14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

त्यस दिन

कविता पुण्य खरेल March 24, 2016, 3:43 pm
पुण्य खरेल
पुण्य खरेल

त्यस दिन !

अहा ! त्यस दिन !!

मैले तिमीलाई अविर–माला लाइदिएको दिन

म अहिले झल्झलि सम्झिरहेको छु

एक रत्ति पनि बिर्सिएको छैन मैले

खुसीले उन्मत्त भएर

तिम्रो विजयलाई मेरो आफ्नै विजय ठानेर

आफ्नै साथीहरुसँग ठेलम्–ठेल पेलम्–पेल गर्दै

त्यो भीडमा असिन–पसिन तिमीलाई

अविर माला लाइदिएको मैले ।

त्यस दिन !

अहा ! त्यस दिन !!

अविर र मालाले मण्डित तिमी

लालपाती थियौ कि लालीगुराँश थियौ !

मेरो आँखामा, तिमी माओत्सेतुङ थियौ कि लेनिन !

तिमी मण्डेला थियौ कि हो–चि मिन्ह !

तिमी जे थियौ प्रमिथस थियौ

कृष्ण थियौ, राम थियौ, हामीसबको वरदान थियौ ।

त्यस दिन !

अहा ! त्यस दिन !!

अनिकाल र अभावले छिनेका श्रमिक हामी

दुःख–कष्ट र अन्यायको कुम्भिपाकमा हामी

चिप्लो भाँडोभित्र फँसेको एक प्रकारको किरो जस्तो

वाहिर निस्कने सहाराको अभावमा निराश हामी

अब एउटा सहारा ठडिएको खुसीमा उन्मत्त थियौं

हामी ढुक्क थियौं ।

त्यस दिन !

अहा ! त्यस दिन !!

मैले बिर्सेको थिएँ बम्बैमा बेचिएका चेलीहरु

अरबको मरुभूमिमा झुक्याएर पिल्स्याइएका भाइहरु

सिंगापुरको काँडैकाँडायुक्त उखुम जङ्गलमा

पासपोर्ट खोसिएर धोकामा परेका बन्धुहरु बिर्सेको थिएँ ।

महँगी–सहँगी नाथे त बिर्सेको थिएँ–थिएँ

लोडसेडिङ–फोडसेडिङ बिर्सेको थिएँ

यहींका अपहरण, फिरौती, हत्याहरु पनि

भुसुक्क बिर्सेको थिएँ ।

ऐनामा आफैंलाई झै, अविर र माला मण्डित तिमीलाई हेरेर

अहो ! म कस्तो कल्पनामा बसेको थिएँ !

म कस्तो सपनाको दुनियाँमा पसेको थिएँ !

त्यस दिन !

अहा ! त्यस दिन !!

मैले त तिमीले अब के–के न गर्छौ

हाम्रा दिन फिराउँछौ

त्यो चिप्लो भाँडाभित्र फँसेको किरोजस्तो हामीलाई

कुम्भिपाकबाट निकाल्छौ

अब हाम्रो सहारा बन्छौ

मैले विश्वास गरेको थिएँ ।

त्यस दिन !

अहा ! त्यस दिन !!

रातो पासपोर्ट बेच्न निस्कन्छौ भन्ने त

घुसखोरीतिर, भ्रष्टाचारीतिर फँस्छौ भन्ने त

दस मनमा एक मन पनि थिएन

तिमी यस्तो स्वार्थी हौला

तिमी यस्तो नामर्दी हौला, हुतिहारा हौला

तिमी यस्तो क्यैनक्यैको हौला

भन्ने त दस मनमा एक मन पनि थिएन ।

त्यस दिन !

अहा ! त्यस दिन !!

लाग्थ्यो, तिमी के के न गर्छौ

हाम्रो भलै भलो गर्छौ

कमसेकम, द्रोणाचार्य जतिको गर्जन्छौ

कमसेकम, पद्मरत्न जतिको भावुक बन्छौ

म्याद थप्तै भत्ता थाप्तै गर्ने लाचारका विरुद्ध

लाग्दैनथ्यो, इख न बिखको भएर

ती अविर र माला नै अनाथ पार्छौ

लाग्दैनथ्यो, दुई वर्षको सट्टा चार वर्षको म्याद पाउँदा पनि

सिन्को नभाँची समय फुत्काउँछौ ।

लाग्थ्यो, सडकमा असमेल गर्जिएका मुठीहरुको अगुवा तिमी

तानाशाही बादशाहलाई दरवारबाट निकालेर खोरतिर लुरुलुरु लतार्ने तिमी

लाग्थ्यो, के–के न गर्छौ

हाम्रो भलै भलो गर्छौ

तर आज म अनपेक्षित रिजल्ट सुनेकोजस्तो भएर

मिठो, मनपर्दो सपनाबाट झसङ्ङ ब्यूँझेजस्तो भएर

झटारिएको लाजवन्ती झारजस्तो भएर

थक्थकी मान्दै छु, पछुतो मान्दै छु ।

  

त्यस दिन !

अहा ! त्यस दिन !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।