15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाँच्न सिकूँ

कविता डा.लेखप्रसाद निरौला March 25, 2016, 5:15 am

बाँचूँ बाँच्न सकूँ गरेर जगमा नौला ठुला सिर्जना

भेटूँ जीवनको असीम छहरा संस्कार सञ्चेतना

होलान् दुःख अनेक रागवशले गर्दा धराधाममा

लागूँ तैपनि बेसरी दिनदिनै ब्रह्माण्डका काममा ।।

धोखा शक्ति बनोस् गरूँ अझ बढी झेल्दै निराशाहरू

संसारी सुख दुःखका रजहरू यद्वा तमासाहरू

थुप्रिन्छन् कति क्रूरता कलुषता मान्छे बनेकासँग

मानूँ ती सब शक्ति हुन् सुमनका सत्कार्य रेखासँग ।।

काँडा जीवन मार्गका गति दिने ऊर्जा बनाऊँ सबै

पैताला जति घोचियून् तर खुसी हाँसो सजाऊँ सबै

हाँसूँ मन्द मुहार धप्प जहिलै आरोग्यका साथमा

चिन्ताका बस हैन हर्षसँगमा राखेर आनन्दमा ।।

झर्छन् हो कति अश्रुधार करुणा ती स्रोत मानूँ सधैँ

घेर्छन् नै भय त्रास वा कहरका नैराश्य त्यागूँ सधैँ

जे होस् बाँच्न सिकूँ भुलेर ममता ती स्रोत चिन्ताहरू

थाकूँ हैन बनाउँदै अझ बढी सोद्देश्य आशाहरू ।।

यस्ता लक्ष्य रहून् नयाँ किसिमका होलान् कयौँ दुर्लभ

पाऊँ दुःख हजार बार दिनमै छोलान् दुखेसा सब

जे जे हुन् तर लक्ष्य मात्र जगमा हाँस्दै गरूँ काम ती

के चिन्ता किन दुःख मर्म दुनियाँ ? यात्रा अविश्राम ती ।।

नातामा कहिले कयौँ विषयले पार्लान् निकै जर्जर

आशामा कहिले सुटुक्क सितले छिर्लान् निराशा सर

यस्तो ग्लानि रसाउँदै हृदयमा बढ्ला कतै क्रोध नै

जस्तो होस् तर कर्ममा रहरिँदै बाँचूँ खुसीबोध नै ।।

(शार्दूलविक्रीडित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।