19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ वर्ष यस्तो पो हुनुपर्छ

कविता तुलाधर विश्वकर्मा April 7, 2016, 4:13 pm

नयाँ वर्षको पदचापसँगै

पुरानो वर्षका सम्वेदनाहरु

बसाई सर्नु हुन्न

पुराना पीडा र बेदनाहरुले

नौलो नियुक्ति पाउन हुन्न

नयाँ वर्ष त यस्तो हुनुपर्छ

जो शान्तिमय हुनुपर्छ

निर्धक्कसाथ सास फेर्न सक्ने

अनि नयाँ नयाँ अझ नयाँ हुनुपर्छ

गुलावझैं

सिमले झुवाझै कोमल हुनुपर्छ

साँच्चै, नयाँ वर्ष त यस्तो पो हुनुपर्छ ।

नयाँ वर्षले हिटलरहरु जन्माउन

अस्वच्छ गर्भाधान गर्नुहुन्न

रावण अनि कंशहरुको वंश वृद्धिको सोच राख्नु हुन्न

सुनामीले दर्दनाक कथा दोह¥याउनु हुन्न

आफ्नै खुट्टामा बन्चरो हान्ने

आफ्नै घर बिगार्ने

भाइयुद्धका लागि संगीन तिर्खानु हुन्न

नयाँ वर्ष त यस्तो हुनुपर्छ

जहाँ च्याङ्वा र मैच्याङहरुले

निसंकोच अनि भयमुक्त भई पिरती साट्न सक्नुपर्छ

शान्ति र विकासको डोरी बाट्न सक्नुपर्छ

हो, नयाँ वर्ष यस्तो हुनुपर्छ ।

नयाँ वर्ष

कर्कश कान फुटाउने भयभित पार्ने आवाज होइन

सुमधुर सुनूँ सुनूँ लाग्ने

नौलो सृजना बुनूँ बुनूँ लाग्ने हुनुपर्छ

पहाडको लालीगुराँस बनेर फुल्नु पर्छ

तराईको धानको बाला बनेर झुल्नुपर्छ

नयाँ वर्ष त

यर्थातमा नयाँ हुनुपर्छ

औसीपछिको जूनजस्तै हुनुपर्छ

१ नम्वरी सुनजस्तै हुुनुपर्छ

हजुर, नयाँ वर्ष त यस्तो पो हुनुपर्छ ।

खजुराखुर्द १ (बाँके), नेपालगन्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।