19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिर्स जीवनका कथाहरू

कविता विनयकुमार शर्मा नेपाल April 14, 2016, 3:07 pm
विनयकुमार शर्मा नेपाल
विनयकुमार शर्मा नेपाल

बिर्स जीवनका कथाहरू

बिर्स जीवनका व्यथाहरू

बिर्स जीवनका घटना दुर्घटनाहरू

हिजो जो भए,

जो थिए सबै सबै बिर्स ।

ऊ हेर त, पूर्व क्षितिज जगमगाएको छ

यही वेला तिमी पनि जाग र उठ उठ्नु

तिम्रो लक्ष हो उठ्नु

तिम्रो उद्देश्य हो उठ्नु नै

तिम्रो जागरण पनि हो

जागरूकताको बोध

तिम्रो मार्गको मोड हो

निडरता, निर्भयता र निरन्तरताको बोध

तिम्रो मार्गको सिँढी हो

रहर र ईच्छा शक्ति जगाउ

अनि सङ्कल्प साध र उठ

मिहिनेत, क्षमता र दक्षता

तिम्रो मार्गको खुड्किला हो

सीप, शक्ति र व्यवहारकुशलता

आत्मविश्वास, ज्ञान, बुद्धि र विवेक

तिम्रो मार्गको निचोड हो

सफलता त मान्छेको

मान्छेकै हातमा छ ।

मोड एउटा स्वस्फूर्त आउँछ

र मान्छेलाई मान्छेका

विचार परिवेशलाई मोड्दछ

मोड अर्को तिम्रो बोधले,

जागरण र परिश्रमले तिम्रो खुसीले,

तिम्रो ईच्छाले तिम्रो चाहले

तिमीद्वारा आउँछ

तिम्रा विचारले

तिमीद्वारा आएको मोड

स्वस्फूर्त आएको मोडभन्दा

हजार गुना उत्तम हुन्छ, उत्कृष्ट हुन्छ ।

त्यस वेला तिमीले

आफ्ना पुराना विचार छाड्न सक्नुपर्छ

थोत्रो आडम्बर र नौटंकी त्याग्न सक्नुपर्छ

अनि

मोड जाबो त

तिम्रै वशको कुरा न हो ?

मोड जाबो त

तिम्रै हातको कुरा न हो ?

त्यसपछिको सारा संसार तिम्रै हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।