छक्याउँदा छक्याउँदा
झुक्याउँदा झुक्याउँदा
शब्दहरू स्वयं आबरुहीन भैसकेका छन्
शब्दहरू स्वयं वस्त्रहीन भैसकेका छन्
‘शुभकामना’ कुन वस्त्र लगाएर पठाउने हो ?
भयो ! भै गो यो बेशरम शुभकामना !
खडेरीले जर्जर भएको भुइँजस्तो मनलाई
सिनेमाको पर्दामा वर्षेको पानी जस्तो शुभकामनाको
के सार्थक परिणााम होला र !
बितेका दिनहरू यस्तै ढाँटिएरै बिते
ठगिएरै बिते !
गएका वर्षहरू यस्तै जिल्लिएरै गए
खिल्लिएरै गए !
कहिल्यै नचेतिने जस्तो
कहिल्यै आँखा नखोलिने जस्तो
लच्कँदै बग्दैबग्दै जाने भुइँमा खिचिएको गोरेंटो जस्तो भयो
हाम्रो कवोल, हाम्रो कामना
अघिल्लो पाइलामा टेकेर कहिल्यै हिड्न पाइएन ।
शब्दहरूलाई यसरी साँपका जिब्राहरू झैं पठाइरहँदा
कसरी ठम्याउनु ती कामनाहरूको रङ
कसरी पढ्नु ती शब्दहरूको चाङ
भयो ! भै गो यी फुस्सा शुभकामना !
भयो ! भै गो यी निस्ता शुभकामना !
जस्को भोक हर्छौं भन्यौं
ती भोकभोकै रहे
जस्को आङ ढाक्छौं भन्यौं
ती नाङ्गानाङ्गै रहे
पसिनाको मोल पनि खोटिएकै रह्यो
घोटिनेको ढाडको हाड घोटिएकै रह्यो
अनेक वाचा–कवोलहरू फोस्साफोस्सा भए
यस्तो बेला यो सस्तो कामना
भयो ! भैगो यो निस्तो शुभकामना ’
कोठा कोठा मिलाएर बनेको घर
एउटा उधुमको थर्कनको तरङ्गमा फँसेको छ
कोठा कोठा टुक्रिएर घरको नक्सा नै
फुटेको ऐनाका छरपष्ट टुक्रामा देखिने प्रतिबिम्ब जस्तो
मुटुकै टुक्रासँग टुक्रिन लागे जस्तो छ
यस्तो बेलामा
यो फुस्सा सुस्वास्थ्यको शुभकामना
यो निस्तो दीर्घायूको शुभकामना !
फुट्ने र टुक्रिने भावनाको आगोलाई
हावा भरेर भित्रभित्रै, घिऊ थपेर भित्रभित्रै
जोरीपारीहरूको उक्साइमा धापमारेर भित्रभित्रै
घर जोगाउने कुरामा ओठ लेप्राएर
घर जोगाउने खैखवरीमा कान ओछ्याएर
यो नाटकीय शुभकामना !
यो फुस्सा शुभकामना !
भयो ! भै गो यो वेशरम शुभकामना !