तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिय बनिरहुँला
सँगै हिँडेर पनि
कहिले साथ नहुने
सारा ससार देखेर पनि
एकले अर्कालाई नदेख्ने
दुई आँखा झैँ
तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।
आशा र उत्साह जगाऊ तिमी
अँध्यारो भित्र
सहास हिम्मत जमाऊ तिमी
अन्तस भित्र
म उज्यालोको खोजिमा हिँडिरहुँला
कर्तव्य परायणभै रहेको समयभित्र
कर्तव्यनिष्ठ हुने कोसिस गरिरहुँला
तिमी मेरो प्रिये बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।
तिम्रा ईच्छाहरूको पूर्ति
म बन्न नसके पनि
आफ्ना अभिलाषाहरू
तिमीलाई बताउन नसके पनि
अरू कसैमा ईच्छाशक्ति जगाउने
स्रोत म बनुँला
तिम्रा लगि मूल्यहीन भए पनि
अरू कसैलाई मूल्यवान् बनाउने कोसिस गरूँला
तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिय बनिरहुँला ।
मेरो मायाले तिमीलाई पोले पनि
तिम्रो मायाको शीतलता म जोगाइरहुँला
तिमीले जति नै उपेक्षा गरे पनि
प्रत्येक क्षण तिम्रो सम्मान गरिरहुँला
तिम्रो अमूर्त भावभित्र म डुबिरहुँला
तिमी मेरो प्रिये बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।
म यति त बुझ्दछु
तिम्रो जीवनमा मेरो कुनै अस्तित्व छैन
तर म तिम्रो देन सम्झिरहुँला
तिम्रो जीवनमा मेरो कुनै मोल छैन
तर म तिम्रो ज्ञान सम्झिरहुँला
निर्जीव थिएँ, तिमीले जीवन दियौ
निष्क्रिय थिएँ, हिम्मत र साहस दियौ
त्यसैले
तिमीले हेला गरिरहे पनि
म माया गरिरहुँला
तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।
धर्ती र आकाशजस्तै
प्यास र प्यासीजस्तै
नदीको दुई किनारजस्तै
मीठो मायामा हुने
नमीठो बिछोडजस्तै
तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।
जसरी एउटा आँखा रूँदा
अर्को हाँस्न सक्दैन
त्यसै गरी तिम्रो मुटु पोल्दा
मलाई शीतलता मिल्छ कहाँ ?
त्यसैले
तिमी रमाऊ प्रिय
मेरो मनको शान्तिको लागि
तिमी आफ्नो मनलाई सम्झाऊ प्रिय
हाम्रो मायाको क्रान्तिको लागि
सारा दुनियाँको कोलाहल भुली
तिमी मेरो प्रिय बनिरहु
म तिम्रो प्रिये बनिरहुँला ।