17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कमरेड पुस्तकहरू

कविता कुमार काफ्ले April 8, 2016, 12:16 am

एउटा पुस्तक

फगत खाली कागजमा

कोरिएको कलमको

निर्जीव मसीमात्र हैन

लक्ष्य भेदन गर्ने अचुक अस्त्र हो

हामी बाँचिरहेको युगको

दर्पण हो,यथार्थ हो।

प्रकृतिको,मानव मनको

इतिहास हो,भूगोल हो

दर्शन हो,सिद्धान्त हो

साहित्य हो,सबथोक हो

अन्यथा

प्रकृतिका अनुपम छटा

मानवले गरेका अनेक खोज र

सिर्जना,नाम र कामहरू

विलीन भईसक्थे

समयको गर्भमा।

अन्वेषक र सर्जकहरूको

गौरवमय क्रान्ति र संघर्षको

दीर्घ र अनन्त जीवन हो

त्यसैले

आईन्सटाइन र गोर्की

देवकोटा र सम

क्रान्ति र संघर्षका कथा

हामीमाझ जीवित छन्

कमरेड पुस्तकहरूमा।

कुनै तथ्यांक चाहियो!

ज्ञानको कमी भो

मनोरञ्जन चाहियो!

वा कुनै समस्याको

गतिलो समाधान चाहियो

त्यहाँ उपस्थित हुन्छन्

कमरेड पुस्तकहरू।

देश विदेश होस् या

कुनै यात्रामा

विद्यालय होस् वा

पुस्तकालयमा

सुहागरात मनाईरहेका

युगल जोडी झैं

आलिङ्गन् गर्छन्

कमरेड पुस्तकहरू।

कसैको व्यापार त

कसैको जागिर

कसैको रहर त

कसैको बाध्यता

तर

आफूभित्र लुकाईराखेको

विजुली चम्काई र चट्याङहरू

सुनामी छालहरू

पात्र र विम्वहरू

प्रश्न र उत्तरहरू

समस्या र समाधानहरू

रोग र उपचारहरू

खोज र आविष्कारहरू!

अथाह खानी झैं

कहिल्यै नरित्तिने

कमरेड पुस्तकहरू।

ओखलढुंगा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।