकमा धैर्य रहँदैन।

छविलाल उपाध्याय - असमको शोणितपुर जिल्लाको ढेकियाजुलीमा एकजना सच्चा साहित्य साधक, कवि, समालोचक र सबैका आदरणीय व्यक्तित्व बस्नुहुन्छ- छविलाल उपाध्याय खतिवडा। उहाँका वर्षेनी एउटा-दुईवटा पुस्तक प्रकाशमा आइरहन्छन्। ती पुस्तक कुनै कवितासङ्ग्रह, कुनै खण्डकाव्य, कुनै निबन्ध, कुनै समालोचनाका रूपमा हुन्छन्। उहाँ साहित्य लेखन र अध्ययन- मननमा अहोरात्र लागिपर्नुभएको छ। हालसम्म उहाँका बीसवटा भन्दा बढी संख्यामा पुस्तक प्रकाशित भइसकेका छन्। तिनमा मौलिक र अनूदित छन्। मौलिकमा बढी पद्यका छन् भने गद्यमा निबन्ध र समालोचना छन्। हालैमा उहाँको एउटा पुस्तक अघि आएको छ- भूमिकै भूमिका। यही वर्ष २०१५ मा प्रकाशित यस पुस्तकमा उहाँले आफुले अन्यका किताबका निम्ति लेखेका बीसवटा जति भूमिकापरक लेखहरू समावेश छन्। यस पुस्तकमा विशेषगरी तीनवटा पक्ष परिलक्षित हुन्छन्- (क) लेखक परिचय (ख) कृतिपरिचय र (ग) समालोचना। लेखक परिचय र कृति परिचय त सामान्य रूपमा पाइन्छ भने समालोचनापरकता पनि यसमा विशेष रूपमा पाइन्छ।

उपाध्यायज्यू प्रस्तुत पुस्तकमा स्रष्टा र द्रष्टा दुवै देखिनुहुन्छ। उहाँको सिर्जनात्मक समीक्षाले कृतिभित्रको मूल चूरोलाई केलाउन सकेका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।