17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो मृत्युपछि

कविता बसन्त श्रेष्ठ April 14, 2016, 10:43 pm
बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ

जब म यस संसारबाट बिदा हुनेछु

तब अश्रुपूर्ण नयनले

खुशीसाथ मलाई बिदा दिनेछौ

किनकि -

मैले जति पनि माया पाएँ

मैले जति पनि साथ पाएँ

यस जुनिमा त्यतिनै पर्याप्त रहेंछ

साथ जति हिड्नु थियो हिडियो

माया जति पाउनु थियो पाईयो

तर अब समय भएको छ

एक्लै एक्लै हुने

भनौ अब हाम्रो छुटिने समय आएको छ

मेरो प्रियसी !

मलाई माफ गरि देऊ

यदि मैले कहिले तिमीलाई

चोट पुर्याएँ भने

मेरा प्रियजनहरु

मलाई क्षमा गरि देऊ

यदि मैले जानी नजानी

कुनै प्रकारकोचोट पुर्याएँ भने

सहानुभूति अनि सान्त्वना लेउ

यदि तिम्रो मन शान्त हुन्छ भने

आँशु बगाउ जति सक्छौ

पीडा यदि कम हुन्छ भने

एकान्तप्रिय बन जति सक्छौ

तर विश्वास गर

यो केहि समयको मात्र फरक हो

हामी एकदिन अबश्यनै एक हुनेछौं

तब सम्मलाई

तिमी आफुलाई धेरै भाग्यमानी संझ

बितेका सुखमय समयलाई सम्झेर

बितेका रमाइला क्षणलाई सम्झेर

जति जति बेला मेरो याद आउने छ

आँखा चिम्लेर मलाई सम्झने गर

त्यति खेर म तिम्रै वरिपरि

तिमीसंग नै साथसाथ हुनेछु

तिम्रो सामुन्ने तिम्रो दाँया बाँया

तिम्रो वरीपरि म हुनेछु, सुन्नेछु

अनि नियाली रहने छु

नसम्झनु -म तिमीबाट धेरै टाढा पुगी सके

तर होइन

म त सिर्फ बस्त्र परिबर्तन गरे जस्तै

मैले पनि यो शरीर मात्र परिबर्तन गरेको हुँ

मेरो मन र आत्मा त त्यहीं नै हो

नसम्झनु - म असमयमै तिमीबाट टाढा पुगे

तर होइन

मेरो यस लोकमा

जुन भूमिका थियो अभिनय गर्नको लागि

हो त्यो समाप्त भएकोछ

अब म पर्खी बसेको छु

मेरो अर्को भूमिकाको लागी

तर तिम्रो स्पर्श नपाएर

अनि तिमीले मेरो आभाष नपाएर पनि

म संधै संधै तिम्रो साथ रही रहनेछु

समयसंगै

जब तिमी पनि यस महाप्रस्थानमा

मसंग भेट्न आउने छौ

तब म तिमीलाई

खुशी खुशी यस घरमा

सुस्वागतम् भन्नेछु |

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।