जतिसुकै सहादत भए पनि
बेथिति ज्यूँका त्यूँ रह्यो
हजारौंको तादानमा भए त्याग र कुर्वान
तर लासको अम्बारमा बसेर
चास्नी चाट्नेहरु फेरि पनि बढ्दै गए
रगतको आहालमा
डुबुल्की मार्नेहरु होशियार !
षड्यन्त्रको जालो बुनेर
भाइँभाइ फुटाउने हो होशियार !
म फेरि आउँदैछु
बेथिति विसंगति र विग्रहको विरुद्ध
म दावानल भएर आउँदैछु
तिम्रो षड्यन्त्रका किल्लाहरु ध्वस्त पार्न
म तुफान बनेर आउँदैछु
अघाएकाहरु रगत र पसिना डकार्दैछन्
भोका पेटहरु सारंगी बजाउँदैछन्
कति असमान भएको छ
आकाशँधर्ति हाम्रो लािग
हो अब म त्यही विभेद मेट्न आउँदैछु
तिम्रो अहंकारमाथि धावा बोल्न
भोको पेट र नांगो आंगको
लस्कर लिएर आउँदैछु
हो म आँधिमय बनेर आउँदैछु
मेघको गर्जनसँगै ब्रम्हाण्डमा
चट्यांग बनेर आउँदैछु
तिम्रो शक्तिकेन्द्र दहन गर्न
हो म अब प्रलय बनेर आउँदैछु ।
धरान
२०६२ असोज २८
प्रधाननगर, सिलिगुडी, भारत (रचना समय र स्थान)