19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्यु बोध !

कविता विनयकुमार शर्मा नेपाल April 7, 2016, 4:24 pm
विनयकुमार शर्मा नेपाल
विनयकुमार शर्मा नेपाल

प्रिय

अब म एकदम ठीक छु

झरेको फूलभन्दा पनि हलुका भएको छु

रुवाको त्यान्द्रोभन्दा पनि हलुका भएको छु

तिमी किन त्यसरी रोयौ ?

धत्

मन कति दुखेको होला

चोट कति गढेको होला

तिमीले देखेनौ र ?

हावाको त्यो झोँका

जुन तिम्रो बिलौनाले टुक्रा टुक्रा हुँदै थिए

जुन तिम्रो प्रलापले

कण कण बन्दै थिए

म त कण कण देख्छु

कण कणमा पस्छु ।

प्रिय अब त मौनरहु

मलाई माया गर्ने हे मनहरू

अब त चुप लाग

तिमी आफ्नो रुवाइलाई बुध्दत्वमा बदल

तिमी आफ्नो शक्तिलाई बौध्दिकतामा बदल

तिमी आफ्नो ऊर्जालाई कवित्वमा बदल

म अहिले एकदम ठीक छु

म अहिले विलकुल निष्फिक्री छु

यत्ति बेला एउटा शान्त पुनर्निर्माणको ध्यानमा छु

र यस बेला मलाई कुनै कुरोले घोच्दैन

कुनै सीयोले चुभ्दैन

शत्रु जम्जमाएर जुनसुकै हतियार बोकेर आए पनि

शत्रु फडफडाएर जुनसुकै कुरोको तीखो बाण लिएर आए पनि

उसको घमण्ड

उसको अहङ्कार

धुवाँजस्तै उड्ने छन्

किनकि अब म त्यस्तो छैन

अब म लौकिक छैन

आकासजस्तै पारदर्शी बनिसकेको छु

पानीजस्तै पातलिइसकेको छु

प्रिय यदि मेरो हात हावाको हुन्थ्यो भने

प्रिय यदि मेरो हात वायुजस्तो हुन्थ्यो भने

तिम्रो आँसु अवश्य पुछ्थे

तिम्रो आँखामा चुम्मा खाएर

आँखाको छेद अवश्य बन्द गर्थे

प्रिय तर म धुलो भैसकेँ

हावाको झोँकाभन्दा पातलो भैसकेँ

ऐनाले समेत मेरो रूप समात्न सक्दैन

समुद्रले मात्र आकाश देखाइदिन्छ

मेरो रूप देखाउन सक्दैन ।

प्रिय तिमीले मलाई मृत ठान्यौ ?

प्रिय तिमीले मलाई जड ठान्यौ ?

वास्तवमै मरे तुल्य

तिम्रो लागि बेकारको लागेँ

कुनै घटना घटेन

कुनै दुर्घटना भएन

मात्र परिवर्तनको सानो अनुभव भए

अग्निपरीक्षा पार गरेजस्तो ।

हो, अब मलाई कुनै पीडा छैन

हो, अब मलाई कुनै दर्द छैन

अब मेरो मन पनि त दुख्दैन

मुटु राख्ने ठाउँ पनि त छैन

सबै उदाङ्ग, सबै निर्वाङ्ग

मेरा इन्द्रिय आजकल

जहाँ पुग्छ त्यहीँ रम्दछ

पात देख्दा म पातै बन्दछु

र पातकै सुस्केरामा डुब्दछु

फूलको समीप पुग्दा सुवास नै बनिदिन्छु

पानीमा पुग्दा पानी र आगोमा पुग्दा आगै बनिदिन्छु

अनेकौँ रङमा रङ्गिदा रङ्गिदै

मेरो यो हाल भो !

एउटा कणभन्दा मिहिन

एउटा वाफभन्दा हलुको

एउटा किरणभन्दा गतिमान

एउटा पानीको बूँदभन्दा पारदर्शी ।

हो,

हो, एक विन्दु जलको पनि आफ्नै अस्तित्व हुन्छ

सागरमा पुग्दा म सागरै बनेँ

आकाशमा पुग्दा म आकाशै बनेँ ।

प्रिय अब म ठीक भएँ

अब म स्वस्थ भएँ

ऊ हेर त

तिम्रो यताउता बसेर रोएकाहरू

मेरो अरू थुप्रै वन्धु वान्धव पनि छन्

ओहो ! ती किन त्यसरी रोइरहेका ?

तिनको ममाथि के त्यत्रो प्रेम थियो ?

यो मलाई थाहा थिएन

तर जसले त्यति रुनु पर्थ्यो

ती रोएनन् ।

मेरी प्रिया

अब म एकदम ठीक छु

कुनै रोग छैन

कुनै भोक छैन

कुनै चिन्ता

कसैको तिरस्कार छैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।