17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाघ गर्जेपछि

कविता जेबी खत्री April 1, 2016, 2:04 am
जेबी खत्री
जेबी खत्री

खोलापारी बाघ गर्जंदा

वारी गाउँ भयभित हुन्छ ।

हावाले पात हल्लँदा पनि

मन सशङ्कित हुन्छ ।

मनमा डर पसेपछि न यस्तो हुन्छ ।

देशभक्तिका कुरा गर्नेहरू

देश सङ्कटमा पर्दै गएपछि

सेलाउँदै जान्छन् ।

कहीँबाट सञ्चालित भए जस्तो

हाम्रो देशभक्तिको नारा

राष्ट्रियताको पक्षमा

उर्लिएको जनधार पनि

समुद्रको छाल जस्तो

किनारालाई छोएर

त्यसै बिलाएर जान्छ ।

जिम्मेवारी आफूमाथि

आएपछि काँध खसाउँछन् ।

पछि पर्छन् देशभक्तिका कुरा

ओझेल पर्छ राष्ट्रियता

सुस्ताउन थाल्छ स्वाधिनता

र हाबी हुँदै जान्छ

ब्यक्तिगत स्वार्थ

यस्तै हुँदै आइरहेको छ पहिलेदेखि

र अहिले पनि यस्तै भइरहेको छ ।

किनभने

बाघ गर्जेपछि

सबैको मन

थर्कन्छ नै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।